काठमाडौं । पूर्वोत्तर भारतको प्रवेशद्वार मानिने सिलिगुडीमा नेपाली लोक–रक ब्यान्ड नेपथ्य पहिलोपटक प्रस्तुत हुने भएको छ। ब्यान्डले आगामी शनिबार (फेब्रुअरी २८) सिलिगुडीमा आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी गरेको हो।
ब्यान्डका लागि यो कार्यक्रम सन् २०२६ मा नेपाली सीमाबाहिरको पहिलो प्रस्तुति पनि हुनेछ। गत साता नेपालका चार सहरमा शृङ्खलाबद्ध सांगीतिक यात्रा सम्पन्न गरेको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको जनाएको छ।
यसअघि नेपथ्यले सिलिगुडी आसपासका सिक्किम र सिलोङमा प्रस्तुति दिइसकेको भए पनि सिलिगुडीमा भने पहिलोपटक उभिन लागेको हो। महानगरको उत्तरतर्फका पहाडी क्षेत्रमा नेपालीभाषी समुदायको ठूलो बसोबास रहेको र पछिल्लो समय विभिन्न स्थानबाट बसाइँ सरेर आएका समुदायका कारण यो सहर बहुसांस्कृतिक केन्द्रका रूपमा विकसित हुँदै गएको बताइएको छ।
नेपालका इलाम र झापाजस्ता सीमावर्ती जिल्लामा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स र जयगाउँलगायत क्षेत्रबाट दर्शक सहभागी हुने गरेका छन्। यसपटक भने सिलिगुडीको कन्सर्ट अवलोकन गर्न ती क्षेत्रसँगै नेपालबाट समेत उल्लेख्य दर्शक पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकेश कायस्थका अनुसार कन्सर्टले नेपालीभाषी समुदायबीच सांस्कृतिक उत्सवको वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ। टिकट बिक्री खुला हुनासाथ दर्शकको उत्साहजनक सहभागिता देखिएको र एक साता बाँकी रहँदै तीन हजार टिकट बिक्री भइसकेको उहाँले जानकारी दिनुभयाे ।
चिया, वनपैदावार र पर्यटनको सम्भावनासँगै व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा विकास हुँदै गएको सिलिगुडी नेपाल, बङ्गलादेश, भुटान र चीनसँग नजिकको भूराजनीतिक सम्बन्ध राख्ने सहर पनि हो। यहाँ नेपाली भाषा, साहित्य र संस्कृतिसम्बन्धी गतिविधि सक्रिय रूपमा हुँदै आएका छन्।
तीन दशकभन्दा बढी समयदेखि विश्वभर नेपाली संगीतमार्फत लोकप्रियता हासिल गर्दै आएको नेपथ्य शनिबार बेलुकी सिलिगुडीको ‘उत्सोधारा टिस्टा टाउनसिप’स्थित कावाखाली ग्राउन्डमा प्रस्तुत हुनेछ। कार्यक्रमस्थलका ढोका बेलुकी साढे ५ बजे खुल्ने र दुई घण्टापछि कन्सर्ट सुरु हुने जनाइएको छ।
ब्यान्डका मुख्य गायक अमृत गुरुङले भारतीय नेपालीभाषी श्रोताको मायाले आफूहरूलाई सधैँ प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पटकको प्रस्तुति थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
मञ्चमा अमृत गुरुङसँगै ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
कन्सर्टका लागि अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था गरिएको छ। दर्शकले ब्यान्डको आधिकारिक वेबसाइटमार्फत नेपाल तथा विदेशबाटै टिकट बुक गर्न सक्ने जनाइएको छ।

