साहित्यपोस्ट डट कम

शरद पोख्रेलको मुगलानी चरा

शरद पोख्रेलको मुगलानी चरा

रसुवा जिल्लामा जन्मेका कवि सुविन न्यौपाने कान्जीभाइ बिगत ५ वर्षदेखि जापानमा छन् । नेपालका हिमाली भेगमा पर्यटकहरूलाई घुमाउँदै यायावरी जीवन बाँचिरहेका न्यौपानेलाई कुनै घुम्तीमा पुगेपछि लाग्यो यसरी मात्रै जीवन चल्दैन । स्नातकसम्म नेपालमै अध्ययन गरेका सुविन त्यसपछिको बाँकी अध्ययन र कर्म गर्न जापान प्रवेश गरे । जापानको सांस्कृतिक राजधानी क्योतोमा बसिरहेका सुविन पत्रकारितामा पनि उत्तिकै चासो राख्छन् र सक्रिय पनि छन् । अनेसास जापान र एनआरएनए जापानसँग पनि जोडिएर साहित्यिक र सामाजिक काममा पनि उत्तिकै लागिपर्छन् उनी । कविताबाहेक संस्मरण, नियात्रा लेखनमा पनि उनको विशेष रुचि छ । ‘कमरेडको जनै’ उनको पहिलो प्रकाशित कवितासंग्रह हो ।

उनी आफ्ना कविताहरूमा सामाजिक यथार्थ प्रस्तुत गर्दै कठोर रूपमा आलोचना गर्छन् । समसामयिक राजनीति र पितृसत्तात्मक हिंसालाई निर्भीक रूममा प्रस्तुत गर्छन् । उनका पछिल्ला कविताहरूमा देश प्रेम, परिवार र सम्बन्धको स्मृति जोडिएर आउँछ । व्यंग्य, आक्रोश र करुणा उनका कवितामा पाइने साझा विशेषताहरू हुन् । ग्रामीण अझै विशेष गरी पहाडी जीवनशैलीका विम्बहरूलाई टपक्क टिपेर आफ्ना कविताहरूमा सजाउने कवि कान्जिभाइका कविताहरू कोरा करुणा र सामान्य भावनाले मात्रै होइन विचार र प्रतिरोधले भरिएका छन् ।

मुगलानी चराको नवौँ शृङ्खलामा हामी उनी रसुवाली कवि सुविन न्यौपाने कान्जीभाइका तीनवटा कविता प्रस्तुत गर्दैछौँ ।

१.

वडाध्यक्षको सेल्फी –

भ्रमले सुमसुम्याएर कमलो हृदय

अपेक्षाको बनाएर ठूलै फाइल

खिचेको हो उसले फेल्फी

र जितेको हो वडा अध्यक्षको पद !!

कहिल्यै मोबाइल नदेखेका गाँउलेको

उसले खिचेको थियो

मोबाइलबाट सेल्फी !!

भनेकै हो

हजुरको छोरोलाई काठमाडौंमा

छात्रवृत्ति दिएर पढाइदिन्छु भनेर

कसम खाएको नै हो

तपाईंको छोरीलाई पौढ शिक्षा पार्दिन्छु भनेर !!

भनेकै हो

आगनबाट कुद्ने छ समृद्धिको गाडी भनेर !!

उसले खिचेको थियो

खानेपानी मुहानमा मीठो पानीको सेल्फी

गरेको थियो खानेपानी हाकिमलाई फोन

योजना पार्दिन्छु नभनेको पनि होइन !!

भनेका थिए

चैतको खडेरीमा पनि फल्ने छ हरियो गहुँको बाला !!

आजकाल वडा अध्यक्ष

ओप्पो मोबाईल बोकेर

सेल्फी खिच्न पुग्दैनन् गाउँ-गाउँ ।

आफ्नै कार्यलयमा

कार्यकर्तासँक खिच्छन् सेल्फी

र पोस्टाउँछन् फेसबुकभरी !!

