साहित्यपोस्ट डट कम

सिस्नुपानी प्रहसन प्रतियोगितामा नवोदय प्रथम, न्यौपाने र लुइँटेल सम्मानित

सिस्नुपानी प्रहसन प्रतियोगितामा नवोदय प्रथम, न्यौपाने र लुइँटेल सम्मानित

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगिता तथा सम्मान कार्यक्रममा नवोदय शिशु सदन प्रथम भएको छ । कक्षा १२ सम्मका विद्यार्थीहरूबीच सम्पन्न प्रतियोगितामा नवोदयले १५ हजार रुपैयाँसहित पहिलो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा जनप्रिय मावि दोस्रो (१० हजार रुपैयाँ), बुद्ध मावि तेस्रो (७ हजार रुपैयाँ) र शारदा माविले प्रोत्साहन पुरस्कार (४ हजार रुपैयाँ) प्राप्त गर्नुभएकाे छ । कुल ३७ हजार रुपैयाँ राशिको प्रतियोगिताले विद्यार्थीहरूमा हास्यव्यङ्ग्यप्रति रुचि र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेलाई २० हजार रुपैयाँ राशिको ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान–२०८२’ प्रदान गरिएको छ । उहाँले महिला सशक्तीकरण र युवामा अध्ययनको आवश्यकताजस्ता विषय समेटेर प्रस्तुति दिनुभएकाे थियाे ।

त्यसैगरी, नरनाथ लुइँटेललाई २५ हजार रुपैयाँ राशिको ‘गणेश पौडेल हास्यव्यङ्ग्य सम्मान–२०८२’बाट सम्मान गरिएको छ । लुइँटेल सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली अनलाइनका प्रधान सम्पादकसमेत हुनुहुन्छ ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा सम्पन्न भएको हो । निर्णायक मण्डलका संयोजक उज्ज्वल शर्मा भण्डारीका अनुसार प्रतियोगितामा विषयवस्तु, हास्य–व्यङ्ग्यको प्रयोग, अभिनय र समय व्यवस्थापनका आधारमा मूल्याङ्कन गरिएको थियो ।

प्रतियोगितामा विद्यार्थीहरूले सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक विकृतिहरूलाई हास्यव्यङ्ग्यमार्फत प्रस्तुत गर्नुभएकाे थियाे, जसले दर्शकहरूलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाएको थियो ।

संस्थाका अध्यक्ष संप्रस पौडेलले नवपुस्ताको प्रतिभा पहिचान गरी आगामी कार्यक्रमहरूमा उनीहरूलाई समावेश गर्ने लक्ष्य रहेको बताउनुभयाे । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, साहित्यकार आरसी रिजाल र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलालगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रम ओम्याक्स सिनेमा हलमा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.