साहित्यपोस्ट डट कम

शरद पोख्रेलको मुगलानी चरा

शरद पोख्रेलको मुगलानी चरा

स्याङ्जा फेदिखोलामा जन्मिएका मुक्तककार के.बी. पारखी पछिल्लो एक दशकदेखि जापानमा क्रियाशील छन् । जापानजस्तो अत्यन्तै व्यस्त जीवनशैली भएको देशमा आफ्नो आर्थिक उपार्जनको कर्मसँगै साहित्य कर्मलाई पनि सँगसँगै डोराउनु निकै चुनौतिपूर्ण छ । व्यस्तताको बीचमा पनि मुक्तककार पारखीको साहित्यिक सक्रियता निकै लोभलाग्दो छ । टोकियोमा आयोजना हुने विभिन्न संघ संस्थाका साहित्यिक कार्यक्रमहरूमा उनी प्रायः पुगिरहन्छन् र आफ्ना मुक्तकहरू सुनाइरहन्छन् । मुख्य विधाका रूपमा नेपाली मुक्तकलाई अगाडि बढाएका पारखी कविता पनि लेख्ने गर्छन् । २०७९ मा उनको ‘मनको मन्दिर’ मुक्तकसंग्रह प्रकाशित भैसकेको छ ।

मुक्तकको मानक स्वरूपलाई अघि बढाउन लागिपरेका पारखी मुक्तक लेखनका सन्दर्भमा भन्छन् – “मुक्तक लेखन मेरो ध्यान हो, साधना हो, सन्तुष्टि हो । नेपाली मुक्तक विधाको संरक्षण, सम्बर्द्धन र उन्नयनको लागि सदैव लागिपर्ने प्रण गर्दछु ।”

मुक्तककार के.बी. पारखी नैतिक चेतना, सामाजिक यथार्थ र आत्मानुशासनलाई मूल आधार बनाउने स्रष्टा हुन् । सरल र सरस भाषा शैलीमा बान्की मिलेका चोटिला मुक्तक लेख्ने पारखीका मुक्तकहरूमा व्यंग्य र चेतनाको सुन्दर सन्तुलन रहने गर्छ । चतुष्पदीय संरचनामै पनि जीवनदर्शन बोकेका गहिरा र प्रभावकारी सन्देश दिनु उनको विशेषता हो । जापानमा रहेर मुक्तक लेखनमा अहोरात्र खटिएका उनै के.बी. पारखीका चारवटा मुक्तकहरू आजको मुगलानी चराको १३ औँ शृङ्खलामा प्रस्तुत गरेका छौँ ।

मुक्तक १.

धर्ती आकाश अनि जुन कहिल्यै बिर्सनु हुँदैन

नैतिकताले दिएको कानून कहिल्यै बिर्सनु हुँदैन

मानिस जतिसुकै सगरमाथाको उचाइ चढे पनि ,

खाएको नून र लगाएको गुन कहिल्यै बिर्सनु हुँदैन ।

मुक्तक २.

सबैलाई खुशी बनाउन सक्दिनँ, अधिक चाहा गर्छन् अचम्म पर्छु

तेरो जस्तो जिन्दगी पो जिन्दगी भन्दै आहा गर्छन् अचम्म पर्छु

हिजो चारै दिशा प्रगति होस् भन्दै आशीर्वाद दिनेहरूले

दुर्भाग्य ! मैरै प्रगति देख्नासाथ डाहा गर्छन् अचम्म पर्छु ।

मुक्तक ३.

आयो, के लछारपाटो लायो, भित्तामा फोटो टाँसेर गयो

आफ्नै दुनो सोझायो, टन्न अघायो, ढुकुटी मासेर गयो

कानै चिरेका जोगीहरू, लोभी, पापी सत्ताका भोगीहरू

आफ्नै गान गायो, आसेपासे रिझायो, फिस्स हाँसेर गयो ।

मुक्तक ४.

बलेको आगो ताप्ने चिसो मुटु नछाम्ने यस्तै रोस भन्छु

छातीमा भाला रोपेर पनि मुस्कान छर्ने मेरै दोष भन्छु

वल्लो पल्लो पाटो जतिसुकै मेरै खेदो खन्नेहरूको

राम राम ! यो मनले सधैँभरि यिनकै भलो होस भन्छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.