साहित्यपोस्ट डट कम

शरद पोख्रेलको मुगलानी चरा शृङ्खला २७

शरद पोख्रेलको मुगलानी चरा शृङ्खला २७

गौरादह झापा निवासी कवि इश्वरा सिवा हाल युएईमा बस्छिन् । नेपाली साहित्यमा कविता विधाका अलावा निबन्ध तथा पत्र पत्रिकामा स्तम्भ लेखन उनको विशेष रूचिको विषय हो । समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा केन्द्रित रहेर उनी निरन्तर राज्य र सत्तालाई खबरदारी गरिरहन्छिन् । उनको साहित्यपोस्ट अनलाइन पत्रिकामा ‘कठघरा भित्र’ स्तम्भमा शृङ्खलाबद्ध रूपमा समसामयिक विषयका दर्जनौ आलेखहरू प्रकाशित छन् । फोटोग्राफी तथा पदयात्रा पनि उनको रूचिको क्षेत्र हो ।

कवि इश्वारा सिवाका कविताहरूमा समकालीन समाज, वर्गीय विभाजन तथा अस्तित्वगत बेचैनीलाई तिखो रूपमा प्रस्तुत गरिएका हुन्छन् । कविको लेखकीय प्रवृत्ति विद्रोही चेतना, सामाजिक विभेदप्रतिको आक्रोश र मानवीय समवेदनाको पक्षधर रूपमा स्पष्ट देखिन्छ । आधुनिकताको जलप लगाएर बसेको सामन्ती मानसिकता लाई धारिलो व्यङ्ग्य प्रहार गर्नु उनको कविताको शक्ति हो । समग्रमा उनका कविताहरू तीक्ष्ण वैचारिकता र अस्तित्ववोधका दस्तावेजहरू हुन् । आजको मुगलानी चराको २७ औँ शृङ्खलामा उनै कवि इश्वरा सिवाका तीनवटा कविताहरू प्रस्तुत गरिएको छ-

१. दुई खुट्टे जनावर

इश्वरा सिवा

यी त स्ट्याचु अफ लिबर्टी जस्तै हुन्,

बाहिरबाट हेर्दा भव्य र आधुनिक,

भित्र भने पुरानो ढुङ्गे युगको लेउ लागेका ।

यिनको खप्परभित्र एउटा सानो कम्प्युटर त छ,

सफ्टवेयर भने त्यही सामन्ती ‘जात’ को चल्छ ।

यिनीहरू पानीको फिल्टर त किन्छन्,

मान्छेको पसिना छिचोल्न सक्दैनन् ।

यिनीहरू चन्द्रमामा पुगेको समाचार पढ्छन्,

छिमेकीको आँगन कुल्चिन परे ‘गोत्र’ को नक्सा हेर्छन् ।

म देख्छु-

एउटा ठूलो होडिङ बोर्डमा लेखिएको छ;

“सबै मानिस समान हुन्”

त्यही बोर्डमुनि उभिएर यो दुई खुट्टे जनावर

आफ्नो थरको पुच्छर हल्लाउँदै

अर्को मान्छेको रगतको वर्ण ‘चेक’ गरिरहेको हुन्छ ।

कस्तो अचम्मको जीव !

जसलाई रगतको ए-पजेटिभ र बी-नेगेटिभ त चल्छ,

एउटै माटोको मान्छे चल्दैन ।

यिनीहरू त मसानघाट पुग्दा पनि

आफ्नो खरानीको हाइट नाप्न खोज्छन् होला,

र, त्यहाँ पनि सोध्छन् होला-

“ए दाजु, यो छेउको चिता कुन जातको हो ?”

***

२. कस्तुरीको कसाईखाना

हामी त कस्तुरी हौँ

आफ्नै नाभिको बास्नासँग अपरिचित,

र अर्कैको मरुभूमिमा मृगतृष्णा खेदिरहेका ।

हाम्रा श्वासहरू ती बन्दी चराहरू हुन्,

जसका पखेटा शासकको टेबलमा थुनिएका छन्,

जो मुग्ध छन् तिनैले दान दिएको हावामा ।

समुद्रपारि कसैले नाफाको सलाई कोर्छ,

उता हाम्रा आमाहरूको ओभानो हुन नपाएको आँखा डढ्छ ।

त्यहाँ कसैको ग्राफ अलिकति उक्लिँदा

यहाँ हाम्रा बाकसमा अटाउने आयुहरू अलिकति छोटिन्छन् ।

हामी त साहुको साँचोले ब्युँझिने पुराना मुडाहरू न हौँ

जसलाई जाडो हुँदा उनीहरूले दन्काउँछन्,

र खरानी भएपछि खुट्टाको धुलो पुछेर अघि बढ्छन् ।

हाम्रो औकात ती अर्कैको अधिनमा रहेका भारीहरू हुन्,

जसलाई बिसाउने चौतारी पनि छैन,

जसका नाम्लोहरू अर्कैको जुठो पसिनाले गन्हाउँछन् ।

यो सहर, यो चमक, यो परदेश

एउटा ठूलो कसाईखानाको रङ्गीन गेट मात्रै त हो ।

हामी त तयारी चाउचाउ जस्ता गाँस हौँ

कसैको भोकको सिकार हुनका लागि ।

ओठहरू त तिनका मात्र जुर्मुराउँछन्

जसको पेटमा आफ्नै माटोको अन्न छ

हामीले त अर्कैको नुन पिएका छौँ

जसले हाम्रा खुनलाई बिस्तारै पानी बनाइरहेछ ।

हामी बाँचिरहेका छौँ

काठका ती बाकसहरूको प्रतीक्षामा,

जहाँ हाम्रा अन्तिम श्वास पुगेपछि

त्यसको भन्सार पनि तिनै मुठ्ठीभर जल्लादहरूले काट्नेछन्

र, हाम्रै खरानीको भुङ्ग्रोमाथि उभिएर

फेरि नयाँ नाफाको सलाई कोर्नेछन् ।

***

३. अपराध

तेरा हरेक सपनाहरूको

बीभत्स हत्या गरी

निष्फिक्री..

निस्पट्ट अन्धकारतर्फ

बेसुरले भागिरहेको ,

एक गुमनाम अपराधी हुँ म ।

आज समयको कठ्घरामा

तेरै अघि उभिएर..

तँलाई नै सोध्दैछु ,

भन, ए लाचार जिन्दगी !

तँ मलाई के सजाय दिन्छस् ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.