सिलगढी। नेपाली समकालीन साहित्यका सर्जक सुविन भट्टराई र डा. नवराज केसीको उपस्थितिमा सिलगढीमा विशेष साहित्यिक संवाद कार्यक्रम सम्पन्न भएको छ। हाम्रो किताब घर र क्याफे दी ट्वीन्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले पाठक, सर्जक र साहित्यप्रेमीहरूलाई एउटै मञ्चमा जोड्न सफल भएको छ।
कार्यक्रममा डा. नवराज केसीसँग पत्रकार अनुराधा शर्मीले ‘जीवनको मूल्य’ विषयमा अर्थपूर्ण संवाद गर्नुभएकाे थियाे । संवादका क्रममा जीवन, मानवीय मूल्य, चेतना तथा साहित्यको सामाजिक भूमिकाबारे गहिरो छलफल गरिएको थियो।
त्यस्तै, लेखक सुविन भट्टराईसँग कवि अजित विश्व वियोगीले ‘पुस्तक, प्रेम र नयाँ पुस्ता’ विषयमा संवाद गर्नुभएकाे थियाे । संवादमा सुविन भट्टराईले नयाँ पुस्ताको सोच, प्रेमको अभिव्यक्ति र समकालीन साहित्यप्रतिको रुचिबारे आफ्ना अनुभव साझा गर्नुभयाे ।
कार्यक्रमको सुरुआत क्याफे दी ट्वीन्सकी संस्थापक लेखा राईको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा सहभागी सर्जक सुविन भट्टराई र डा. नवराज केसीलाई कविहरू मोहन ठकुरी र ज्ञानेन्द्र खतिवडाले खादा–माला अर्पण गर्दै सम्मानपूर्वक स्वागत गर्नुभएकाे थियाे ।
कार्यक्रममा कवि प्रणय शंकर र दावा योन्जनले कविता वाचन गर्दै साहित्यिक माहोललाई थप जीवन्त बनाएकाे थियाे । उनीहरूको कविताले उपस्थित पाठक तथा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो।
यस अवसरमा नेपालको प्रकाशन गृह फाइन प्रिन्टको टोलीलाई बेथल इन्फ्रा प्रोजेक्ट लिमिटेडका निर्देशक अमृत विश्वकर्माले खादा–माला लगाएर स्वागत गर्नुभएकाे थियाे । कार्यक्रममा फाइन प्रिन्टका सह–संस्थापक निरज भारीले सम्बोधन गर्दै भन्नुभयाे, “भारतको लेखकको कृति ‘उरमाल’ले मदन पुरस्कार पाउँदा पुरस्कार आफैँ सम्मानित भएको छ। सर्जकहरूले जीवनका लागि लेख्नुपर्छ, यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो।”
कार्यक्रमको अन्त्यमा निर्देशक अमृत विश्वकर्माले साहित्य समाजको अभिन्न अङ्ग भएको उल्लेख गर्दै साहित्यिक अभियानसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताउनुभयाे । उहाँले ‘उरमाल यात्रा’सँगको सहकार्य स्मरण गर्दै साहित्य र संस्थागत सम्बन्ध सधैँ अटल रहनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रमपछि उपस्थित पाठकहरूले सर्जकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै पुस्तक हस्ताक्षर (बुक साइनिङ) गराउनुभएकाे थियाे, जसले पाठक–सर्जक सम्बन्धलाई अझ नजिक बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
सिलगढी, दार्जीलिङ, सिक्किम, डुवर्स तथा आसपासका क्षेत्रका साहित्यप्रेमी, पाठक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन हाम्रो किताब घरका संस्थापक छेवाङ योञ्जनले गर्नुभएकाे थियाे । आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

