काठमाडौँ । लघुकथाकार शोभा अधिकारी को पहिलो लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ लोकार्पण गरिएको छ । वैशाख ५ गते आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो ।
सामाजिक परिवेश, नारी चेतना, राजनीतिक आग्रह लगायत विविध विषयलाई समेटिएको यस सङ्ग्रहमा ४२ वटा लघुकथा समावेश छन् । कार्यक्रममा बोल्दै लेखिका अधिकारीले आफ्ना कथा कल्पनाभन्दा अनुभवमा आधारित रहेको बताउँदै समाजका यथार्थ चित्रलाई कथामा रूपान्तरण गरेको उल्लेख गर्नुभयाे ।
लघुकथा समाज नेपाल द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नाटककार अशेष मल्ल उपस्थित हुनुहुनुहुन्थ्याे । उहाँले अनुभूति अभिव्यक्त गर्ने सबै माध्यम कला भएको उल्लेख गर्दै कलाको प्रदर्शनीय र पाठ्य स्वरूप फरक–फरक हुने धारणा राख्नुभयाे ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै सहप्राध्यापक विमला नेपाल, अनुपमा रेग्मी र सुमन वर्षा घिमिरे ले कृतिमा नारी संवेदना र आमाको जीवन भोगाइ प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयाे ।
समाजका अध्यक्ष तुलसीहरि कोइराला ले पछिल्लो समय लघुकथा लेखनमा सङ्ख्यात्मक वृद्धि सकारात्मक भए पनि गुणात्मक पक्षमा अझ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
नेपालमा वि.सं. २०६० पछि लघुकथा लेखनले उल्लेख्य गति लिएको मानिन्छ। नेपाली लघुकथा विधाको प्रारम्भिक कृतिका रूपमा पूर्णप्रसाद ब्राह्मण को ‘झिल्को’ (२००७), जयनारायण गिरी को ‘कसिङ्गर’ (२००८) र शशिकला शर्मा को ‘उनको सुरुवाल’ (२०१९) उल्लेखनीय मानिन्छन् ।

