अरुण नदीको सुसेलीमा बहने चिसो हावासँग बहँदै धनकुटा लेगुवाघाटको कोशी भ्यू होटलमा सुस्तायौँ निकैबेर । त्यहीँ ग्रहण गर्यौं स्वादिष्ट भोजन । “सभाखोलाका असलाको स्वाद जिब्रोमै झुन्डिए पनि धामको प्रभावले लोभ्याएनन् हामीलाई । सादा खाना मानामाना उठाउँदै सुन्यौँ त्यहाँका पूर्वमेयर पर्शु नेपालको प्रशंसा ।
महालक्ष्मी नगरपालिका धनकुटामा पर्शु नेपालले गरेका विकासका केही नमुना प्रस्तुत गर्नु भयो चौरासी वर्षे अधिकारी बाले । मेयरले लगाइदिएका राम्रा दाँत र टेकिरहेको स्टीलको लौरो देखाउनुभयो । बुहारी सुत्केरी हुँदा गरेको सहयोग, श्रीमती बिरामी हुँदा गराएको निःशुल्क उपचार, खनाएका बाटाघाटा, बनाएका पुलपुलेसाको वर्णन गर्नुभयो । खुट्टा नहुनेलाई खुट्टा लाइदिने, चस्मा लाउनुपर्नेलाई चस्मा लाइदिने, पढ्न नपाएकालाई पढाइदिने, खान नपुग्नेलाई खाने व्यवस्था मिलाइदिने त्यस्ता असल मान्छेलाई पनि टिकट नदिँदा पार्टीले व्यहोरेको हार, नगरले गुमाएको विकास र आफूभित्र छाएको निराशा एकैपटक सुनाउनुभयो । उहाँको दुखेसोमा दीपक भाइले पनि सही थपे । वर्तमान मेयरको कामप्रति आगो ओकले कार्की थरका अर्का जङ्गी छिमेकीले । उनले भने, “पर्शुले ५ वर्षमा पाँचैतिरबाट बाटोले जोडिदिए जितपुरलाई । पहिले जितपुर देखेर गएको मान्छे अहिले फर्किंदा चिन्दैन ठाउँ ।”
मैले निराशाभित्रको आशा र आशाभित्रको निराशा दुवै देखेँ त्यहाँ । पालिकाप्रमुखको यस्तो प्रशंसा त म इलाम जाँदा रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको सुनेको थिएँ । उनले दिएको अभिभावक शिक्षा, गुरुकिसान डायरी र डायरी अनुसारको काम, बालबालिका विद्यालयमा भर्ना भएदेखि नै उसको उच्चशिक्षाका लागि दैनिक रु. १ /- अभिभावकबाट र सोहीबराबरको रकम पालिकाबाट थपिदिएर जम्मा गराउने अभियान, वार्षिक ५० हजार केजी मह निर्यात गर्ने योजनाले सफलता पाउँदै गरेको कुरा, पालिकाभरिको कृषिउपजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरिकरण, ब्राण्डिङ तथा निर्यात गराई कृषक हितकोष समेत निर्माण गरिदिएका अनुकरणीय कार्य गर्ने युवा व्यक्तित्व देख्ता मलाई लागेथ्यो “सत्पात्रले नेतृत्व पायो भने मरुभूमिलाई पनि हरियालीमा रुपान्तरण गराइदिँदो रहेछ ।” आज पर्शुको प्रशंसाले त्यसलाई थप पुष्टि गराइदियो ।
