काठमाडौं । नियात्राकार छविरमण सिलवालको नवीनतम नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पण गरिएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, नियात्राकार छविरमण सिलवाल, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक र प्रदीप सापकोटालगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै साहित्यकार रोदनले नियात्राकार सिलवालले पाठकलाई आफूसँगै अमेरिका, युरोप र चीनको यात्रामा लैजान सक्षम रहेको उल्लेख गर्नुभयो। कृतिको स्वादिलो प्रस्तुति र पठनीयताले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले ‘अमेरिकाको घाम’ पाठकको माया पाउने कृति बन्ने धारणा राख्नुभयो।
यसअघि दशवटा कृति प्रकाशित गरिसक्नुभएका सिलवालको यो दोस्रो नियात्राकृति हो। कृतिभित्र विभिन्न शीर्षकका १३ वटा नियात्रा समावेश गरिएका छन्।
कृतिबारे टिप्पणी गर्दै राजकुमार बानियाँले सरल, सहज र संवेदनशील भाषा तथा गाहे–बगाहे देखिने काव्यिक लहरले यात्रा वृत्तान्तलाई अझ सुन्दर बनाएको बताउनुभयो। त्यसैगरी कुमारी लामाले जीवनका हरेक क्षणलाई उत्सवमय बनाउन सिपालु सिलवाल ‘स्लोभेनियन नजरावेँ’मा थोरै मात्र समेटिए पनि ‘अमेरिकाको घाम’मार्फत पाठकलाई रमाइलो अनुभूति दिलाउन सफल भएको उल्लेख गर्नुभयो।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘अमेरिकाको घाम’को मूल्य रु. सय ७५ रूपियाँ निर्धारण गरिएको छ।

