गौरादह झापा निवासी कवि इश्वरा सिवा हाल युएईमा बस्छिन् । नेपाली साहित्यमा कविता विधाका अलावा निबन्ध तथा पत्र पत्रिकामा स्तम्भ लेखन उनको विशेष रूचिको विषय हो । समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा केन्द्रित रहेर उनी निरन्तर राज्य र सत्तालाई खबरदारी गरिरहन्छिन् । उनको साहित्यपोस्ट अनलाइन पत्रिकामा ‘कठघरा भित्र’ स्तम्भमा शृङ्खलाबद्ध रूपमा समसामयिक विषयका दर्जनौ आलेखहरू प्रकाशित छन् । फोटोग्राफी तथा पदयात्रा पनि उनको रूचिको क्षेत्र हो ।
कवि इश्वारा सिवाका कविताहरूमा समकालीन समाज, वर्गीय विभाजन तथा अस्तित्वगत बेचैनीलाई तिखो रूपमा प्रस्तुत गरिएका हुन्छन् । कविको लेखकीय प्रवृत्ति विद्रोही चेतना, सामाजिक विभेदप्रतिको आक्रोश र मानवीय समवेदनाको पक्षधर रूपमा स्पष्ट देखिन्छ । आधुनिकताको जलप लगाएर बसेको सामन्ती मानसिकता लाई धारिलो व्यङ्ग्य प्रहार गर्नु उनको कविताको शक्ति हो । समग्रमा उनका कविताहरू तीक्ष्ण वैचारिकता र अस्तित्ववोधका दस्तावेजहरू हुन् । आजको मुगलानी चराको २७ औँ शृङ्खलामा उनै कवि इश्वरा सिवाका तीनवटा कविताहरू प्रस्तुत गरिएको छ-
१. दुई खुट्टे जनावर
इश्वरा सिवा
यी त स्ट्याचु अफ लिबर्टी जस्तै हुन्,
बाहिरबाट हेर्दा भव्य र आधुनिक,
भित्र भने पुरानो ढुङ्गे युगको लेउ लागेका ।
यिनको खप्परभित्र एउटा सानो कम्प्युटर त छ,
सफ्टवेयर भने त्यही सामन्ती ‘जात’ को चल्छ ।
यिनीहरू पानीको फिल्टर त किन्छन्,
मान्छेको पसिना छिचोल्न सक्दैनन् ।
यिनीहरू चन्द्रमामा पुगेको समाचार पढ्छन्,
छिमेकीको आँगन कुल्चिन परे ‘गोत्र’ को नक्सा हेर्छन् ।
म देख्छु-
एउटा ठूलो होडिङ बोर्डमा लेखिएको छ;
“सबै मानिस समान हुन्”
त्यही बोर्डमुनि उभिएर यो दुई खुट्टे जनावर
आफ्नो थरको पुच्छर हल्लाउँदै
अर्को मान्छेको रगतको वर्ण ‘चेक’ गरिरहेको हुन्छ ।
कस्तो अचम्मको जीव !
जसलाई रगतको ए-पजेटिभ र बी-नेगेटिभ त चल्छ,
एउटै माटोको मान्छे चल्दैन ।
यिनीहरू त मसानघाट पुग्दा पनि
आफ्नो खरानीको हाइट नाप्न खोज्छन् होला,
र, त्यहाँ पनि सोध्छन् होला-
“ए दाजु, यो छेउको चिता कुन जातको हो ?”
***
२. कस्तुरीको कसाईखाना
हामी त कस्तुरी हौँ
आफ्नै नाभिको बास्नासँग अपरिचित,
र अर्कैको मरुभूमिमा मृगतृष्णा खेदिरहेका ।
हाम्रा श्वासहरू ती बन्दी चराहरू हुन्,
जसका पखेटा शासकको टेबलमा थुनिएका छन्,
जो मुग्ध छन् तिनैले दान दिएको हावामा ।
समुद्रपारि कसैले नाफाको सलाई कोर्छ,
उता हाम्रा आमाहरूको ओभानो हुन नपाएको आँखा डढ्छ ।
त्यहाँ कसैको ग्राफ अलिकति उक्लिँदा
यहाँ हाम्रा बाकसमा अटाउने आयुहरू अलिकति छोटिन्छन् ।
हामी त साहुको साँचोले ब्युँझिने पुराना मुडाहरू न हौँ
जसलाई जाडो हुँदा उनीहरूले दन्काउँछन्,
र खरानी भएपछि खुट्टाको धुलो पुछेर अघि बढ्छन् ।
हाम्रो औकात ती अर्कैको अधिनमा रहेका भारीहरू हुन्,
जसलाई बिसाउने चौतारी पनि छैन,
जसका नाम्लोहरू अर्कैको जुठो पसिनाले गन्हाउँछन् ।
यो सहर, यो चमक, यो परदेश
एउटा ठूलो कसाईखानाको रङ्गीन गेट मात्रै त हो ।
हामी त तयारी चाउचाउ जस्ता गाँस हौँ
कसैको भोकको सिकार हुनका लागि ।
ओठहरू त तिनका मात्र जुर्मुराउँछन्
जसको पेटमा आफ्नै माटोको अन्न छ
हामीले त अर्कैको नुन पिएका छौँ
जसले हाम्रा खुनलाई बिस्तारै पानी बनाइरहेछ ।
हामी बाँचिरहेका छौँ
काठका ती बाकसहरूको प्रतीक्षामा,
जहाँ हाम्रा अन्तिम श्वास पुगेपछि
त्यसको भन्सार पनि तिनै मुठ्ठीभर जल्लादहरूले काट्नेछन्
र, हाम्रै खरानीको भुङ्ग्रोमाथि उभिएर
फेरि नयाँ नाफाको सलाई कोर्नेछन् ।
***
३. अपराध
तेरा हरेक सपनाहरूको
बीभत्स हत्या गरी
निष्फिक्री..
निस्पट्ट अन्धकारतर्फ
बेसुरले भागिरहेको ,
एक गुमनाम अपराधी हुँ म ।
आज समयको कठ्घरामा
तेरै अघि उभिएर..
तँलाई नै सोध्दैछु ,
भन, ए लाचार जिन्दगी !
तँ मलाई के सजाय दिन्छस् ?