खानापछि नदीलाई नमन गर्दै पुल तर्यौं । पुल बन्नुअघि नाउ खियाएर जीविकोपार्जन गरिरहेको सिङ्गो माझी समुदायको बसोबास स्थल माझीटार पुग्यौँ । पुलले पेशा नै खाइदिएपछि माझीविहीन बनेछ अहिले माझीटार पनि । रुपान्तरित विकाससँगै आफूलाई रुपान्तरण गर्न नसक्नेहरू अस्त्विविहीन बन्छन् भन्ने डार्बिनको सिद्धान्त यहाँ लागू भएको देखियो । उराठलाग्दो रातमाटे बन्जर माझीटारले मन कटक्क दुखायो ।
बाटो उकालिँदै जाँदा आपट्टेका घाम सहेर उभिएका सल्लाका रुख, जीवन मरणको दोसाँधमा पाखाभरि छरिएका सतिबयरका सिक्रे बुट्टा र सुख्खाजर्ती बोकेका चिम्ट्याइला टार भेटिँदै गए । राजाबिनाको रानीटार, जरायोबिनाको जरायोटार र पानीबिनाको सिमटार पनि माझीबिनाको माझीटारजस्तै निरस बाँचिरहेका थिए ।
खेतको आँठो र पानीको तिर्को देख्न नपाइने डाँडाहरू उक्लिँदै, घुम्ती घुम्दै र भिर छिचोल्दै बञ्चरे, आम्बोटे, रामचोक, बुद्धचोक, मगरबस्ती, पाल्पाले र माङ्सुवा छिचोलेपछि छ्याम्ताङको डाँडो उक्लेर तल बग्ने कोसी नियाल्यौँ । हेर्दैगर्दा मस्तिष्कले परिकल्पना गर्यो कि कोसीबाट पम्पिसेट लगाएर दुई अँगाला जति पानी तानिदिऊँ । डाँडामाथि विशाल पोखरी खनौँ र साराका सारा गाउँभरी त्यहीँबाट पानी वितरण गरिदिऊँ । दुनियाँका घरघरमा धारा झरुन् । ठुलठुला कुलामा अटाइ नअटाइ पानी दौडियोस् । टारहरू टारीखेतमा परिणत हुन् । बाह्रैकाल, बाह्रमासे तुलफूल निस्कियून् । वारिपारि थरीथरीका बालीनालीले ढकमक्क ढाकोस् । बाटो आइसकेको हुँदा उत्पादनले यथोचित मूल्य पाउनेछ र किसानका हृदय खुसीले भरिने छन् । त्यसपछि यही डाँडामा बसेर आ-आफ्ना सांस्कृतिक कार्यक्रमहरू गरुन् उनीहरूले । उत्सव मनाउन् । खुसी साटासाट गरुन् । आहा ! त्यस्तो दिन हेर्न पाउँदा कति आनन्द आउन्थ्यो होला ?
छ्याम्ताङले जन्माएको परिकल्पनाको खाका सरकारको मस्तिष्कमा छिरेका दिन त्यसले मूर्त रूप लिने निश्चय गर्दै वास्तविक संसारमा दौडन थाल्यौँ हामी । ठाडो उकालो सकिएर बाटो तेर्सिदै, घुम्तीहरू मोडिँदै गोलेटार, ऐवानडाँडा, बल्खु, प्याउली बजार हुँदै दोश्रो बिसौनी बिसायौँ पाटो पल्टिने बेलाको तिवारी भन्ज्याङमा ।
अरुणबाट उचाल्लिएर यो भञ्ज्याङमा पुगेपछि चियाको तलतल लागेछ लक्ष्मणदाइलाई । बाटोमुनि ओर्लने सिँढीको खुड्किलोमा टुस्किँदै चियापसले बैनीलाई भनेँ–
“लु हामीलाई मिठो चिया ख्वाउनोस् त बैनी ।”
“हुन्छ कि दाजु तर मेरो दुधैदुधको चिया बन्छ । तीस रुपियाँ पेला पर्छ है ।”
