दाङ, देउखुरी निवासी कवि हिमोढ पहाडी उर्फ केशव सिंह हाल पोर्चुगलमा जीवन यापन गरिरहेका छन् । जीवनको ऊर्जाशील समय शिक्षण पेशामा आबद्ध रहेका हिमोढ पहाडी लामो समयदेखि नेपाली साहित्यको विविध विधाहरूमा सक्रिय छन् । दाङका विभिन्न साहित्यिक संघ संस्थाहरूमा बाक्लै उपस्थिति जनाउने पहाडीलाई परिस्थितिको लहरले समुद्रपारि पुर्यायो । तर समुद्रपारि पुगे पनि उनले सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरूमा आफूलाई सक्रिय बनाइरहन्छन् ।
कवि हिमोढ पहाडी केवल समवेदनाको अभिव्यक्तिकर्ता मात्रै होइनन् । उनी समकालीन नेपाली समाज, नेपाली तथा विश्व राजनीति लगायतका विषयमा आफ्ना दृष्टिकोणहरू कवितामार्फत व्यक्त गर्दछन् । प्रवासी आवाज पनि उनका कविताका विषयवस्तु हुन् । नितान्त निजी अनुभूति, दार्शनिक दृष्टि र सामाजिक चेतनाको त्रिवेणी उनको प्रवृत्तिगत विशेषता हो । वैश्विक चेतना र सांस्कृतिक आत्मपहिचान, राजनीतिक व्यङ्ग्य र सत्ता आलोचना, मानवतावादी दृष्टि र विश्वबन्धुत्व, सामाजिक र आर्थिक विसङ्गतिमाथि विद्रोही स्वर उनका कवितामा प्रकट हुने विशेषताहरू हुन् । आजको मुगलानी चराको २५औँ शृङ्खलामा उनै कवि हिमोढ पहाडीका तीनवटा कविता प्रस्तुत गरेका छौँ ।
१. निमन्त्रणा
केशव सिंह
हिउँदको एउटा मधुरो साँझ
रोमन सभ्यतामा
विश्वको अनौठो आश्चर्य समेटेर
मुस्कुराइरहेको पिसाको झुकेको टावर
अनि बियर बारमा हराइरहेको म
पिसाको खाडी हेर्दै खोजिरहन्छु
प्रिय कविहरूको प्रतिविम्ब
लाग्छ अझैसम्म कोरिरहेको छ
मेरो अद्भुत प्रेमको कविता
पिसाको खाडीको समुद्री गर्भमा ।
एक हूल स्काइलार्कहरू
आउँछन् प्रेम र सद्भावको निम्तो लिएर
मेरो स्वागतमा नाइटिङ्गेलहरू
बाटाभरि फूल बिच्छ्याउँछन्
र त एउटा यात्रा गर्नुछ
प्रोटेस्टेन्टको पुरानो गिर्जाघरसम्म
शुक्रबारको त्यो साँझ
घण्टी बज्दछ प्रार्थनाको ।
चिहानबाट एक एक गर्दै
ब्युँझिन्छन् उनीहरू
प्रार्थना शुरू हुन्छ
तर त्यतिबेला
मेरो अन्तर हृदयमा
पशुपतिनाथको सन्ध्या आरतीको
मङ्गल धुन बजिरहन्छ
रिग्मोको गुम्बाबाट
निस्केको मधुर आवाजले
रोमाञ्चित बनाइ रहन्छ
मलाई हिन्दूत्वको आभाष गराइ रहन्छ ।
म अहिले
ती दुई चिहानको बीचमा छु
र उनीहरू अङ्कमाल गरिरहेछन् पालैपालो
यतिबेला हाम्रा नयनहरू
द्रवीभूत बनेका छन्
हामीले भाषा र भूगोलको पर्खाल
मिलेरै तोडेका छौँ
र त उनीहरूको निमन्त्रणामा
कयौं माइल टाढा रोम शहरको
प्राचीन पिरामिड र औरोलियन पर्खाल नजिक
पुरानो गिर्जाघरको आँगनमा
प्रिय सखाहरूसँग
निर्भय बनेर उभिएको छु ।
पि.बि.शेली अचेल
पानीमा कविता लेख्छन्
जोन किट्स हावामा
प्रेमका गीत गुन्गुनाउँछन्
सगरमाथा र लुम्बिनीको वैभव सुनेर
एक तमासले मुस्कुराउँछन्
पिसाको झुक्ने टावर साक्षी राखेर
हामीले प्रतिज्ञा गरेका छौँ
यो युग प्रेम र सद्भावनामा रूपान्तरण गर्न
विश्व बन्धुत्वको नयाँ इतिहास लेख्न ।
= = =
२. जस-अपजस
उहिल्यै ग्रीसमा
सत्ताले हेमलक पिलाएका सुकरात
गणतन्त्रमा बौरिएर
आफै सिंहदरबारको शासक बनेपछि
ऊ बेलाको हिसाब बराबर गर्नै पर्थ्यो ।
एअरपोर्टदेखि स्टेडियमसम्म
सुरुङ मार्गदेखि द्रुतमार्ग सम्मको
स्टारडमको जस लिँदै
आफ्नै लालपुर्जामा लेखाउँदै भन्छन्
७६ जना हत्याको दोष
मैले किन बोक्नु ?
