बिहानै घरको मुख्य ढोका खोल्न मात्र के लागेकी थिएँ, ढोकामा एउटा डिजाइनदार कार्ड अड्किएको देखेँ । मेरो यो निरस संसारको दैलोमा यति रंगीन निमन्त्रणा कसले छोड्यो होला ? के कुनै समारोहको बोलावट हो, वा म अनायासै कसैको पाहुना बन्न पुगेछु ?
जे भए पनि, यति धेरै समयपछि आएको निमन्त्रणा खोलेर नहेरी कसरी बस्नु ?
खोलेँ ।
“You are invited to this get-together retreat.”
म केही क्षण स्तब्ध भएँ । कसले बोलायो ? कमसेकम होस्टको नाम त हुनुपर्थ्यो । लोकेशन भने उल्लेख गरिएको रहेछ । मन दुविधामा अल्झियो-जाऊँ कि नजाऊँ ? स्वीकारूँ कि अस्वीकार गरूँ ? अन्ततः बोझिलो मन कतै कुनातिर थन्क्याएँ र निमन्त्रणालाई स्वीकारेँ ।
आखिर निरञ्जनसँग छुटिएपछि म कतै पार्टी-समारोहमा पुगेकी पनि त छैन । आठ वर्ष बितिसकेछ । तर स्मृतिहरू अझै जिउँदा छन् । कति खुशी-खुशी सबै निम्तामा पुग्थ्यौँ हामी । कहिलेकाहीँ त आफ्नै घरमा पनि साथीभाइलाई बोलाएर रमाउँथ्यौँ ।
अचानक त्यो छुटिसकेको अतीत सम्झँदा मुटु एकाएक झस्किन्छ । अघिसम्म रमाउन तयार रहेको मनमा फेरि भुइँचालो उठ्न थाल्छ । किन होला, म अझै मुभ-अन हुन सकेकी छैन ?
निरञ्जन त आफ्नो संसारमा निकै अघि बढिसकेको छ । कति रमाइरहेको होला ऊ ! प्रत्यक्ष नदेखे पनि इन्स्टाग्राममा त उसको जीवनका उज्याला झिल्काहरू देखिरहन्छु ।
शायद अब म पनि उभिनुपर्छ ।
आजकै दिनबाट शुरु गरूँ झैँ लाग्यो !
“ल बिनिते, राम्री बन् । निकाल दराजका पार्टी–वेयरहरू ।”
मनले आदेश दियो ।
मैले आफ्नो गह्रौँ शरीर उठाएँ । सोचेँ -रित्तै त के जानु ? एउटा बुके त लैजानैपर्छ । सहयोगी बैनीलाई भनेँ, “घरकै फूलहरूबाट एउटा सुन्दर बुके तयार पारिदिनू !” केही बेरमै उनले प्रोफेसनलले बनाएको जस्तै आकर्षक बुके तयार गरेर ल्याइन् ।
त्यतिञ्जेल म पनि लगभग तयार भइसकेकी थिएँ । अन्तिममा Chanel को परफ्युम छर्दै गर्दा फेरि निरञ्जनको सम्झना आयो । त्यो ब्रान्ड उसलाई मनपर्ने ब्राण्ड थियो । हरेक अवसरमा उपहारस्वरूप ल्याइदिन्थ्यो । उसकै कारण त्यो सुगन्ध मलाई पनि मन पर्न थालेको हो ।
गाडी निकालेर म लोकेसनतिर निस्किएँ ।
बाफ्रे ! कस्तो भव्य सजावट !
पार्किङबाटै यति शानदार देखिन्छ भने भित्र कस्तो होला ? होस्ट को होला ?
यस्तै सोच्दै-सोच्दै पार्टी एरियाको गेटमा पुगेँ ।
गार्ड दाइले हात उठाएर रोक्नुभयो ।
म अलि अचम्ममा परेँ । इन्भिटेसन कार्ड देखाएँ ।
उहाँले हल्का असहज मुस्कानसहित भन्नुभयो,
“गेस्टहरू सबै आइसक्नुभयो रे, म्याम । अब कसैलाई पनि इन्ट्री नदिनु भन्नुभएको छ… निरञ्जन सरले । सरी ।”
निरञ्जनको नाम सुन्नासाथ मेरो टाउको एकछिन घुमेजस्तो भयो ।
आखिर किन बोलायो मलाई निरन्जनले ? उसको गेस्टलिस्टमा मेरो नाम त थियो होला । छुट्टिँदै गर्दा उसले मलाई भनेको थियो- “मसँग चलिरहेको सम्बन्ध तेरो आत्मसम्मान भनेर बिगारिस्, म जीवनमा कुनै न कुनै कुरा तँसँग बदला लिइरहनेछु, जुन कुरा हेर्दा सामान्य लागेपनि आत्मसम्मानमा गहिरो चोट लाग्नेछ ।” हो, यही कारण पो होस्टको नाम बिनाको कार्ड पठाएको रहेछ ।
त्यही बेला गेटको छेउमा टाँसिएको ठूलो अक्षरतिर मेरो दृष्टि पुग्यो:
“Booked”
“No Entry”
त्यो लेखाइ केवल त्यो गेटको मात्र थिएन ।
मानौँ, मेरो वर्तमानको दैलोमा कसैले लेखिदिएको थियो : “प्रवेश निषेध” ।

