साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

शरद पोखरेलको 'मुगलानी चरा'मा आर्यशका कविता

शरद पोखरेलको 'मुगलानी चरा'मा आर्यशका कविता

ललितपुर लेले निवासी कवि आर्यश पछिल्ला केही वर्ष यता पोल्यान्डमा कार्यरत छन् । स्नातकोत्तरसम्म औपचारिक अध्ययन गरेर विभिन्न संस्थाहरूमा जागिरे हुँदै आफ्नै व्यवसायसम्म सञ्चालनमा लागिपरेका आर्यशलाई अन्ततः परिस्थितिले सबै त्यागेर देश छोड्न बाध्य बनायो । देश छोडेर पोल्यान्ड पुगे पनि नेपाली कविता प्रेमले उनलाई कहिलै छोडेन । प्रतिबिम्ब संयुक्त कविता सङ्ग्रह सम्पादन गरेका उनी २०८० सालमा अ़शान्त महासागर (डिजिटल कविता सङ्ग्रह) का साथमा देखा परे । उनको पछिल्लो समयमा ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ (२०८१) कविता सङ्ग्रह बजारमा आयो जसले साहित्यपोस्ट उत्तम काव्य पुरस्कारसमेत प्राप्त गर्‍यो । 

कवि आर्यश निकै किफायतपूर्ण तरिकाले कविता लेख्छन् । लघु या मझौला आकारका कविता लेखे तापनि उनका कविताहरू गहन भावका साथ प्रतीकात्मक र दार्शनिक चेतनाले सम्पन्न छन् । बिम्ब र प्रतीकहरूको उचित संयोजनका साथ जीवनका सूक्ष्मातिसूक्ष्म अनुभूतिहरूलाई अभिव्यक्त गर्ने उनको काव्यशिल्प निकै मोहक छ । नरम र कोमल शब्दहरूको न्यूनतम प्रयोगले अधिकतम अर्थ  सिर्जना गर्न खप्पिस छन् उनी । मानवीय मूल्यको सङ्कट, बैदेशिक पलायन, जनशक्तिको क्षयीकरण तथा खोक्रो राष्ट्रवादलाई तीव्र व्यञ्जनासहित अभिव्यक्त गर्ने आर्यश प्रेम कवितामा पनि उत्तिकै कोमल र प्रेमिल भावमा प्रकट हुन्छन् । आजको मुगलानी चराको ३१ औँ अङ्कमा हामीलो कवि आर्यशका चार वटा कविताहरू प्रस्तुत गरेका छौँ ।

हृदयमा अल्झिएको काँसफूल 

 

जिन्दगी सपना देख्छ 

हजार सपना देख्छ 

केही विषेश सपना 

केही निमेष सपना

केही पूरा सपना  

केही अधुरा सपना 

कपासभन्दा पनि सेतो 

बादलभन्दा पनि हलुको

बगरको काँसफूल जस्तो

 

धेरै सपनाहरू

हावामै उडेर जान्छन् 

केही सपनाहरू 

पूरा हुने अडानमा 

जिन्दगीभर जिन्दगीसँगै 

अल्झिरहन्छन् -अड्किरहन्छन् 

‘तिमी’ त्यही दोस्रो सपना  हौ ।

* * *

 

संरक्षण 

जिन्दगीमा

खबरहरू बटुल्न मात्र

केही हुलाकी आउनेछन्

उनीहरूलाई 

तिम्रो सुखसँग

तिम्रो दुःखसँग 

केही लिनुदिनु हुनेछैन 

उनीहरूबाट 

आफ्नो कथाको चिठ्ठी

बचाइराख्नु ।

* * *

 

 

शायद 

 

जुन पीडा

तिमीले अहिले भोगिरहेका छौ 

जुन दु:ख

तिमीले अहिले बाँचिरहेका छौ 

हुनसक्छ !

तिनै फूलहरूको श्राप हो 

जसलाई तिमीले 

किताबका पानाहरूबिच 

थिचेर मारेका थियौ ।

* * *

देश 

 

नक्सामा त सग्लो नै छ, 

तर हरेक दिन विमानस्थलबाट 

अलिकति खिइएर जान्छ ।

* * *

 

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.