लक्ष्मणदाइ मतिर फर्केर ङिच्च हाँसे । मैले भनेँ–
“हुन्छहुन्छ बैनी बनाउनुहोस् न । तिरौँला नि पैसो त ।”
दमकका क्याफेले रु. ५० ठटाउने चियाभन्दा स्वादिष्ट थियो उनको चिया । फेरि त्यही पैसामा मेरा सबै जिज्ञासा मेटाइदिएर तिवारीभञ्झ्याङलाई पूरै चिनाइदिइन् उनले । भनिन्–
“तिवारीहरूको एकाधिकार छाएर नै भञ्झ्याङको बस्ती बाक्लो नभएको, बजार विस्तार हुन नसकेको हो दाजु । दोस्रो थरीलाई जग्गा नै बेच्तैनथे केहीवर्षअघिसम्म त । एउटा तिवारीले बेच्न खोज्यो भने यहीँको अर्को तिवारीले किनिदिने । जग्गाको भाउ कति बढाउने भन्ने तिवारीहरू बसेरै निर्णय गर्ने । त्यतिमात्रै कहाँ हो र ? यहाँ चियाको भाउ बढाउन पनि उनीहरूकै अनुमति लिनुपर्ने । नत्र खाइदिँदैथे चिया । अनि बजार बाक्लियोस् पो कसरी ? अहिलेचाहिँ अलिअलि मिसमासे समाज बन्न थालेको छ र सजिलो हुँदै गएको छ ।” सुन्दा सामान्य तर गम्भीर गहिराइ बोकेका बैनीका कुराले सिङ्गो अर्थशास्त्र पढाइरहेको भान भयो । एकातिर जातीय एकता, भातृत्वप्रेम र बलियो सङ्गठनको महत्त्व लोभलाग्दो थियो भने अर्कातिर खुला अर्थतन्त्र, उदारिकरण, प्रतिस्पर्धाले निर्धारण/नियन्त्रण हुने मूल्यजस्ता कुरालाई एकाधिकारले खर्लप्पै निलिदिँदा अन्य जाति वा सम्पूर्ण उपभोक्तालाई पारेको असर निकै गम्भीर थियो ।
चियापसले बैनीका कुरा मनमा खेलाउँदै हामीले तिवारीभञ्झ्याङ छोड्यौँ । केही तेर्सो, केही उकालो कटेपछि अझैअग्लो स्थानमा भेट्यौँ हिलेभञ्ज्याङ । त्यहाँ पुग्दा टाउकाले आकाश नै छोएजस्तो भयो । चिसो स्याँठ कान बजाउँदै पछिल्तिर दौडिन थाल्यो । पानी परिहाल्ने हो कि, असिना खसिहाल्ने हो कि जस्तो भयो । मौसम अति चिसो र हावाको वेग तीव्र । तर थिएन वरिपरि गान्धारीकुहिरोचाहिँ । तरेलीतरेली परेका खातैखात पहाडहरू आँखाले भ्याएसम्म देखिँदै थिए । छिनछिनमा कालोमुस्लो मिसिएका बादलका ठुलाठुला डल्ला हान्निएर आउँथे र टाउकैनेरबाट कस्सिएर उँधो झर्थे भिरमुनिको पात्लेघारीतिर । अनकन्टार जङ्गल भएर पनि होला हामी लामोसमय अडिन चाहेनौँ त्यहाँ । छिट्टै भेटियो गल्छिँडो र झर्न थाल्यौँ प्लेनकै रफ्तारमा तलतल निहुरिँदै ढलेको अर्को पाटोबाट ।
