झापा जिल्ला स्थायी ठेगाना भएकी कवि दिपा मेवाहाङ राई पछिल्ला केही वर्ष यता दक्षिण कोरियालाई कर्मथलो बनाउँदै आइरहेकी छिन् । नेपाली माटो र पानीमा उम्रिएका उनका कविताका वीजहरू दक्षिण कोरियामा पसिना र सपनासँगै मुर्झाइरहेका छन् । दक्षिण कोरिया बसाइँमै उनका प्रेमिल कविताहरूको सङ्ग्रह ‘यादको सन्दुक’ (२०७८) पनि प्रकाशित छ, जुन् सङ्ग्रहलाई मदन पुरस्कार गुठीले २०७८ सालको सर्टलिस्टमा समावेश गरेको थियो । कविताबाहेक कथा तथा उपन्यासमा पनि विशेष रुचि राख्ने मेवाहाङ राई इतर अभियानमा पनि सक्रियताका साथ लागेकी साहित्यिक अभियन्ता हुन् ।
कवि मेवाहाङ राईका कविताहरूको आत्मा प्रेम हो । उनी मुख्यतया प्रेम कविता लेख्छिन् तर सँगसँगै समाजका अनेक उज्याला र अँध्यारा पाटाहरू बारे उनका कविता बेखबर भने छैनन् । उनी हरेक विषयवस्तुलाई प्रेमको मसिनो मखमली धागोले जोडेर सुन्दर काव्य माला बनाउन खप्पिस छिन् । खासगरी उनका कविताहरूमा प्रेम, स्मृति, प्रतीक्षा र मानवीय समवेदनाको अत्यन्त कोमल अभिव्यक्ति पाइन्छ । प्रतीकात्मक शैलीमा मानवीय करुणाले भरिपूर्ण कविताहरूको प्रस्तुति उनको मुख्य प्रवृत्ति हो । सरल भाषा शैलीमा गहिरो अनुभूति गराउँदै जीवनका सूक्ष्म क्षणहरूलाई सुन्दर र आकर्षक तरिकाले समेट्नु उनको काव्यिक विशेषता हो । आजको मुगलानी चराको अङ्कमा हामीले उनै कवि दिपा मेवाहाङ राईको तीनवटा कविताहरू प्रस्तुत गरेका छौँ -
तिमी हुनु भनेको
तिमी हुनु भनेको
एक्लो बिसौनीको काखमा कोही आएर बस्नु हो
मरुभूमि बीचमा पोखरी भेटिनु हो
शरद याममै फूल फक्रिनु हो
कठ्याङ्ग्रिने जाडोमा घामको तातो स्पर्श पाउनु हो
शब्दहरू अजर अमर बन्नु हो
धुनहरूमा नयाँ राग उब्जनु हो
नेपथ्यमा प्रेमको मीठो ध्वनि गुञ्जनु हो ।
तिमी हुनु भनेको
अनुहारमा मुस्कानको लाली पोतिनु हो
अन्धकार बीचमा आशाको नयाँ किरण देखिनु हो
दुखहरूबाट छुटकारा पाउनु हो
खुशीले बिस्तारै लपेट्दै समिप्यमा बेर्नु हो ।
तिमी हुनु भनेको
अर्को एक दिन थप बाँच्नलाई उत्साह जाग्नु हो ।
. . .
छुट्दै जाने रहेछन्
कति कुरा जतनसाथ
सम्हालेर लान्छु भन्दाभन्दै छुटी जाने रहेछ ।
कहिले एक कविको कविताका हरफबाट
प्रेमको कुरा लेख्न छुटेर जान्छ ।
कहिलेकाहीँ सपना देख्दादेख्दै बिपना छुटी जान्छन् ।
सम्झनाका तरेलीबाट केही याद छुटी जान्छ ।
कहिले एकातिर सम्झनाको गहिरो तालमा डुबुल्की मार्दै गर्दा
अर्कोतिर बाडुलीको हिक्का छुटेर जान्छ ।
नदी आफ्नै लयमा निरन्तर बगेर जान्छ
बगर एक्लो-एक्लो छुटी रहन्छ ।
कहिले सम्झिँदा सम्झिँदा छुटी जान्छ ।
कहिले सम्झन बिर्सेर छुटी जान्छ ।
कोही कोही सदा मनमा बसिरहन्छन्
आँखाबाट बिस्तारै छुटी जान्छ ।
. . .
यस्तो खबर सुनाउँदै नसुनाउनु
उमेरको अन्तिम डोरी पक्रिएर
सिकुवाबाट छोराको बाटो हेरिरहेकी
ती आमालाई सुनाउँदै नसुनाउनु
छोरा भर्खरै मेसिनसँग जुध्दा जुध्दै
सधैँको लागि हार्यो भनेर
फर्किने बाचा गरेर
छुटेको एक जोडी प्रेमी
जसले चढाएको थियो
देउरालीलाई प्रेमको नासोमा
फूलको केही थुङ्गा
ती प्रेमीजोडीलाई सुनाउँदै नसुनाउनु
ती फूल ओइलिसक्यो भनेर
जसले बिस्कुटका केही पुडिया
केहीथान चकलेटको आशामा
बचपन आफ्नो बाबुबिना बिताएको छ
ती सन्तानलाई सुनाउँदै नसुनाउनु
कि अब गुलियो बोकेर
उसका बा कहिलै आउने छैन
कक्षा कोठाको एक कुनामा
क्यानभासले भबिस्य कोरिरिरहेको
ती मासुम नानीलाई सुनाउँदै नसुनाउनु
कि अब कुची छोडेर
बन्दुकले देशको चित्ररेखा कोर्नु पर्छ भनेर
एउटा प्रेमीका जसले आफ्नो प्रेमिलाई
फर्किन्छ भनेर आधा मुटु हातमा थमाइदिएकी थिइन्
ती प्रेमिकालाई सुनाउँदै नसुनाउनु
कि अब त्यो आधा मुटु
अर्को पूरा मुटुको नाममा
समर्पित भै सक्यो भनेर
हो त्यस्तो खबर सुनाउँदै नसुनाउनु
जसलाई सुन्न मन नहुदा नहुँदै पनि
सुन्नै पर्ने हुन्छ
र, जसले सुनाउन मन नहुँदा नहुँदै पनि
बाध्य भएर सुनाउनु पर्नेछ ।

