साहित्यपोस्ट डट कम

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

झापामा जन्मिएका राज लम्साल ‘यात्री’ मोरङ सुन्दर हरैचाका स्थायी बासिन्दा हुन् । लामो समयदेखि आबुधाबी युएईमा कर्म गरिरहेका राज ‘यात्री’ गजलसङ्ग्रहका अलावा गीत-संगीत र कविता विधामा पनि उत्तिकै रुचि राख्दछन् । साहित्योपस्टका युएई संयोजकसमेत रहेका राज सगरमाथा साहित्य प्रतिष्ठान, सलकपुर संगीत साधना सामुदायिक कला केन्द्रलगायत विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध छन् । मेरो यात्रा गीत गजल एल्बम २०७२ र यात्री गजल सङ्ग्रह २०८२ उनका प्रकाशित कृतिहरू हुन् । थुप्रै गजल सङ्ग्रहहरू संयुक्त रूपमा प्रकाशन गरेका राज यात्रीका शब्द, संगीत र स्वराङ्कन भएका करिब एक दर्जन गीतहरू बजारमा आएका छन् ।

गजलकार ‘यात्री’ आफ्ना गजलहरूमा ग्रामीण जनजीवनका यथार्थ विषयवस्तुलाई बडो सुन्दर तरिकाले प्रस्तुत गर्छन् । उनका गजलहरूमा वैदेशिक बाध्यता, सामाजिक विकृति र मानवीय सम्बन्ध र समवेदनाका पाटाहरू अत्यन्त प्रभावकारी ढङ्गले समेटिएका छन् । सरल भाषा तर गहन भाव शैलीमा जनजीवनका वास्तविक समस्या र सामाजिक विसङ्गतिमाथि प्रहार उनको मूल लेखकीय प्रवृत्ति हो । आजको मुगलानी चराको अङ्कमा उनै गजलकार राज यात्री लम्सालका ३ वटा गजलहरू प्रस्तुत गर्दैछौँ ।

गजल १.

बाँझा बारीमा कामकाज अझै फर्किएन ।

यो दूर बस्तीमा इलाज अझै फर्किएन ।

यसकारण बाबा रातभर सुत्न सकेनन्

दाजु उडेको जहाज अझै फर्किएन ।

छाया देख्दा पनि माउ झस्किरहन्छ

बच्चा टिपेर जाने बाज अझै फर्किएन ।

संस्कारले बहिनी छाउगोठ पुर्यायो

फर्कियो शरीर आवाज अझै फर्किएन ।

हामीले नै अबीर लगाई शहर पठाएथ्यौं

कहाँ अल्मलियो महाराज अझै फर्किएन ।

. . .

गजल २.

ऊ बेला बेचेर गए अहिले खेतबारी चाहिएको छ ।

परदेशीलाई देशमै फेरि रोजगारी चाहिएको छ ।

यो समाजलाई हेर्छु, शिक्षित भनाउँदालाई हेर्छु,

छोरी गर्भमै मारेर असल बुहारी चाहिएको छ ।

भित्रभित्रै नियुक्ति गरिसक्यो बाहिर यस्तो लेख्छ

सरकारी कोटामा तु कर्मचारी चाहिएको छ ।

नाच्नुपर्छ उसले नचाउँछ हामी बाँदर भएपछि

हाम्लाई पनि त नचाउने एक मदारी चाहिएको छ ।

दाम आए बेचिदिन्छन् देश, देश हाँक्नेहरूले

मात्र लिलामी बढाबढमा केही व्यापारी चाहिएको छ ।

. . .

गजल ३.

घर छोडेकै साल बिर्सियो छोराले ।

गर्नु थियो केही सवाल बिर्सियो छोराले ।

नहुँदा पनि कहिल्यै भोको राखेनौ

हुने भएछ अनिकाल बिर्सियो छोराले ।

धेरै पढायौँ विदेश पठायौँ बिहे गर्यो,

बिहेपछि झन् बोलचाल बिर्सियो छोराले ।

घाम पानी घर भित्रै बास बस्छन् अचेल

फेर्छु भन्थ्यो त्रिपाल बिर्सियो छोराले ।

जायजेथा सबै सक्यौँ उसलाई खुशी पार्न

लाएर ठूलै अबगाल बिर्सियो छोराले ।

. . .

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.