ठूलो शोकको घडीमा सानो समवेदनाको सान्त्वना आफैँमा चित्त बुझाउने यौटा माध्यम हो । व्यक्त गर्नेलाई पनि यसले अलिकति सन्तुष्टि महसुस हुन्छ । वास्तवमा हामी अशुभ समाचार सुन्न, पढ्न र भोग्न नपरोस् भन्छौँ । श्रद्धाञ्जली र समवेदना दिनु नपरे हुन्थ्यो, लिनु नपरे हुन्थ्यो भन्छौँ । तर, विधिको विडम्बना खुसीसँगै यस्ता अप्रिय समाचार सुन्न बाध्य हुन पुग्छौँ । शोक र समवेदनाभन्दा पर हार्दिक बधाई र शुभकामनाका शुभेच्छाहरू नै सबैलाई प्रिय लाग्छ ।
एकाबिहानै आँखा खुल्नासाथ ‘फेसबुक’को पर्दा उज्यालो थियो । अनुहारभरि बधाईका मुस्कानहरू टाँसिएका थिए– कसैको जन्मदिन, कसैको वैवाहिक वर्षगाँठ, कसैको बढुवा, कसैको सन्तान प्राप्ति आदि । कतै सफलताको खुशी, कतै सुस्वास्थ्यको कामना, कतै बधाईको ओइरो ! शब्दहरू हिउँदे हिउँझैँ निरन्तर झरिरहेका थिए– निःस्वार्थ, हलुका र सेता । ती शब्दहरू पढ्दा चिसो याममा मन पनि केहीबेर न्यानो भइरहेको थियो । जीवन यति नै सरल हो कि जस्तो लाग्यो– शुभेच्छा दिनु, पाउनु र मुस्कान साट्नु । किनभने ‘बधाई’ र ‘शुभकामना’ शब्द आफैँमा खुशीका उत्सवमय पलहरूको आभास गराउने शब्द हुन् ।
तथापि जीवन सरल हुँदोरहेनछ । खुशीको त्यो उज्यालो क्षण धेरै बेर टिक्न पाएन । ‘स्क्रोल’ गर्दै जाँदा अचानक अर्को समाचारको दुःखद, गह्रौँ र मौन कालो बादल ठोक्कियो । आदरणीय लेखक, निबन्धकार, समालोचक तथा भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलको फेसबुको भित्तामा लेखिएको एउटा सानो तर असाध्यै भारी वाक्य आँखामा ठोक्कियो– “अन्ठाउन्न वर्ष सात महिना नौ दिनसम्म (२०२४ असार १६ देखि २०८२ माघ २५) अखण्ड दाम्पत्यको साथ दिएकामा धन्यवाद शारदा ! तिम्रो आत्माले शान्ति र सौजन्य पाओस् ! अलबिदा !!”
यी शब्दहरू बिदाइका वाक्य थिएनन्; ती त जीवनले जीवनलाई दिएको अन्तिम प्रणामजस्ता लागे । संवेदित यी दुई शब्द ‘धन्यवाद’ र ‘अलबिदा’ ! तर, बीचमा अटाएको पूरै जीवन । प्रेम, साथ, सम्झना र अन्त्यमा शून्यता ! सबै एकैचोटि जीवनमा खनिए । पढ्दै जाँदा लाग्यो– खुशी र शोक एउटै श्वासमा बाँचिरहेका रहेछन् । एउटै बिहान, एउटै स्क्रिन, एउटै आँखाले जन्मदिनको ‘बधाई’ र जीवनको अन्तिम ‘बिदाइ’ दुवै देख्नुपर्ने कति कठोर नियति !
त्यही क्षण मनभित्र अप्रत्याशित ‘आँधी’ आयो । उत्सवको तालमा नाचिरहेको हृदय एकाएक ‘स्तब्ध’ भयो । बाहिरको मौसम पनि मानौँ यही अनुभूतिको साक्षी बनेको थियो । आकाश र धरती हुस्सुले ढाकिएको थियो, चिसो हावाले शरीर कक्रक्क पारेको थियो । शीतलहरसँगै बिहानैदेखि झरिरहेको हल्का पानी आँसुजस्तै लाग्थ्यो– न धेरै बर्सिएको, न पूरै रोकिएको । प्रकृति पनि कुनै अदृश्य शोकमा सामेल भएको भान हुन्थ्यो । एकप्रकारले शोकमग्न प्रकृति !