= = =
३. शोक धुनहरू
म देश भित्रको बेरोजगार मान्छे
किन्छु एकथान पासपोर्ट
सपनाको सौदागरसँग
र सुनेको छु सिंहदरबारले
मेरो बेरोजगारी र विवशताको
गरिरहन्छ व्यापार निरन्तर
देशभित्र उद्योग धन्दाहरू लिलाम गरेर ।
मैले घरपरिवारको लागि
खुशीहरू किन्न
अन्तर्राष्ट्रिय श्रम बजारमा बेची नै पर्छ
किनकि यता पनि रेमिट्यान्समा
र्याल काढ्न खप्पिस छन्
मेरा देशका शासकहरू ।
म हरेक दिन
निष्प्राण बनेर रातो बाकसभित्र
कफिनहरूमा बन्द भएर फर्किन्छु
मलाई खुशी साथ विमानस्थलमा
बिदाइ गर्ने साथीहरूको
आँखा अश्रुपूर्ण बनेर स्वागत गर्छन्
अनि म घर नपुग्दै
आर्यघाटमै जल्छु नश्वर शरीर त्याग्दै ।
हो त्यसबेला
जीवन संगिनीसँगको वाचा पूरा गर्न
बूढाबूढी बाआमाहरूको सपनामा खुशी थप्न
म असमर्थ हुन्छु
किनकि मेरो मृत्युसँगै
घरपरिवारको खुशी र सपना
लथालिङ्ग र भताभुङ्ग भइदिन्छ ।
मेरो अस्वाभाविक मृत्युमा
शोक धुनहरू बजाउँदैन सिंहदरबार
सिउँदो पुछिएकी जीवन संगिनीको
पिडाहरू बुझ्दैन शासक
मेरा बाआमाहरुको खुशीको
केवल मलामी बन्छ त्यो श्रमबजार ।
देशभित्रै परिवारसँग बसेर
पौरख गर्ने रहर
कसलाई पो लाग्दैन र ?
तर मेरो नियतिमा
अन्तर्राष्ट्रिय श्रमबजारमा बेचिन लेखेको छ
परदेश जाँदा लिएको ऋण तिर्न नसकेर
जीविकोपार्जनको आधार त्यो पाखो बारी
लिलाम हुन लेखेको छ ।
मलाई थाहा छ
मैले र तिमीले सोचेर मात्र
यो देश कहाँ बन्छ र ?
बौद्धिकहरूको पलायनमा
देश दुखेका पीडा
सिंहदरबार र शासकहरुले बुझेको भए
पुरुषबिहीन हुने थिएनन् बस्तीहरू।
यदि देश युवाविहीन भयो भने
कसले थाप्छ काँध ?
राष्ट्रिय सम्वृद्धिको मार्गचित्र कोर्न
तर बुझ्दैनन् शासकहरूले
किनभने उनका लागि त
शक्ति र सत्ता केवल भोक र तृष्णा बनेको छ ।
एक एक थान हरियो पासपोर्ट बेचेर
जबसम्म देश बनाउने युवा मस्तिष्कहरूको
व्यापार गरिरहनेछ सिंहदरबारले
हरेक दिन रातो बाकस भित्रिरहनेछ विमानस्थलमा
अनि बूढाबूढी बाआमाहरूको आधारको
वैशाखी पनि टुटिरहनेछ
तबतब नव निर्माणको सपना बोक्ने मेरो देश
मौन बनेर मेरो मृत्युको तमासा हेर्दै
मेरो मृत शरीर राखिएको कफिनमा
नुनिलो आँसु पोखिरहनेछ एकतमासले ।
= = =

