काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान र राष्ट्रिय गौरव भएको बताउनुभएकाे छ ।
शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयाे ।
“साहित्यले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य–मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ,” उहाँले भन्नुभयाे, “यसले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने क्षमता राख्दछ।”
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको योगदानको स्मरण गर्नुभयाे । उहाँले नयाँ पुस्ताले सिद्धिचरणलाई केवल इतिहासका कविका रूपमा होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।
उहाँले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता युगकवि श्रेष्ठका कवितामा प्रचुर रूपमा पाइने उल्लेख गर्दै ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्ता रचनाले नेपाली साहित्यमा जन्मभूमिप्रतिको अगाध प्रेमलाई अविस्मरणीय रूपमा स्थापित गरेको बताउनुभयाे ।

