म्याग्दी जिल्लामा जन्मिएकी ऋद्धिमा रिजाल हाल युरोपेली मुलुक स्पेनमा कर्म गरिरहेकी छिन् । नेपाली साहित्यका गजल र मुक्तक विधामा उनको विशेष रुचि छ । शास्त्रीय मान्यतामा आधारित रहेर गजल लेख्ने रिजाल बहर बहारकी सक्रिय सदस्यसमेत हुन् । मुक्तक विधामा पनि निकै सक्रियताका साथ कलम चलाउने उनी मुक्तकालय नेपालसँग पनि आबद्ध छिन् ।
ऋद्धिमा भाव, चिन्तन र अनुभवका मसीले आफ्ना मुक्तकका हरफहरू सजाउँछिन् । उनका मुक्तकहरूमा उनी स्पष्ट रूपमा जीवन दर्शन, अस्तित्ववादी चिन्तन र सङ्घर्ष केन्द्रित यथार्थवादी स्रष्टाका रूपमा देखिन्छिन् । उनका मुक्तकहरू तुकबन्दी मिलाउन मात्रै जबर्जस्ती तानिएका चार हरफ होइनन् । बरु जीवनका अस्थिरता, मानवीय सीमितता र सङ्घर्षको अपरिहार्यतामाथि केन्द्रित छन् । मुक्तककार ऋद्धिमा रिजालमा क्षणभङ्गुरताको गहिरो चेतना देखिन्छ । उनी जीवनका अनिश्चितता र परिवर्तनशीलतालाई निकै कलात्मक र बिम्बात्मक तरिकाले प्रस्तुत गर्छिन् । सङ्घर्ष प्रेम र जीवनप्रति आशावादी दृष्टिकोणले उनलाई अझै परिपक्व र संवेदनशील बनाएको देखिन्छ ।
आजको मुगलानी चराको २४औं शृङ्खलामा हामीले उनै साहित्यकार ऋद्धिमा रिजालका चारवटा मुक्तकहरू प्रस्तुत गरेका छौँ ।
मुक्तक १.
पलमै अग्लिन्छ हिमाल झैँ, पलमै सागर झैँ गहिरिन्छ
बालुवासरि तुफानमा उड्छ, कहिले छालमा पग्लिन्छ
परदेशी हो ऊ खादाको कफन भिरेर आँधीमा पसेको
भन्न सकिन्न दुई काँधमा कि, दुई खुट्टामा फर्किन्छ ।
. . . .
मुक्तक २.
के हो विरासत, स्वयम् कमाएको के थियो
आवश्यक के थियो, नपाएको के थियो
चन्द्रविलाप गरिरहन्छौ, सर्वस्व हारियो भन्दै
जन्मिँदा हातभरि लिएर, आएको के थियो ?
. . . .
मुक्तक ३.
दुःख अघाएकै छैन बेतोड संघर्ष आउनै बाँकी छ
खुसी आउन बाँकी छ,अनेक हर्ष आउनै बाँकी छ
मेरा बलिन्द्र आँसुमाथि कति पौडी खेल्छौ ए! साथी
फलाम होमिएको छ आगोमा निष्कर्ष आउनै बाँकी छ ।
. . . .
मुक्तक ४.
सम्भव छैन तिम्रो झल्को तिम्रो चाह घटाऊँ मैले
उर्लने यो मनको लहर कुन शक्तिले दबाऊँ मैले
यसो पनि त भन्छ शास्त्र “मनमा जो छ उही पति”
सिउँदोको सिन्दूर भन, कसलाई सम्झी सजाऊँ मैले॥