म सोच्न थालेँ– सामाजिक सञ्जाल जीवनको कस्तो विचित्र ऐना रहेछ ?! एउटै पानामा जीवनका दुई चरम सत्यहरू टाँसिन्छन्– जन्म र बिदाइ, बधाई र समवेदना, हाँसो र आँसु । हामी ‘स्क्रोल’ गर्दै हिँड्छौँ, तर वास्तवमा हामी समयको धारमा हिँडिरहेका हुन्छौँ । कहिले उज्यालो तटमा, कहिले अँध्यारो खोँचमा ।
डा. पोखरेलका ती शब्दहरूले मलाई समवेदनाको अर्थ फेरि सम्झाए । समवेदना दुःखमा भनिने औपचारिक शब्द होइन; त्यो त दीर्घ सहयात्राको सम्मान हो । अन्ठाउन्न वर्षभन्दा बढी समय सँगै बिताएको जीवनप्रति व्यक्त गरिएको कृतज्ञता हो । शोकमा पनि सौजन्य र प्रेमको भाषा बोल्न सक्ने माधव सरको मनको विशालता पनि हो ।
त्यस बिहान मैले एउटा जीवनदर्शन महसुस गरेँ– खुशीको खबर पढ्दा विनम्र हुन । दुःखको खबर पढ्दा मानवीय हुन । किनकि जीवन सधैँ एउटै रङको हुँदैन । कहिले इन्द्रेणी रङको सौन्दर्यमा सुशोभित, कहिले कालोमुस्लो बादल र मेघगर्जनको हाँडीघोप्टे वर्षाद् ! हामी, यी सबैलाई स्वीकार्दै अघि बढ्ने यात्रु हौँ । समवेदनाको सान्त्वना यही स्वीकारोक्ति हो । दुःखलाई नलुकाउने, तर दुःखभित्र पनि ‘प्रेम’ र सम्मानको ‘दीप’ जलाइरहने यही मन र मुटु हो ।
शोक आउँदा दैलो वा जस्केलो ढकढक्याएर आउँदैन । ऊ चुपचाप मनको आँगनमा पस्छ र बिस्तारै सङ्घारमा टेकेर हरेक मान्छेको मुटुको कुनामा आफ्नो छायाँ टाँसिदिन्छ । शब्दहरू अचानक अर्थहीन लाग्छन्, आवाजहरू टाढाबाट आएको डरलाग्दो हुण्डरीको हावाजस्तै सुनिन्छन् । त्यही घडीमा भीडमै बसेर पनि मानिस एक्लो हुँदोरहेछ । त्यतिबेला आँसु झर्छ, बोली बाहिर निस्किँदैन । बोल्न खोज्ने ओठ अवाक हुन्छन् । देख्न चाहने आँखा शोकका आँसुले भरिएका हुन्छन् । यतिबेला आँसुले भन्दा बढी मन भिज्छ । यस्तो क्षणमा समवेदना औपचारिक वाक्य हुँदैन; त्यो त मनले मनलाई थाम्ने अदृश्य शक्ति बनिदिन्छ ।
समवेदनाका शब्दहरू कहिलेकाहीँ असहाय लाग्छन् । “धैर्य राख्नुस्” भनिन्छ, तर धैर्य राख्ने ठाउँ नै भत्किएको हुन्छ । “संसारको नियमै यही हो”, “समयले सबै ठीक गर्छ” भनिन्छ । तर समय आफैँ चोटले टुक्रा–टुक्रामा परिणत भइसकेको हुन्छ । तैपनि, यी शब्दहरूमा अवश्य एउटा न्यानोपन हुन्छ– मानौँ कसैले काँपिरहेको काँधमा चुपचाप हात राखिदिएको हो । समवेदना भनेको पीडा मेट्ने औषधि होइन; पीडासँगै बस्न सिकाउने साथ हो ।
शोकको घडीमा मौन पनि ठूलो भाषा बन्छ । सबैभन्दा गहिरो सान्त्वना कहिलेकाहीँ बोलाइबाट होइन, सँगै बसेर सास फेर्ने क्षणबाट आउँछ । आँखामा आँखाले भन्न नसकेका कथा पढ्छ । त्यही मौनताले भन्छ– “तिमी एक्ला छैनौ ।” यही अनुभूति नै समवेदनाको मूल मर्म हो ।
मान्छेले जति नै ‘अहम्’ र ‘मपाइँत्व’ प्रदर्शन गरे पनि कोही अजर, अमर छैनन् । ‘अजम्बरी’ जीवन कसैको छैन । राम, बुद्ध, जिजस क्राइष्ट पनि सधैँ बाँचिरहेनन् । आखिर जीवन भन्नु बाँचुन्ज्यालको ‘माया’ र ‘सम्बन्ध’ मात्रै हो । मरेपछि बाँकी रहने भनेको सम्झनाका धूमिल ‘छाया–छवि’ मात्र हुन् ।
