साहित्यपोस्ट डट कम

सिमयोनलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’

सिमयोनलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’

ललितपुर । धोबीघाटमा शुक्रबार आयोजित विशेष समारोहबीच सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएकाे छ । गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम) को संयुक्त आयोजनामा सम्पन्न ‘एनसिएम डे–२०८२’ कार्यक्रममा राईलाई उहाँको कृति ‘सिमयोन सिम्फोनी’का लागि पुरस्कृत गरिएको हो ।

देश तथा विदेशमा रहेका नेपाली भाषी स्रष्टाहरूका कृतिमध्येबाट उत्कृष्ट ठहरिँदै राईलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

पुरस्कार ग्रहण गर्दै कवि राईले आफ्नो सृजनायात्रा गाउँसँग जोडिएको उल्लेख गर्दै भन्नुभयाे, “म गाउँको मान्छे हुँ । सिक्किमको माटोमा घाँसदाउरा गर्दागर्दै कविता लेख्न सिकेँ । आज सीमानापारि आएर नेपाली भाषीहरूसँग यो खुसी साट्न पाउँदा जिम्मेवारीबोध थपिएको छ ।”

यस वर्षको प्रतिस्पर्धामा उमेश अवस्थी आदर्श को ‘सन्ध्यामा सूर्य’, सबिना राई को ‘घामको जरा’ र दोस्ताज को ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष चारमा मनोनित भएका थिए ।

अघिल्लो वर्ष यो पुरस्कार युवा कवि सिजन श्रेष्ठ को ‘हावामा अल्झिएको स्वर’ लाई प्रदान गरिएको थियो। त्यसै वर्ष अन्य चर्चित कृतिहरूमा पल्लविव को ‘लाटी’, सुभासिस को ‘क’ र सुरज राना को ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थिए ।

नेपाली गीत तथा कविताका शिखर स्रष्टा क्षेत्रप्रताप अधिकारी को साहित्यिक योगदानलाई स्मरणीय बनाउँदै नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट काव्यकृति प्रकाशित गर्ने ३५ वर्षमुनिका स्रष्टालाई प्रदान गरिँदै आएको छ । पुरस्कार संयोजक अमनप्रताप अधिकारी का अनुसार यस वर्ष देश तथा विदेशबाट प्राप्त कृतिमध्ये उत्कृष्ट चार कृतिलाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।

ललितपुरस्थित कलेज प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति, सांस्कृतिक प्रस्तुति र साहित्यिक वातावरणले कार्यक्रमलाई उत्सवमय बनाएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.