साहित्यपोस्ट डट कम

शिक्षामा बेलाको बोली’ पुस्तक प्रकाशित

शिक्षामा बेलाको बोली’ पुस्तक प्रकाशित

काठमाडौँ । प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ ।

शिक्षा विषयलाई केन्द्रमा राखेर तयार पारिएको यस पुस्तकले जनस्तरदेखि प्राज्ञिक तहसम्मका सोचहरूलाई समेट्दै तिनको अन्तरसम्बन्धलाई उजागर गरेको छ । कृतिमा शारीरिक, मानसिक तथा चेतनात्मक (ऊर्जीय) सम्बन्धका आयामहरूलाई विभिन्न दर्शन र सिद्धान्तसँग जोडेर विश्लेषण गरिएको छ ।

पुस्तकले शिक्षा, जीवन, मन र जगतसँग सम्बन्धित विविध पक्षहरूलाई समेट्दै कतै व्याख्या, कतै प्रश्न, कतै समस्या र कतै समाधान प्रस्तुत गरेको छ । शिक्षाका विविध आयामलाई बहुआयामिक ढङ्गले प्रस्तुत गरिएको यस कृतिले पाठकलाई सोच्न, विश्लेषण गर्न र समाधान खोज्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।

लेखकले पुस्तकलाई बहुस्वादयुक्त ज्ञानको स्रोतका रूपमा प्रस्तुत गर्दै विभिन्न उमेर समूहका पाठकका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै शिक्षामा देखिएका चुनौतीहरू पहिचान गर्दै तिनैभित्र समाधान खोज्नुपर्ने सन्देश पनि पुस्तकले दिएको छ ।

लेखक कोइरालाले आफ्ना विचार, दृष्टिकोण र प्रस्तुतिप्रति पाठकबाट सुझाव र प्रतिक्रियाको अपेक्षा समेत व्यक्त गर्नुभएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त कृतिको मूल्य ९ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.