म सोच्छु– समवेदना दिनु भनेको आफूलाई थोरै भत्किन दिनु पनि हो । अर्काको दुःख सुन्दा आफ्नो मनको दैलो खोल्नु, आँसु रोक्न नसक्नु, अनि त्यही आँसुबाट सान्त्वनाको सद्भाव निकाल्नु । यसरी हेर्दा, समवेदना दिने र लिने दुवै घाइते नै हुन्छन् । फरक यत्ति हो, घाउ साझा हुन्छ । त्यही साझापनमा हाम्रो जीवनको सिलसिलाले यात्रा हिँड्छ ।
जीवन निरन्तर बगिरहने नदी हो । कहिले शान्त, कहिले उर्लँदो । शोकको भेल आउँदा डुङ्गासमेत डगमगाउँछ । त्यही बेला समवेदना एउटा सानो तर बलियो आधार बन्छ, जसलाई समाएर डुङ्गा किनारतिर तान्न सकिन्छ । त्यो आधारले नदी रोक्दैन, तर पार लगाउन भरोसा दिएर मद्दत गर्छ ।
अन्ततः, समवेदनाको सान्त्वना समयसँगै रूप बदल्छ । आज आँसु पुछ्ने हात भोलि सम्झनाको मुस्कान बन्छ । पीडा मरेर जान्न, तर पीडासँग बाँच्ने कला जन्मिन्छ । र, यही कला मानवीयताको सुन्दर अभ्यास र समवेदनाको सबैभन्दा ठूलो ‘उपहार’ हुन्छ । शोकको अँध्यारोमा बालिएको सानो दीप, जसले बाटो होइन, आशा देखाइदिन्छ ।
वास्तवमा शोकको घडीमा समवेदनाको ‘सान्त्वना’ अन्तिम ‘निचोड’ पनि हो ।
शोक अन्त्य हुँदैन, ऊ रूप बदल्छ । पीडाको धार समयसँगै मन्द हुन्छ तर सम्झनाको गहिराइ झन् बढ्दै जान्छ । यस्ता क्षणमा मानिस शब्द खोज्दैन; ऊ साथ खोज्छ, अनुभूति रोज्छ । त्यही अनुभूतिबाट जन्मिन्छ– प्रेमिल समवेदनाको सान्त्वना । सानो देखिने एउटा वाक्य, हल्का उच्चारण गरिएको शब्द, तर मनको मझेरीमा तिनै उज्यालोका कण बन्छन् ।
आदरणीय लेखक, समालोचक तथा भाषाविद् डा. माधवप्रसाद पोखरेलज्यूको परिवारमा परेको यो अपूरणीय क्षतिले एक परिवारलाई मात्र होइन, संवेदनशील साहित्यिक मनहरू सबैलाई छुन्छ । दीर्घ सहयात्राको अन्त्यमा आएको यो मौन बिदाइले प्रेम, समर्पण र जीवनको नश्वर सत्यलाई एकैचोटि सम्झाइदिन्छ । यस्तो शोकको घडीमा भनिने सामान्यजस्ता लाग्ने समवेदनाका शब्दहरू पनि गहिरो अर्थ बोकेका हुन्छन् । ती शब्दहरू हृदयको गहिराइबाट निस्किएका हुन्छन् ।
मलाई लाग्छ– समवेदना कुनै ठूलो भाषण होइन, कुनै गह्रौँ दर्शन पनि होइन । त्यो त दुःखसँगै उभिने साहस हो, आँसु बगिरहँदा काँध थाप्ने मनोभाव हो । “हामी तपाईंको पीडामा साथ छौँ” भन्ने अनुभूति दिन सक्नु नै समवेदनाको सबैभन्दा ठूलो ‘सार’ हो । यही सारले शोकलाई थोरै हलुका बनाउँछ, एक्लोपनलाई ‘साझा’ बनाउँछ ।
यसै भावनाका साथ, आदरणीय डा. माधवप्रसाद पोखरेल परिवारप्रति म गहिरो समवेदना व्यक्त गर्छु । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै, यो कठिन घडीमा परिवारजनलाई धैर्य र शक्ति मिलोस् भन्ने हार्दिक प्रार्थना गर्छु । शोकको अँध्यारोमा समवेदनाका यी शब्दहरू सानो दीप बनेर पनि केही उज्यालो छरिदिउन् । यही कामना नै मेरो यस निबन्धको अन्तिम अनुभूति हो ।

