साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ सार्वजनिक

श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ सार्वजनिक

काठमाडौं । साहित्यकार श्रीराम पाण्डेद्वारा लिखित कवितासङ्ग्रह ‘निःशब्द शब्द’ ज्योति साहित्य प्रतिष्ठानको २२७औँ शृङ्खलाअन्तर्गत शनिबार ललितपुरमा आयोजित समारोहबीच लोकार्पण गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा कवि शैलेन्द्र शाकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. निर्मोही व्यास, ज्ञानुवाकर पौडेल, प्रा. डा. भरतकुमार भट्टराई, विमल भौकाजी, प्रा. युयुत्सु आर. डी. शर्मा, नारायण तिवारी, कवि दिनेशविक्रम थापा, कल्पना मरासिनी, प्रोल्लास सिन्धुलीयलगायत साहित्यकार, समालोचक, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

इमाडोलस्थित कृष्ण मन्दिर परिसरको इन्द्रेणी फुड स्टेसन क्याफेमा आयोजित कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।

कार्यक्रममा वक्ताहरूले समकालीन नेपाली कविताको प्रवृत्ति, सिर्जनात्मक जिम्मेवारी र साहित्यको सामाजिक भूमिकाबारे चर्चा गर्दै ‘निःशब्द शब्द’ ले मानवीय संवेदना, जीवनका विविध अनुभूति, सामाजिक यथार्थ र समयका मौन पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको धारणा राख्नुभयाे ।

कृतिको समीक्षा गर्दै कवि शैलेन्द्र शाकारले कविताले समाजका मौन आवाजलाई अभिव्यक्त गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले श्रीराम पाण्डेको लेखनमा जीवनप्रतिको गहिरो दृष्टि, भाषिक सौन्दर्य र अनुभूतिको सघनता रहेको उल्लेख गर्नुभयो ।

प्रा. डा. निर्मोही व्यास, ज्ञानुवाकर पौडेल, प्रा. डा. भरतकुमार भट्टराई, विमल भौकाजीलगायत वक्ताहरूले पनि कृतिका विभिन्न पक्षमाथि समीक्षा गर्दै कविताहरूले पाठकलाई सोच्न, महसुस गर्न र आत्मचिन्तन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे । उनीहरूले यस कृतिलाई समकालीन नेपाली कविताको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै लेखकको निरन्तर साहित्यिक साधनाको प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा युवा कविहरू योगराज राजन कविराज, सुनिता अधिकारी, रचिता दाहाल र बुद्धिमान महर्जनले सङ्ग्रहबाट कविता वाचन गर्नुभएकाे थियाे ।

कृतिकार श्रीराम पाण्डेले आफ्नो लेखकीय यात्राबारे चर्चा गर्दै कविता आफ्नो जीवनको अभिन्न अभिव्यक्ति भएको बताउनुभयो । समाज, समय, मानवीय सम्बन्ध, पीडा, आशा र जीवनका अनुभूतिलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कविता, निबन्ध, कथा तथा अन्य विधाका पाँच कृति प्रकाशित गरिसक्नुभएका पाण्डेको यो नयाँ कवितासङ्ग्रह मधुकुमार थापाले प्रकाशन गर्नुभएको हो ।

समारोहको अन्त्यमा सभाध्यक्ष मणिराज सिंहले कृतिकार श्रीराम पाण्डेलाई बधाई ज्ञापन गर्दै प्रमुख तथा विशिष्ट अतिथिका साथै कविता वाचन गर्ने युवा कविहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.