त्यहाँबाट पश्चिम पाटो लागेपछि जताततै पानीका मुहानहरू भेटिन थाले । खोला, खोल्सा सबैतिर पानी छङ्छङ् बगिरहेको थियो । प्रशस्तै सिमसार क्षेत्र देख्न पाइयो । हामी क्रमशः ओरालो झर्दै पारिपट्टि डाँडाको तल्लो छेउतिर पर्ने भोजपूर बजारसिरानमा पुग्यौँ । पुरानो बजारलाई नछोइकन माथिमाथिबाट नै भाग्दो रहेछ लोकमार्ग । दायाँ लागे खोटाङ र बायाँ लागे भोजपुर बजार निस्कने तीनबाटे देउरालीमा उभिएको सानो धरहरा पुगेपछि चुरोटको धुवाँसँगै फोटोसेसन चलाउन रोकियो गाडी । सार्वजनिक शौचालय देखेर हान्निएँ म । तर ताला रहेछ ड्युटीमा । चाबीचाहिँ बजार डुल्न गएछ । लुरुक्क फर्केँ ।
हामी छिर्यौं बजार । बिचभागबाट पुछारसम्म र फर्केर फेरि सिरान हुँदै माथि पेट्रोलपम्पसम्म पुग्यौँ । गाडीमा तेल भरेर फेरि अघिकै तीनबाटे देउराली पुग्यौँ । फेरि बजार छिर्यौं । नास्ता गर्यौं । ऐतिहासिक पुरातात्विक महत्त्वका वस्तु, ठाउँ र भवनहरू हेर्न मन लाग्यो । सोधीखोजी गर्यौं । धेरै जनाले टक्सार जाने सल्लाह दिए र हामी लाग्यौँ टक्सारतिर ।
हवाइमैदान, सरकारी अड्डाअदालत, विद्यालय, कलेज आदि नियाल्दै करिब ४ कि.मि. टाढा रहेको टक्सार पुग्यौँ । खुकुरी, करुवा, काँस र झर्काका सामग्री उत्पादन हुने टक्सारसँग पहिले टक काटेको इतिहास रहेछ । पुरानो नेवार बस्ती अलि पातलिँदै गए पनि भाँडाउद्योग अझै उनीहरूकै नियन्त्रणमा रहेछन् । उहिले हाम्रोतिर भाँडा बेच्न आउनेहरू यही क्षेत्रका नेवार समुदायका मानिसहरू रहेछन् भन्नेकुरा बल्ल मलाई थाहा भयो । बजार घुम्यौँ, संरचनाहरू प्रायः पुरानै थिए । बस्ती पुरानै थियो । रमाइलो टक्सारलाई एक झलक नियालेपछि फेरि फर्कियौँ भोजपुर बजार नै ।
समाजशास्त्रीय अध्ययन पद्धति सम्झने हो भने त कुनै पनि ठाउँको एकसरो अध्ययन गर्न कम्तिमा ६ वटा ऋतु पार गर्नुपर्छ । प्रत्येक ऋतुले ल्याउने परिवर्तनको पूरापूर अध्ययन गर्नुपर्छ । गहन अध्ययनका लागि त ३ वर्षको पूरा समय चाहिन्छ भनिन्छ । हामीलाई त्यस्तो अनुसन्धानात्मक अध्ययन गर्नु थिएन । झट्ट हेर्दा जे देखिन्छ त्यसमै रमाउनु थियो । एकजना स्थानीयले सोध्नुभयो–
“सरहरू घुम्न आउनुभए जस्तो छ । कतिपटक भयो भोजपुर आउनुभएको ?”
“पहिलोपटक हउ दाजु । नयाँ मान्छे नयाँ ठाउँ घुमीघुमी हेर्दैछौँ ।”
तपाईंहरूको प्रथम दृष्टिले कस्तो देखायो त हाम्रो ‘भोजपुर बजार’ ?
मैले भनेँ– “शृङ्गार भर्न बाँकी रहेकी दुलही ।”
घत परेछ दाजुलाई । गहिरो हाँसो हाँस्नुभयो । र भन्नुभयो–
“प्रथम श्रेणीमा पास हुनुभयो तपाईं ।”
मैले सोधेँ– “हजुर शिक्षण गर्नुहुन्छ ?”
