साहित्यपोस्ट डट कम

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

सुर्खेत निवासी गजलकार सुरेन्द्र न्यौपाने ‘आँसु’ हाल जापानको फुकुओका शहरमा कर्मरत छन् । गजलसंग्रह ‘आँसु’ (२०६३) का सर्जकसेमत रहेका गजलकार न्यौपानेका केही गीतहरू पनि स्वराङ्कित भएका छन् । ६० को दसकमा सुरेन्द्र न्यौपाने गजल लेखनमा मात्रै होइन गजल पत्रिकाहरू सम्पादनमा पनि सक्रिय थिए । साहित्यसँगै पत्रकारितामा पनि लागिपरेका सुरेन्द्र न्यौपानेलाई समयको बाहवले अन्ततः जापानमा पुर्यायो तर हृदयले गीत र गजलको आवाज निकाल्न छोडेको छैन ।

जीवनको यथार्थ, अभाव, सङ्घर्ष र सामाजिक बिडम्बनाहरूलाई गजलकारले आफ्ना गजलहरूमा सरल र सरस शैलीमा प्रस्तुत गर्ने गर्छन् । व्याप्त गरीबी, चरम बेरोजगारी, वर्तमान राजनीति लगायत जनजीवनका पीडाहरूलाई आफ्ना शेरहरूमा मीठो तरिकाले समावेश गर्दै गजल लेख्ने उनी मूलतः सामाजिक यथार्थवादी गजलकार हुन् । आजको मुगलानी चराको २६ औँ शृङ्खलामा उनै गजलकार सुरेन्द्र न्यौपाने ‘आँसु’ का तीनवटा गजलहरू प्रस्तुत गरेका छौँ ।

गजल १.

आफ्नै खुट्टामा उभिने पीरमा बस्न सकेको छैन

जागीर पाएर फेरि जागीरमा बस्न सकेको छैन

बगरको ढुङ्गो पनि गजुर भएर बसिसक्यो

कोही मान्छे भएर पनि मन्दिरमा बस्न सकेको छैन

सबैको भाग्यमा सबै चीज त कहाँ लेखेको हुन्छ

सबै फूल पनि त सबैको शिरमा बस्न सकेको छैन

अर्कैकी तिमी दिलमा बसिनौ भनी के गुनासो गर्नु

आफ्नै लुगा त आफ्नै शरीरमा बस्न सकेको छैन

खुलेको हाँसो त हरेको तस्वीरहरूमा भेटिन सक्छ

लुकेको आँसु पो कुनै तस्वीरमा बस्न सकेको छैन॥

= = =

गजल २.

नबोले बोलेन भन्छौ, बोले पोल्छ

जस्तो दनदनी बलेको आगोले पोल्छ

नत्र नाक र मुखबाट धुवाँ निस्कन्थ्यो

लाग्छ गरीबलाई पुषमाघको जाडोले पोल्छ

श्रीमतीलाई खरले छाएको घर मन पर्दैन

आमालाई पक्की घरको छानोले पोल्छ

घुस लिने र दिनेलाई हो अख्तियारले पोल्ने

खुर्सानी मात्र खानेलाई त पिरोले पोल्छ

उमेर छँदा विदेशमा आँसु पसिना बगाउँदैछ

बुढोसकालमा तँलाई देशको माटोले पोल्छ ॥

= = =

गजल ३.

एक छाक टन्न भात खानको लागि

के दिन के रात हामी किसानका लागि

घरमा छोरा छोरी भोकले छटपटाइरहेछन्

कविले कविता लेख्छ सम्मानका लागि

हिजो राति म भूतसँग लडेर आएको हुँ

मान्छे यस्तो चुनौति दिन्छ विज्ञानका लागि

छोरोलाई जूनको उज्यालोमा पढ भनेर

बाबु दियो जलाउन गयो भगवानका लागि

वर्षौंदेखिको मनको पीडा कम भएको छ

धन्यवाद तपाईँलाई मीठो मुस्कानका लागि॥

= = =

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.