साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

बाग्लुङका गजलकार निर्दोष शिव पछिल्ला केही वर्ष यता दक्षिण कोरियामा जीवनयापन गरिरहेका छन् । निर्दोष गजलका अलावा कथा, कविता, मुक्तक र निबन्ध लेखनमा पनि उत्तिकै दखल राख्छन् । गजल तथा मुक्तक लेखनमा विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरू जितेका निर्दोष गजलको शास्त्रीय मान्यतामा आधारित रहेर गजल साधनामा सक्रिय छन् । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा अध्यक्षसमेत रहेका निर्दोष शिव बहर बहार गजल अभियानमा पनि आबद्ध छन् ।

गजलकार निर्दोष शिव आफ्ना गजलहरूमा प्रेम, पीडा र आत्मसङ्घर्षलाई अत्यन्त कोमल तर निकै गहिरो शैलीमा प्रस्तुत गर्छन् । प्रतीकात्मक अभिव्यक्ति उनको मुख्य विशेषता हो । समाजका विभिन्न पक्ष र आयामहरूमा निर्ममतापूर्वक आलोचना लेख्न सक्ने निर्दोष शिवका कलमले आफ्ना गजलहरूमा भने निकै कोमल भाव शैलीमा प्रेमका अनुभूतिहरू समे्टने गर्दछन्। आजको मुगलानी चराको शृङखलामा हामीले उनै गजलकार निर्दोष शिवका गजलहरू प्रस्तुत गरेका छौँ ।

गजल १.

भन्दा गुलाफ भन्छु काँडा भनेको छैन ।

काँडै बिझे नि मनमा ऐया भनेको छैन ।

इज्जत बचाइ राख्नू शायद भनेँ कुनै पल

कसले उघार्‍यो तिम्रो पर्दा भनेको छैन ।

देख्नेहरूले कुन्नि खै के भनेर बुझ्छन्

आफन्तलाई हाम्रो नाता भनेको छैन ।

यो मन यसै खरानी स्वाहा बनेको हैन

आधा भनेँ कहानी आधा भनेको छैन ।

मुर्दा बनाई भन्छौ बाँच्नू बुढेससम्मन्

यो जिन्दगी त्यहाँतक जाला भनेको छैन ।

= = =

गजल २.

त्यो तन बतास जस्तो कसले बनाइदिन्छ ?

यो मन कपास जस्तो कसले बनाइदिन्छ ?

ती ओठ हाँसिदिन्छन् अर्कैको निम्ति पलपल

यो मन उदास जस्तो कसले बनाइदिन्छ ?

उनको अगाडि पुग्दा बोकेर आत्मविश्वास

यो मन हतास जस्तो कसले बनाइदिन्छ ?

स्वार्थीहरू निरन्तर मैसँग मिल्न आउँछन् ?

यो मन सुवास जस्तो कसले बनाइदिन्छ ?

धमिलो रहेछ त्यो मन अमिलो भएछ यो मन

यो मन मिठास जस्तो कसले बनाइदिन्छ ?

मौसम समान त्यो मन फेरेर हिँड्नेलाई

यो मन निवास जस्तो कसले बनाइदिन्छ ?

यौवन कसैकसैको ठ्याक्कै सराब जस्तो

यो मन गिलास जस्तो कसले बनाइदिन्छ ?

= = =

गजल ३.

जूनसँगै तर्सिएको रात उनको भइदिएँ

शीत थोपा तप्किएको रात उनको भइदिएँ

शान्त छैनन् ढुक्क छैनन् तृप्त छैनन् ती अधर

कि बिहानी पर्खिएको रात उनको भइदिएँ ?

बन्नुपर्ने शूरजस्तो पुग्नुपर्ने दूरतक

बीचमै बैरागिएको रात उनको भइदिएँ

घर उज्यालो पारिराख्ने चाहनामा रातदिन

म बिजुली चम्किएको रात उनको भइदिएँ

जिन्दगीको एक गल्ती जिन्दगी भो रात झैँ

पूर्णिमामा चम्किएको रात उनको भइदिएँ॥

= = =

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.