आजकाल उनको सेल्फी फेरिएको छ

ठेकेदारसँग हुन्छ उनको सेल्फी

नेतासँग हुन्छ उनको सेल्फी

हाकिमसँग हुन्छ उनको सेल्फी !!

खिचिहाले पनि उनको सेल्फी फरक छ

अस्ति उनले सेल्फी खिचेर पठाएको

मानबहादुरको गर्भवती बुढी

शहर पुग्न नपाई फर्किछन् घाटसम्म !!!

केही दिनअघि

बिर्खे दाइको छोरीसँग

अँगालो मारेक सेल्फी

फेसबुकमा हालेछन्

हिजो भर्खर उनको लाश

बगरमा भेटियो !!

आजकाल वडाध्यक्षको सेल्फी फेरिएको छ !!

= = =

२.

म कुमारी होइन –

बिहेको मध्य रात

तिमी मेरो नजिक आउँदै गर्दा

मैले भन्नै पर्ने हुन्छ

म कुमारी होइन भनेर ।।

पहिलोचोटि

आठ वर्षको उमेरमै

नयाँ कपडा देखाउँदै

लगाइदिँदै ,फुकालिदिँदै

मेरै बाबाले लुटेका हुन् मेरो अस्तित्व ।।

र त्यसपछि धेरै चोटि लुटिएको छु म

सरले पढाउने बाहानामा

साहुले जागीर लगाउने बाहानामा

हाकिमले सिफारिसको बाहानामा

नेताले अवसरको बाहानामा

मुखियाले लिलामीको बाहानामा ।

मलाई धेरै चोटि धेरैले लुटेका छन्

यति हुदा हुँदै पनि

के तिमी मलाई स्वीकार गर्न सक्छौ ?

‍‍‍= = =

३.

म छुटेँ —

जीवनको यात्रा कता पुग्यो कता

म भने उतै छुटेँ !!

क्रान्तिका मोर्चाहरूबाट छुटेँ !!

प्रेमिकाको न्यानो अङ्गालोहरूबाट छुटेँ !!

गुम्बाको त्यो सुन्दर चिया बिहानीबाट छुटेँ !!

आँखा नछुटे पनि सपना छुट्यो

सिप्ल्लिगान र कोइरालाको अचार गाउँमै छुट्यो

आमाको काखबाट छुटेँ

बालापनमा झुन्डिने

बाबाको पाखुरीबाट छुटेँ !!

छुटेँ !

गोधुली साँझ बोकेर आउने झ्याउकिरीको

टरटर-टरटर आवाजबाट !!

पारिपाखाको पानीअमलाको स्वादबाट छुटेँ

गोठालोमा चोरी खाने

घाँटी कोक्काउने पिडालुबाट छुटेँ !!

बाली चोर्न गएका बाख्रा उतै छुटे !

सिमखेतको घाँसे जिन्दगीबाट छुटे !!

छुटेँ कहिल्यै छुट्दैन भन्ने अंग्गालोबाट !!

लालिगुराँसको थुङ्गा टिप्ने हात उतै छुटे

उतै छुटे सल्लेपिरमा चिप्लने बालापनको जिन्दगी !!

तिमीसँगै डुलेका देउरालीहरू उतै छुटे

उतै छुटे चिप्लेटिमा चिप्लिएका यादहरू !!

भुटेको मकै र मुलाको सागको स्वादबाट छुटे !

उतै छुट्यो मोही पार्ने ठेकी र मदानीको घ्यू !

कुटुलिकोसा भुटेर खाने हाडी उतै छुटे

गेडुल्लो र खनायोको स्वादबाट छुटे

उतै छुटे अम्बा र अमारो टोकेका यादहरू !

ऐसोलु र चुत्रोको स्वादबाट छुटे ! !

अर्चलको पातको स्वादबाट छुटे !!

भलायो र क्यामुनोको दानै उतै छुटे !

उतै छुटे कट्टुसको दाना फोर्ने ढुङ्गाहरू!!

छुट्न नहुने धेरै कुराहरुबाट छुटेँ

म देशको न्यानो अँगालोबाट छुटेँ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.