साहित्यपोस्ट डट कम

शाश्वत सत्य : सामाजिक यथार्थको काव्यिक प्रतिरूप

शाश्वत सत्य : सामाजिक यथार्थको काव्यिक प्रतिरूप

घनश्याम भण्डारी मूलत: राजनीतिज्ञ हुन् । भण्डारीले देखेको, भोगेको समाज, पात्र र परिवेशलाई उनी कवितामा उतार्न चाहन्छन् र निर्मार्ण गर्न चाहन्छन् आफ्नो काव्यिक साम्राज्य । कवि भण्डारीको २०५९ मा प्रकाशित ‘मडारिएको बादल’ कवितासङ्ग्रहबाट प्रादुर्भाव भएको काव्यिक यात्रा ‘शाश्वत सत्य’सम्म आइपुगेको छ । भण्डारीको हृयमा राजनीतिको कर्णाली कम र कविताको कर्णाली बढी प्रवाहित भएको पाउँछु । राजनीतिज्ञ हुनु र साहित्यप्रति पनि गहिरो अनुराग राख्नु मलाई मन पर्ने उनको सबल पक्ष हो ।

कर्णालीमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा भण्डारीको उपस्थिति साहित्यानुरागीको रूपमा प्रधान र माननीय/मन्त्रीको रूपमा गौण भएको पाउँछु । कला साहित्यप्रति उनको समर्पण अत्यन्तै लोभलाग्दो छ । सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहँदा उनले कला/साहित्य प्रवर्द्धनका लागि कर्णाली प्रज्ञा प्रतिष्ठानको विधेयकदेखि विभिन्न पुरस्कारहरूको स्थापना गर्ने काम गरे ।

‘शाश्वत सत्य’मा कर्णालीका अनाम बस्तीहरूका प्रचुर सम्भावनाका कुरा, अभावका कुरा, पर्यावरणका कुरा, देवभूमि र देवलोकका कुरा, गरिबीका कुरा, भष्ट्राचारका कुरा, विभेद र असमानताका कुरा, कालोबजारी र ठगीका कुरा कविताका पङ्क्तिहरूमा छताछुल्ल पोखिएर आएका छन् ।

किसानको पसिनाले सिञ्चित जमिनलाई कवि जमिन मात्र देख्दैनन् । उनको काव्यिक दृष्टिले त्यो जमिनमा धानका बालाहरू देख्छ र लेख्छन् :

झुलाउनु छ सेरामा धानका लहलह बालाहरू …

(बदलिने छ भैरवी)

कविले कविताका पङ्क्तिहरूमार्फत मुलुक बनाउने उत्कट चाहना अभिव्यक्त गरेका छन् । बेरोजगारीको मूल जरा उखेलेर फाल्नुपर्ने धारणा प्रकट गरेका छन्, तर मुलुक बनेन भन्नु पूर्व हरेक नागरिक आफूतिर फर्किनु पर्ने र कर्तव्यबोध गर्नुपर्ने उद्घोष गर्छन् :

मुलुक बनेन भन्ने सबैतिर छ चासो चिन्ता

भाँच्ने होइन कोही श्रमको एक सिन्का …

(बादलुको माथि)

ढल्दै गरेका पर्यावरणीय धरोहर र जल्दै गरेको प्राकृतिक स्रोत साधनले कविलाई अत्यन्तै उद्वेलित बनाउँछ । प्रकृतिका अनुपम उपहारहरूको संरक्षणमा जवाफदेही हुनु पर्नेहरूप्रति कवि आक्रोश पोख्छन् :

ए ! सत्ताका ठेकेदारहरू हो !

पर्यावरणका अभियान्ताहरू

अग्नि ज्वालाको रूप देखी

किन मौन छौ … ?

(पर्यावरण र प्रकृति)

नेपाली जनजीवनका मधुमय जीवन गाथालाई समृद्ध बनाउने सपना देखाउँदै अवस्था बदल्ने अगुवाको पगरी गुथेर सिंहदरबार छिरेकाहरूको आफ्नै वाचाप्रतिको उदासीनता देखेर कवि प्रश्न गर्छन् :

कहाँ हराए ती

अवस्था बदल्ने सङ्कल्पहरू ?

जीवनस्तर सुधार्ने वाचाहरू ?