उहाँले भन्नुभयो “निवृत्त भइसकेँ सर ।”
उनै निवृत्त शिक्षकले हामीलाई भोजपुरको ऐतिहासिक पृष्ठभूमि छोटकरीमा बताइदिनुभयो । “वि.सं. १८७२ मा नेपाल सरकारले टक काट्ने व्यवस्था मिलाएको ठाउँ हो टक्सार । कुनै समयको चर्चित माझकिराँत क्षेत्रको केन्द्र हो भोजपुर । राणाकालको पूर्व ४ नं. भोजपुर प्रशासनिक क्षेत्र हो । २०१८ सालपछि सगरमाथा अञ्चलभित्र र पछि कोशी अञ्चलभित्र राखिएको इलाका हो । करुवा, खुकुरी र झर्काका अग्र्यानिक सामग्रीहरू उत्पादन हुने प्रशिद्धि पाएको ठाउँ । प्रशिद्ध सिद्धकाली भगवतीका प्रभावले हुर्केको, सिद्धकालिकास्थान हुँदै “सिद्धिपुर” का नामले विशाल ख्याति कमाएको थियो पहिले । पछि पृथ्वीनारायण शाहले सिद्धिपुरमाथि विजय प्राप्त गरेपछि खुसियालीमा भोज खुवाउँदा धेरै उभ्रेछ र खाल्डो खनी पुरेको स्थानबाट नामाङ्कन हुँदै “भोजपुर” बनेको हो । साविकका ६५ गाविसलाई अहिले भोजपुर र षडानन्द गरी २ नगरपालिका र आमचोक, अरुण, हतुवागढी, पौवादुङ्मा, टेम्केमैयुम, साल्पासिलिछो र रामप्रसाद राई गरी ७ गाउँपालिकामा खुम्च्याइएको छ ।”
गुरुको विश्लेषणभित्र आत्मगौरव र दुखेसो दुवै पोखिएको थियो । उहाँसँग हिँड्दै फेरि बजारको तल्लोछेउसम्म पुग्यौँ । आधुनिकताको जलपले छोप्न बाँकी भोजपुर मौलिक संस्कृतिको पर्याय नै रहेछ । स्थानीयहरूको नम्र बोलीवचन, निश्छल स्वभाव र हार्दिकतासहितको व्यवहारले हामी प्रभावित बन्यौँ । ऐतिहासिक, पुरातात्विक महत्त्व राख्ने मठ, मन्दिरहरू, राई समुदायका विविध परम्परा झल्काउने कलात्मक दृश्यहरूले ठाउँठाउँ हामीलाई रोक्थे । स्थानीयहरूसँग सोधपुछ गरी जिज्ञासा मेटाउँदै हिँड्थ्यौँ । यसरी हिँड्दा मैले मेरो मानसपटलमा नाचिरहेका हतुवालीहरूको स्वभाव सम्झेँ । त्यो झलक केही पाका मानिसहरूमा मात्रै झल्केको पाएँ । तर त्यो पनि खाँट्टि पुरानो लवज भने खासै पाउन सकिनँ । बजारको मिश्रित बसोबासले लवजमा फरकपन ल्याएको हुन सक्ने अनुमान भयो ।
यशोधरा मा.वि. टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मी गुरु मेरा पनि गुरु । उहाँलाई फोन लगाएँ । बजारको घरमा ताला मारेर ससुरालीघर गोगने जानुभएको रहेछ । भन्नुभयो–
“बोको पूजा गर्दैछु भाइ । भक्कु तोड्नुपर्छ आज । तिमीहरू कतै अलमल नगरी तुरुन्तै गोगने आइहाल ।” सम्झेँ ३३ वर्षअघिको रसिलोपन अझै घटेको रहेनछ गुरुमा । त्यो बेला रातारात बिछोडिएका हामी गुरुशिष्यका ज्यान आज भेटाउने संयोग जुटाउन खोज्दै थिएँ, बोको फ्याट्टै बिचमा आइदियो । परियो अफ्ठेरोमा ।
बाटो बुझ्यौँ गोगने पुर्याउने । लामो र कच्ची भएर पनि अघिल्लो दिनको पानीले बिगारेर ढुट्टो पारेको तथ्य पेश गरे स्थानीयले । एक युवाले भने– “घरी बाइकले बोक्छ, घरी तपाईंहरूले बाइक बोक्नुपर्छ ।” आकाश हेर्यौं । मात्रै दुई जुवा घाम बाँकी रहेछन् । गोगने पुग्न सकिँदैन भनेपछि गुरुसँग क्षमा मागेर देउराली चोकको चन्द्रमा होटलमा बासको बन्दोबस्ती मिलायौँ । अनि सदरमुकामसँगै जोडिएको सुन्दर गाउँ बोखिम घुम्न निस्कियौँ ।
