साहित्यपोस्ट डट कम

शरद पोख्रेलको मुगलानी चरा

शरद पोख्रेलको मुगलानी चरा

सुजाता शर्मा बिगत १२ वर्षदेखि जापानको टोकियोलाई कर्मथलो बनाउँदै आइरहेकी कवि हुन् । बाग्लुङ जिल्लामा जन्मिएकी कवि शर्माले बालकुमारी कलेज चितवनबाट एम.एड् सम्मको औपचारिक अध्ययन पूरा गरेकी छिन् । हाल जापानमा श्रीमान् र दुई सन्तानका साथमा जीवन यापन गरिरहेकी सुजाता शर्मा टोकियो आसपासमा हुने साहित्यिक जमघटहरूमा आफूलाई सामेल गराइरहन्छिन् र घरदेश र आफन्तहरूको सम्झना कवितामा पोखिरहन्छिन् । साहित्यिक चौतारी जापानको उपाध्यक्ष समेत रहेकी सुजाता शर्माको कलम कविताका अलावा गजल, मुक्तक अनि हाइकुहरूमा पनि उत्तिकै सक्रिय रहेको छ ।

कवि सुजाता शर्मा निकै समवेदनशील कवि हुन् । स्मृतिपरक कविता लेख्न रुचाउने शर्मा प्रकृतिसँग भावनात्मक सम्बन्ध गाँस्न पनि रुचाउँछिन् । कवितामा बाल्यकाल, परिवार, आत्मसम्मान र प्रवासी अनुभवहरू स्मृतिहरू गहिरो गरी अभिव्यक्त भएका देखिन्छन् । प्रकृतिका बिम्बहरूले कविता सजाउने कवि सुजाता शर्मा कोमल तथा चित्रात्मक भाषा शैलीले व्यक्तिगत अनुभवलाई व्यापक मानवीय समवेदनामा रूपान्तरण गर्न सफल देखिन्छिन् । मुगलानी चराको आजको शृङ्खलामा हामी उनका तीनवटा कविता प्रस्तुत गर्दैछौँ ।

तरङ्गले बोकेको मेरो नाम

समुद्रको तटमा बसेर

म आफैँसँग हारेर टोलाउँछु ।

एक्लो पंक्षीझैँ,

उड्ने साहस छ,

तर छातीमा

स्मृतिको भारी छ ।

छाल आउँछ,

छाल फर्किन्छ,

त्यही तरङ्गसँग

मेरो गाउँ आइपुग्छ ।

धुलाम्मे बाटो,

नाङ्गा खुट्टाले हिँडेको

निष्कलुष बाल्यकाल ।

बाबाका चर्केका खुट्टा

सपनाभन्दा पहिला

भोक चिनेका पैताला,

आमाको मलिन अनुहार

हाँसो भन्दा

चिन्ताले बसोबास गरेको घर ।

फाटेको पछ्यौरी भित्र

आकाश ओढेर सुतेका रातहरू,

अभाव थियो,

तर आत्मसम्मान

कहिल्यै भिख बनेन ।

र म,

ती सबै पीडा बोकेर

परदेशको किनारमा उभिएकी,

छालसँग सपना छोड्छु,

तर तरङ्गले

मेरो नाम

फेरि छातीमै राखिदिन्छ ।

सायद,

संघर्षकै गर्जनले

एक दिन

मेरो भविष्य बोल्नेछ ।

. . . .

मौन चित्र

नबोलेका पीडाले

कोरिएको मौन चित्र म हुँ ।

जहाँ शब्दहरू छन्,

तर बोल्ने साहस छैन ।

मेरो मौनमा

बाबाको पसिना थन्किएको छ,

दिनभरि घामसँग लडेर

राति चुपचाप सुत्ने

एक श्रमिकको जीवन ।

मेरो मौनमा

आमाको त्याग लुकेको छ,

आफ्नो भोक छोपेर

सन्तानको पेट भर्ने

ममताको इतिहास ।

हाम्रो घर

अभावले बनेको थियो,

तर आत्मसम्मानले उभिएको थियो ।

फाटेको पछ्यौरीभित्र

सपना थिए,

आकाश सानो थियो,

तर आँखा ठूला थिए ।

म बोल्दिनँ,

किनकि यहाँ

सत्य बोल्नेहरू

पहिले थाक्छन् ।

मेरो मौन

हार होइन,

यो त

संघर्षको गहिरो

स्वीकारोक्ति हो ।

. . . .

क्षितिज पारिको अँगालो

आकाशले धर्तीलाई

टाढैबाट अँगालो हाले झैँ,

म पनि तिमीलाई

प्रकृतिको निस्सीम नीरवताभित्र

अनवरत स्मरण गरिरहन्छु ।

क्षितिजको रेखामा

आकाश र धर्ती

एकाकार भएझैँ देखिन्छन्,

त्यसरी नै

मेरो चेतनाका प्रत्येक स्पन्दनमा

तिम्रो उपस्थितिको आभा

सधैँ उज्यालो बनेर बसिरहन्छ

प्रभातको स्वर्णिम किरणले

हिमालका शिखरलाई

मृदुल स्नेहले स्पर्श गरेझैँ,

तिम्रो सम्झनाले

मेरो अन्तर मनमा

कोमल ताप बिथोलिरहन्छ ।

बसन्तको आगमनसँगै

वन–उपवनका कलीहरू

आफ्नो मौन भाषा खोल्छन्,

र सुगन्धका लहरमा

प्रेमका अनकथित कथाहरू

बिस्तारै प्रस्फुटित हुन्छन् ।

त्यसरी नै

तिम्रो नामको स्मरणले

मेरो हृदयमा

नव–नव भावनाका फूलहरू

अकस्मात् फुलाइदिन्छ ।

कहिलेकाहीँ

हावाको मृदुल स्पर्शमा

मलाई यस्तो लाग्छ

मानौँ प्रकृतिले नै

तिम्रो स्नेह बोकेर

मेरो वरिपरि

मधुर लहरहरू फैलाइरहेकी छ ।

किनकि प्रेम

केवल शब्दमा बाँधिने अनुभूति होइन,

यो त आत्मा र अस्तित्वबीच

गुन्थिएको

एक शाश्वत आलोक हो ।

जसरी आकाश

धर्तीलाई टाढैबाट पनि

आफ्नो अनन्त विस्तारले ओढाइरहन्छ,

त्यसरी नै

मेरो प्रेम पनि

तिम्रो जीवनको क्षितिजमा

निश्छल, निःस्वार्थ

अमर अँगालो बनेर

सदैव फैलिरहनेछ ।

. . . .

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.