उत्पादन र उत्पादकत्त्व वृद्धि गर्ने प्रतिवद्धताहरू … ?

(लाटो बोल्न थाल्यो)

कविताका यी पङ्क्तिहरू पढ्दा फर्केर आएको असार, घन्कीरहेका असारे गीत, अर्नी खाँदा बस्ने खेतका आली, त्यो वालापन र जन्मघर एकाएक हरेक पाठकको आँखामा आउँछन् :

धेरै वर्ष भयो हलो र थातथलो छोडेको

एस.एल.सी. पछि गाउँ छोडेको हुँ

आजसम्म खेतमा टेकेको छैन …

(यो सालको रोपाइँ)

व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीहरूले ज्यानको आहुति दिए । उज्यालो जीवनको खोजीमा हिँडेका हजारौँका सपनाहरू अस्ताए । हिंसा विरुद्धको लडाइँ, कालाबजारी विरुद्धको लडाइँ, घुसखोर विरुद्धको लडाइँ, गरीबी विरुद्धको लगाइँ, बेथिति विरुद्धको लडाइँ, अतिवाद, असहिष्णुता, असमानता, परनिर्भरता र दलीयकरण विरुद्धको लडाइँ अझैँ पनि जारी रहेको उद्घोष गर्छन् :

हाम्रो लडाइँ अतिवाद विरुद्ध थियो

त्यसैले संविधानको प्रस्तावना लेखियो …

(लडाइँ जारी छ)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो । भौतिक विकास भयो । गाउँहरू सुविधासम्पन्न बने । भीमकाय भवनहरू बने तर अझैँ पनि ती गाउँहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । गाउँका अबोध बालबालिका अझैँ पनि दक्ष शिक्षकहरू पर्खिरहेका छन् । राम्रो स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन पर्ने बाध्यात्मक अवस्थासँग साक्षात्कार गरिरहेका कर्णालीका अनाम बस्तीका बिरामीहरू राम्रो स्वास्थ्य सेवा पाउने दिन पर्खिरहेको भाव यसरी व्यक्त गर्छन् :

गाउँमा विद्युत पुग्यो

सडक पुग्यो

पानीको धारो पुग्यो

विद्यालय भवन

अस्पतालको भवन बन्यो

डाक्टर र शिक्षक पुगेनन …

(जनसङ्ख्या र विकास)

जीवन अस्थायी छ । हरेक व्यक्तिको जीवनको सार्थकता उसले छोडेका सकरात्मक पदचाप र डोबहरूमा निर्भर गर्दछ । एकदिन सबैले संसार छोड्नु पर्ने सत्यको उजागर गर्दछन् र भन्छन् जीवनयात्रा सुललित भएर बग्नु पर्दछ :

जीवनयाात्रा चिहानसम्मको हो

जति छिटो हिडे पनि ।

(यात्रा चिहानसम्मको)

मान्छेको जीवन अभावको जगमा उत्साहको सगरमाथातर्फ लम्किरहेको हुन्छ । सबैभन्दा पीडादायक अभाव मातृत्वको अभाव हो । मातृत्वको अभावले जीवनका सबै रङ्हरूलाई निस्तेज बनाउँछ तर पनि मान्छे बाँच्न विवश हुन्छ, प्रकृतिभित्र मातृत्व खोजेर ।

मातृत्वको दुध नपाउँदाको पलमा

प्रकृतिसँग मुस्कुराउन बालापनले सिकायो …

(उत्साहको सगरमाथा चढ्न चाहन्छु)

कविको राजनीतिक दृष्टिकोण हरेक निर्णयमा निरपेक्ष हुन चाहन्छ । समाज रूपान्तरणका नायकहरूलाई स्थापित गर्न खोज्छ तर राजनीतिक निर्णयमा कसै न कसैप्रति सापेक्षित हुने स्थापित नजिरले उनको निर्णयमा कालो धब्बा देख्छ र उनी लेख्छन् :

असल खोज्दा हाम्राहरू रिसाए

कमिसन खाएको आरोप लगाए …

(यस्तो नभन प्रवासी)

कुनै पनि व्यक्तिका लागि सर्वाधिक महत्त्वपूर्ण ऊ आफैँ हो र विश्वासको गहिरो जरा पनि आफूभित्र मात्र गाडिएको हुन्छ । बदलिरहने मौसम जस्तै चारित्रिक विशेषता बोकेर हिड्नेहरू घातक हुन्छन् उक्त घातक प्रवृत्तिमा निहित विश्वास वा भ्रमबाट मुक्त हुन आग्रह गर्छन् :

अब बुझिसकेँ हुँला सायद यो संसारमा

आफूबाहेक

अरू कोही आफ्नो हुदैन

कतै हुजुर भ्रममा हुनुहुन्छ कि अझैँ ?