अत्यन्तै सुन्दर फाँट “बोखिम” त्यागेर न्यौपानेहरूको विशाल डफ्फा गोगने गए रे” भन्ने ऐतिहासिक कथा सुनेको थिएँ मैले म फुच्चेहुँदैदेखि । तेर्सो लाग्नेबित्तिकै बोख्खिम टेकिँदो रहेछ । मैले न्यौपाने बन्धुसमाज दमकका अध्यक्ष बाबुराम न्यौपाने बोख्खिमे हुन् भन्ने सम्झेर फोन लगाएँ । नम्बरले हजुरबुबा र उमेरले दाइ पर्ने अध्यक्षज्यूले आफ्नो घर पुर्याउने बाटो देखाउँदै अनिवार्य पुग्न अनुरोध गर्नुभयो । हामी दायाँ छिरेर बोख्खिम फन्का मार्यौं र उहाँका घरको ठिटोभैँसीको चकनाचकना दही मनलाग्दो खाएर फर्कियौँ होटलमा ।
वि.सं १८३१ को सेरोफेरोमा ज्योतिसविद्यामा पारङ्गत लोकेश्वर न्यौपाने आएर थातथलो निर्माण गरी बसेको बोख्खिम क्षेत्र धेरै दृष्टिले उत्कृष्ट लाग्यो । जलाधार क्षेत्र । हरियाली वातावरण । तुलफूलका बगैँचाभित्र घेरिएका घरहरू । मुख्यगरी सुन्तला बगैँचा । बाटो, बिजुली, खानेपानी आदि आधारभूत भौतिक सुविधाहरू पूरा भए पनि आधुनिकताको अभिमानले नछोएका बस्तीहरू । मिश्रित समुदायको बसोबास भएको सुन्दर गाउँ । यस्तो गाउँ त्यागेर किन गए होलान् न्यौपानेहरू त्यति टाढाको गोगने ? बोख्खिम देखेपछि र गोगने टाढा छ भन्ने थाहा पाएपछि मलाई न्यौपानेका पुर्पुराको रिसको थैलो हेर्न मनलाग्यो ।
सम्झिँदा गोगने गाउँ न राजमार्गको नजिक रहेछ न जिल्ला सदरमुकामको नजिक । न तराईको नजिक रहेछ न राजधानीको नजिक । हुनसक्छ उब्जनी धेरै दिने मलिला टारी खेतहरू होलान् त्यहाँ । घमाइलो, पन्याइलो, सम्म मैदानी भूभाग होला । छङछङ बग्ने खोलाको कलकल बग्ने पानी घरघर पुग्छ होला बाह्रैकाल । तर बोख्खिम पनि त कम रहेनछ । उत्पादनले खानलाउन नपुग्ने, सुख्खाजर्ती लाग्ने, छोराछोरी पढाउन नपाउने ठाउँ थियो भने त कुरो भिन्नै हो । सबैकुरा अनुकुल हुँदाहुँदै सुगम छोडेर दुर्गम किन जान्छ त मान्छे ? कि चोटै पर्नुपर्यो, कि छोड्नै नसकिने साथीभाइ उता हुनुपर्यो ।
भएछ के भनेँ जिम्मावाली प्रथामा उठेको विवादपछि राई र न्यौपानेबिच मुद्धा हालाहाल भयो । फैसला हुने दिन बोखिम गाउँका बिचको ठुलो धारोको पानी खाएर न्यौपानेहरू फैसला सुन्न गए । पछि राईहरूको पक्षमा फैसला भएपछि न्यौपानेबुढाहरूले यो धारोको पानी खाएर हिँडेका हामी न्यौपानेले मुद्धा हारेको फैसला सुन्न पर्यो । आजदेखि यस धारोको नाम हरूवा धारो भयो र आइन्दा हाम्रा शाखासन्तानले यो धाराको पानी खाने छैनन्” भनी वाचा बाँधेछन् । यति बोलिसकेपछि त्यही ठाउँमा बसिरहने त कुरै भएन । अब उनीहरूले बोख्खिम त्यागेर गोगने जाने निर्णय गरेछन् । तर सबै न्यौपानेहरूले त्यो निर्णय