बैजनाथ -८, बाँकेका धीरेन्द्र स्पन्दन करिब ९ वर्षदेखि दक्षिण कोरियामा आफ्नो श्रम र सिप बेचिरहेका छन् । तराईका फाँटहरूमा गीत र गजलहरू सुसेल्दै हिँड्ने स्पन्दनलाई परिस्थितिको लहरले हुत्याउँदै मेसिनहरूको शहर कोरियामा मेसिनजस्तै खटाएको छ । तर हृदयबाट गीत गजल र मुक्तकको स्पन्दन छुटेको छैन । त्यही स्पन्दनले उनलाई सौल आसपास हुने साहित्यिक जमघटमा पुर्याइरहन्छ । अनेसास दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका धीरेन्द्र स्पन्दनलाई साहित्यिक संगठनमा पनि उस्तै लगाव छ ।
धीरेन्द्र स्पन्दन मुख्यतः प्रेमलाई केन्द्रमा राखेर गजल लेख्छन् । प्रेमसँगै बिगतका स्मृतिहरू, आत्मसंवादसँगै जीवनका सूक्ष्म अनुभूतिलाई सरल भाषामा अभिव्यक्त गर्छन् । प्रेमको सूक्ष्म मनोविज्ञान केलाउँदै जीवनप्रति आशावादी दृष्टिकोण प्रस्तुत गर्नु उनको मूल प्रवृत्ति हो ।
गजलकार स्पन्दनले आत्मानुभूतिलाई केन्द्रमा राख्छन्, जसले उनका गजलहरू कोमल, भावस्पर्शी र गेय बनेका हुन्छन् । शेरहरूमा केही दार्शनिक सङ्केत र आत्मबोधको झल्कोले उनमा परिपक्व काव्यचेतनाको अनुभूति दिलाएका छन् । आजको मुगलानी चराको ३४ औँ शृङ्खलामा हामीले धीरेन्द्र स्पन्दनका तीनवटा गजलहरू प्रस्तुत गरेका छौँ -
गजल १-
तिम्रो आँखाको भाषाभन्दा के सरल छ,
प्रेमले ओठ नखोली लेखेको गजल छ ।
दूरीले शरीर छुटायो, मन छुटाउन सकेन,
तिम्रै मायाले बाँधिएको सम्बन्ध अटल छ ।
तिमी नजिक हुँदा ऋतुले पनि रङ फेर्छ,
मेरो यो मन आज पनि उस्तै चञ्चल छ ।
हारले बाटो छेक्दा पनि पाइला रोकिएनन्,
तिम्रो भरोसाले आज यो यात्रा सफल छ ।
गजल २-
यो मुटुभित्र अचेल कस्तो डर भइरहेछ
नाम नलिँदा पनि तिम्रै असर भइरहेछ ।
नदी सुकिसकेको सबैले वर्षौँ भयो भन्थे
किन बालुवामुनि पानीको सफर भइरहेछ ।
झरेका पातहरूले रूखलाई दोष दिएनन्
हाँगाको मौनताभित्र कुन प्रहर भइरहेछ ।
झ्यालढोका बन्द छ, बतासको बाटो छैन
फेरि यो कोठाभित्र कसको खबर भइरहेछ ।
राख उडेर गयो, आगो निभ्यो भन्थे सबै
किन धुवाँभित्र सम्झनाको शहर भइरहेछ ।
गजल ३-
तिम्रो मुस्कानमै लुकेको मेरो विश्वास रहेछ,
तिम्रा मौन अधरहरूमा कस्तो मिठास रहेछ ।
आँखाले धेरै दृश्य देखे यात्राका मोडहरूमा,
सबैभन्दा सुन्दर त तिम्रै आभास रहेछ ।
जति टाढा पुगेँ उति नजिकिँदै गयो यो मन,
प्रेमले आफैँ लेखेको एउटा इतिहास रहेछ ।
शिखर त क्षितिजपारि टोलाइरह्यो चुपचाप,
पाइलाहरूले धुलोसँग गरेको अभ्यास रहेछ ।
नजरको भाषाले ओठलाई मौन बनाइदियो,
प्रेमको आफ्नै भाषामा कस्तो उल्लास रहेछ ।
‘स्पन्दन’ खोज्दै हिँड्यो जिन्दगीभर संसारमा,
आफ्नै मनभित्र सबैभन्दा विशाल आकाश रहेछ ।


टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।