कवि म्यामराज राई भोजपुर जिल्ला हतुवागढीका स्थायी बासिन्दा हुन् । बिगत १२ वर्षदेखि जापानमा अध्ययन र कर्म गरिरहेका राई नेपाली भाषा र साहित्यमा निकै गहिरो अनुराग राख्दछन् । म्यामराज राईको नाम नेपाली लघुकथामा परिचित छ । उनको २०७९ मा ‘हाम्रो बाटो’ र २०८१ मा ‘बुन्छत’ लघुकथासंग्रह प्रकाशित भैसकेका छन् भने ‘महक टुक्का‘ कवितासंग्रह पनि प्रकाशित छ ।
कवि राई स्पष्ट रूपमा सामाजिक यथार्थ, सांस्कृतिक चेतना र वैचारिक राजनीतिका सशक्त स्रष्टा हुन् । ग्रामीण जीवन, परिवार, प्रवास, समुदाय र विद्यमान नेपाली राजनीतिप्रतिको गहिरो सरोकार उनको लेखनको मूल आधार हो । सुन्दर र मौलिक बिम्ब र प्रतीकको प्रयोग गरी समकालीन समाजको विसङ्गति उजागर गर्नु उनको खुबी हो । उनका कवितामा किराँत सभ्यता र मौलिक संस्कृतिप्रतिको गौरव र संरक्षणको चेतना पनि उतिकै रूपमा प्रकट भएका हुन्छन् । उनका कविताहरू पहिचान र संस्कृतिका संगम हुन् जहाँ कवि एकै साथ समाजको आलोचक , सचेत आवाज र परम्पराको संवाहकका रूपमा प्रस्तुत हुन्छन् । आज मुगलानी चराको यस १९औँ शृङ्खलामा हामी उनै कवि म्यामराज राईका तीन वटा निकै सुन्दर कविताहरू प्रस्तुत गर्दैछौँ ।
म्यामराज राई
१. सकली र नकली मजदुर —
केही दशकअघि
बाजेले ताछिराखेका केही थान हलो र जुवा
बज्यैले बाटेका केही थान जोतारो
फारो गर्दै
सालिन्दाझैँ बुवाले मर्मत गरे – सोइला, अनौ, हरिस, नारा
घरबारी जोत्न ।
आमा एकाबिहानै सोतर फाली
कुँडो खुवाउन थालिन् हलगोरु
सहर बसेका छोरा र छोरी लागे
आमाबुवाको खटनमा
पोहोर साल साँचेको खोसेलो
माचको पराल, टाँकीको घाँस
हलगोरुलाई खुवाउन ।
बुवाले नारे हलगोरु
छोराले मोबाइल क्यामेरा तेर्साउँदै भन्यो–
‘मैले जोत्ने तपाईॅंले खिच्ने ल ।’
बुवाले खिचिदिएका फोटोहरू फेसबुकमा राख्छन् छोरा
र लेख्छन्– ‘मजदुर दिवसको शुभकामना ।’
छोरीको डल्लो फोर्दै गरेको टिकटक भिडियो
खिचिदिएछन् आमाले,
उसै गरी पोष्ट गरिन् फेसबुकमा
र लेखिन्– ‘म एक मजदुर हुँ, शुभकामना छ है ।’
छोरा र छोरी दुवैजना
गलफती गरे करिब एक घण्टा,
अब हिँडे गाउँमा आफ्नै समकालीन खोज्दै ।
बुवाआमाले भन्दै थिए एकै स्वरमा
‘शङ्का त थियो–
हलो जोत्छु भन्ने छोरा
र डल्लो फोर्छु भन्ने छोरीमा ।’
मेरो देशमा
असी प्रतिशत बुवाआमाले
न मजदुर दिवस कुर्नुपर्छ
न त प्रमाणका लागि फोटो र भिडियो ।
समयसँगै आफूले आफैँलाई जोतिरहन्छन्
दिवस मनाउने तिनै सन्तानका लागि ।
* * *
२. विभीषणहरू—
मैले सोचेको थिएँ-
कसैले राम्रो झोला दियो
स्विकार्यौ तिमीले
जबसम्म तिमी टेक्ने माटोको सुगन्धित नाम दिइरहे
खुसीको पोको खोलिरहे
विश्वासको रङ्ग पोतिरहे
सभ्यताको सम्मान गरिरहे
तबसम्म भिरिरह्यो ।
पानी पॅंधेरो बने हाम्रा आँगनहरू
देउरालीमा ढुङ्गाहरू थुप्रिएझैँ
तिम्रा वचनहरू सिकुवाभरि थुप्रिए
कसम खायौ
हाम्रो आँगनमा हामी डुल्ने
हाम्रो माटोमा हामी नै फुल्ने
त्यही सार्थक रूप देख्न
तिम्रो कसममा बली चढ्यौँ
हामीले हामीलाई नै मगमगाउने आकार देख्यौँ
सदियौँदेखिको सपना साकार भएको ठान्यौँ ।
तिमी एउटा मियो बनेपछि
गलत ठहरियो मेरो सोच
हाम्रो समुदायबाट मेरोमा झर्यो
तिमीलाई याद छ ?