स्वीकार गरेनछन् । उनीहरूको तर्क रहेछ, “सदियौँसम्म असर रहने निर्णयहरू लहडमा, आवेगमा, रिसका झोकमा गरिहाल्न हुँदैन । त्यसमा पनि जीवन बचाउने पानीलाई दोष लगाएर आफ्नो कमजोरी ढाकछोप गर्नु हुँदैन । प्रकृति दोषमुक्त छ । दोष त हामीभित्र छ । हाम्रो अहं, आवेग, रिस, ईर्ष्यालाई संयमता, धैर्यता अपानाएर आफूभित्रै नियन्त्रण गर्नुपर्छ र शान्ति स्थापना गरेर यहीँ बस्नुपर्छ । सबैसँग समान व्यवहार गर्नुपर्छ र प्राकृतिक स्रोतहरूको समान संरक्षण तथा उपभोग गर्नुपर्छ । प्रकृतिलाई नै दोष लगाएर हाम्रो उन्नति हुँदैन । जानेलाई रोक्न नसकिएला तर बस्नेहरूले सबै जातजाति भाषाभाषीसँग समान व्यवहार गर्नुपर्छ । धाराको पानी पनि खानुपर्छ ।”
सिधै बुझ्दा कडा स्वभाव र नरम स्वभाव बिचको टकराव थियो त्यो । बसाइँ जानुपर्छ भन्नेहरूले आफ्नो निर्णयको अवज्ञा गर्नेहरूलाई “शत्रुका पाउपूजक” भने, “पानीमरुवा” भने र “आज उप्रान्त जैसी भयौ” पनि भन्न भ्याए । एक तह जात खसाइदियौँ भनेर गोगनेतिर लागे । यता संयमता कायम गर्नुपर्छ, धर्य गर्नुपर्छ, शान्तिस्थापनार्थ मेलमिलापको नीति अपनाउनुपर्छ भन्ने नरम न्यौपनेहरूले कडावालाका गलत व्यवहारको अवज्ञा गरे । अनाहकमा थोपरेको दोष अस्वीकार गर्ने र हेपाहा प्रवृत्तिको शान्तिपूर्ण विरोध गर्ने फैसला गरी राईहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्दै बसिरहे । यसरी गोगने र बोख्खिम छुट्टिएछ । आवेगमा कसैले आफ्नै बाबुलाई जैसी बनाए त कसैले ब्याइते छोरालाई पनि । कसैले यसलाई बालहठ सम्झे, कसैले मुर्ख्याइँ त कसैले साहस, वीरता, तेज, आँट वा स्वाभिमानसँग गाँसेर व्याख्या गरे । गोगने जानेहरू आफ्ना पुर्खाको स्वाभिमानको गौरव गाउने र बोख्खिम बस्नेहरू पुर्खाको धैर्यता, विद्वता र सामाजिक व्यवहारको प्रशंसा गाउने भए । निर्णयले बन्धुहरूबिचको एकतालाई धुमिल्याएको पनि देखियो भने बिस्तार र प्रतिस्पर्धाले फाइदा पुर्याएको पनि भेटियो ।
तर समष्टीमा मूल्याङ्कन गर्ने हो भने यसले गम्भीर र दूरगामी असर छोड्यो कि सदियौँसम्म शाखा सन्तानहरूले एकातिर वैरत्वभाव र अर्कातिर पीडा खेपिरहनु पर्यो । अहिले पनि त्यसको असर थोरै धेरै देखिइरहेको छ । गोगने गएको एउटा न्यौपानेको सन्तान बोख्खिम पुग्यो भने ठुलोधाराको पानी खाँदैन । यता बोख्खिम हुनेले जातीय व्यवस्था रहुन्जेल जात घटुवाको बिल्ला भिरेर बसिरहनु पर्यो ।
गोगनेबाट चन्द्रगढी जानुभएका कवि हरिप्रसाद न्यौपानेले सुनाउनुभएको हिजोको यो वास्तविकता मनमा खेल्दै थियो, “फुत्त आइपुगिएछ होटलको आँगनमा ” । आराम गर्दै पहाडको मिठो खाना खायौँ । भोलिपल्ट दिक्तेल घुम्ने स्वादिलो सपना साँचेर सुत्नुअघि दिनभर ओढिराखेका रेनकोट खोल्यौँ । बाँकी लुगा खोलेनौँ । त्यहीँमाथि न्याना सिरक खाप्यौँ र बेलैमा सुत्यौँ ।