(मान्छे र दृष्टिकोण)

निराशाको अन्धकारमा रुमलिरहेको मुलुकमा आशाको सञ्चार गरी नयाँदिशा प्रदान गर्ने कविका चाहनाहरू कविताको बाटो भएर आएका छन् । आम नागरिकले उज्यालो भविष्यका लागि देखेका तमाम सपनाहरू साकार पार्ने उद्घोष गर्दछन् :

नागरिक मनको सपना पूरा गर्नु छ

आशाको दियो जगाउनु छ सबैतिर

देशलाई नयाँ युगमा लिएर छिचोल्नु छ …

(मन मिले मित्र बनाऊ)

नवीन यात्राको थालनी गर्ने सपनासहित देशको वैभव र गौरवपूर्ण विरासत क्षीण हुदै गएको, पुरिदै गरेका इतिहासका पदचाप र डोबहरू, मासिदै गरेका साँस्कृति सम्पदाहरू देखेर कवि चिन्तित देखिन्छन् :

खरानी पारेर इतिहास, सम्पदा र वास्तुकला

आगोको लप्कासँगै खोजिरहेछौँ

नयाँ नेपालको भविष्य, गर्दैछौँ कताको यात्रा ?

(यात्रा)

अचेल गाउँमा मागल भेटिदैन, झोडा भेटिदैन, अब त दमाहा र हुड्काहरू पनि भेटिने छैनन् । गर्व छैन कसैलाई आफ्नो परम्परा र विरासतप्रति, उदासीन छ नवपुस्ता आफ्नो संस्कृतिप्रति । आधुनिकताको खोल ओडेको छ र विर्सिदै गएको छ विगत । कविलाई यो विषयले निकै गम्भिर बनाएको छ :

न पहिचान छ न पुस्तेनी सीप

सोची रहेछु यतिखेर

उत्तर आधुनिकता र गणतन्त्रले

छोएको छ मेरो समुदाय र मलाई …

(पुस्तेनी सीप)

पवित्रभूमि नेपाल पौराणिक ऋषिमुनिहरू र वेदका मन्त्रद्रष्टाहरूको तपस्थली हो । पार्वतीको फूलबारी र सीताको माइतिघर यहीँका लेक, खोल्सा, डाँडा र फाँटहरू हुन् । कविता सङ्ग्रहको अन्त्यमा कवि देवलोक र देवभूमिको कुरा गर्छन् । उनको काव्यिक दृष्टिले देवलोक र दैलेखमा समानत देख्छ र लेख्छन् :

देवल, देवलोक अनि दैलेख

महर्षि दधिचिको तपोभूमि

महर्षि धम्या ऋषिको तपोभूमि …

(देवलोक)

समग्रमा कविताहरूको भावभूमि निकै सुन्दर छ । गहिरो छ । कविताले समाजको परम्परागत चेतना र आजको युगको चेतनालाई एकाकार गर्न खोजेका छन् । कविताका पङ्क्तिहरूमा हराउँदै गएको संस्कृतिको मौन अनुगुञ्जन छ । शायद कवि आफैमा राजनीतिज्ञ भएर होला, विकास र समृद्धिको खाका कविताको बाटो भएर आएको छ । कतै कतै ज्यादा वर्णन र विवरणको भारीले कविता थिचिएको महसुस हुन्छ । कविताभित्र चिन्ता र सूचना मिसिएर आएको भान हुन्छ । मलाई विश्वास छ म प्रिय कवि भण्डारीलाई वर्णन, विवरण, चिन्ता र सूचनामुक्त अर्को कवितासङ्ग्रमा भेट्ने छु ।

प्रिय कवि घनश्याम भण्डारीको कलमलाई लाखौँ–लाख चुम्बन !

अस्तु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.