जहाँ तिम्रा पैतालाका डोबहरू अझै आलै छन्
भाँडाकुटी खेल्दा निस्केका कलिला तिम्रा आवाजहरूले तिमीलाई नै पर्खिरहेछन्
भविष्यमा के बन्ने ? भन्ने प्रश्नमा
जबाफ थियो तिम्रो – असल मान्छे ।
हो, त्यो असल मान्छेको खोजीमा
दशकौँदेखि तिम्रै समुदाय भौँतारिरहेछ ।
त्यो झोलाले तिमीलाई दोबाटोको मादल बनायो
माथिकाले मनपरी बजाउने
जति मादल भएर बज्छौ
त्यति नै हाम्रो समुदाय पछाडि धकेलिॅंदै जान्छ
त्यति नै हाम्रो संस्कार मिचिन्छ
बोली थुनिन्छ
बाटो छेकिन्छ
दरसन्तानको भविष्य परदेशिन्छ ।
आफैँ भन,
माटोको नायक बन्ने कि नोकर ?
मालिक कि माली ?
चालक कि यात्रु ?
सम्मानित कि अपमानित ?
मर्जी तिम्रो ।
लाग्थ्यो, यस्तो सोध्ने दिन नआओस्
विडम्बना !
ओ परदेशका पाँच वर्षे जागिरेहरू !
खाल्डोमा कोटा थिएन र, आएका हौ ?
विभीषण बनेर
शत्रुलाई जिताउन
आफ्नै नाभि गाडिएको माटोलाई गिज्याउन
मालिकको इजार चुँडिएपछि
कहाँ लुक्छौ ?
अवसरवादको अवतारमा लम्पसारवादी भयौ
आफ्नो समुदायको छातीमा लात हान्यौ
आफ्नै अनुहारमा कालो पोत्यौ ।
ए, विभीषणहरू हो !
के जबाफ दिन्छौ यलम्बरलाई ?
कसरी मुख देखाउॅंछौ तिम्रै समुदायमा ?
* * *
३. पारुहाङ्- सुम्निमाको प्रसाद:
माथमा फेटा गुथेर
कम्मरमा खुकुरी भिरेको पारुहाङ्
र, खुर्पी भिरेकी सुम्निमा
सोलोन्वा भरिरहन्छन्
सगुन अझै चाहिन्छ भनेर अदुवा चपाइरहन्छन्
कसैको आँखा नलागोस् भनेर
जति जति अगाडि बढ्छन् दरसन्तान
बाटो चोख्याइदिन्छन् सोलोन्वाले
पर्साइदिन्छन् ढुटिएको अदुवाले
प्रेमिल सम्बन्धमा
प्रेमको दीर्घायु बनाउन
विश्वास र भरोसाका रक्तकोषिकाहरू
आदिम जङ्गलमा फुलेका
बेत बाँसको रेसामा घोलेर
पारुहाङ्- सुम्निमाले बुनेका हुन् – बुन्छत
भिर्छन् प्रसाद स्वरूप
दायाँ या बायाँ छातीमा
या घाँटी,
कानमा
भिराउॅंछन् उसै गरी हरजोडीलाई बुन्छत
प्रिय मान्छे
आँखाअगाडि घुमिरहोस् भनेर
जसरी बुन्छतमा रेसाहरू अनवरत घुमिरहन्छन्
हो,
बुन्छत आदानप्रदान गरेर न हो
खुवालुङ्बाट बाटो नाप्ने पैतालाहरूमा
एकार्कामा समर्पित युगलहरू
किराँत सभ्यता र भूमिमा
युगौँयुग बाँच्छन्,
बाँचिरहन्छन् मुनामदन भएर ।
* * *

