साहित्यपोस्ट डट कम

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

दाङ घोराहीका गजलकार मनोज मौसम केसी विगत एक दशकदेखि जापानमा कर्म गरिरहेका छन् । स्नातकोत्तर तहसम्म औपचारिक अध्ययन गरेका उनी लामो समयसम्म सञ्चारकर्मीका रूपमा पनि सक्रिय रहे । नेपाली साहित्यमा गजल विधामा सक्रिय रहेका उनी मुक्तक, कविता तथा गीत सङ्गीतमा पनि उत्तिकै रुचि राख्दछन् । उनको आफ्नै शब्द तथा संगीतमा स्वरुपराज आचार्यबाट एउटा गीत स्वराङ्कन भैसकेको छ भने केही तयारी अवस्थामा छन् । अनेसास जापानको वर्तमान कार्यसमितिमा महासचिव समेत रहेका उनी एक कुशल साहित्यिक तथा सामाजिक सङ्गठक समेत हुन् ।

मनोज मौसम केसी यथार्थवादी गजलकार हुन् । सामाजिक विसङ्गतिप्रति चेतना तथा करुणा भावयुक्त उनका गजलहरूमा गरिबी, उपेक्षा, सम्बन्धको स्वार्थ तथा जीवनको कठोर यथार्थ गहन रूपमा अभिव्यक्त भएका हुन्छन् । सरल र सहज भाषामा तीक्ष्ण व्यङ्ग्य गर्न सक्नु, पीडालाई प्रत्यक्ष र प्रभावकारी रूपमा प्रस्तुत गर्नु र जीवनका सामान्य घटनाबाट गहिरो अर्थ निकाल्नु उनको मुख्य विशेषता हो । साथै नैतिक सन्देश र जीवनदर्शन पनि उनका गजलमा स्पष्ट रूपमा उपस्थित छन् मुगलानी चराको आजको शृङ्खलामा उनका चारवटा गजलहरू प्रस्तुत गरेका छौँ ।

१.

बिरामी हुँदा न कसैले उपचारको हल लिएर आए ।

सास रोकिएपछि खै किन अमृतजल लिएर आए ।

एक मुठी खानै नपाएर प्राण गएको हो उसको

मानो बोकेर आफन्तहरू चामल लिएर आए ।

आँगनमा नाचेर फर्किसके पारि गाउँका नर्तकी

आफ्नै ठाउँका भने यतिखेर मादल लिएर आए ।

घर जल्यो रहर जल्यो रमिता हेरिरहे छिमेकीहरू

जलेर सबै खरानी भएपछि दमकल लिएर आए ।

घटना घट्दै गर्दा प्रशासन न गुहारेको होइन हजुर

सर्वस्व लुटियो अनि प्रहरी राइफल लिएर आए ।

= = =

२.

आजबाट एउटा यस्तो निर्णय लिने बिचार गरेको छु ।

भोलिदेखि म तिमीलाई नसम्झिने बिचार गरेको छु ।

तिमी खुशी रहेको खबर पाए बहुत आनन्द आयो

तिम्रा खुशीका लागि आफै सकिने विचार गरेको छु ।

फूलले बिझाएको मान्छे हुँ फूल नदेखाऊ मलाई

देखिए कहीँ कतै खुट्टाले कुल्चिने विचार गरेको छु ।

दु:ख देखाएर सापटी माग्नेहरू बोल्न छोडे अचेल

सम्बन्ध जोगाउन पनि ऋण नदिने विचार गरेको छु ।

जाँड नखाएकै कारण संगत लगाएनन् यि मान्छेहरू

होस् ! अब भट्टीमा म पनि मातिने विचार गरेको छु ।

= = =

३.

मन त थिएन कसैलाई यसरी भन्न विचार गर्नुहोला ।

रूप, यो बैंस, यो घमण्ड सधै रहन्न विचार गर्नुहोला ।

जन्मिनुभो, नत्र यति फुर्ति लगाउन कहाँ पाउनुहुन्थ्यो ।

जन्म दिनुभो बाबा -आमाले धन्न विचार गर्नुहोला ।

कमजोरी तपाईँमा छ, ममा पनि छ, हामी सबैमा छ

कोही छैन यहाँ सर्वगुणले सम्पन्न विचार गर्नुहोला ।

हुँदैन गोजी कफनमा, महोदय पक्कै थाहा होला

अनि के गर्नुहुन्छ धन थुपारेर टन्न विचार गर्नुहोला ।

एउटालाई खुसी बनाइसक्दा, उता अर्को रिसाउँछ

असम्भव रहेछ सबैको प्यारो बन्न विचार गर्नुहोला ।

= = =

४.

हेर्नुहोस् कतिसम्म बलिदान दिनुपर्ने रहेछ ।

अचानो खुकुरीमा जहिले थापिनु पर्ने रहेछ ।

कमाउन छाडेपछि आफन्तबाटै हेला भइयो

बुझेँ माया पाउन आफै पनि बेचिनु पर्ने रहेछ ।

यो जिन्दगी भन्नु पनि मैन बत्ती जस्तै त हो

अरूलाई खुसी बनाउँदैमा सकिनु पर्ने रहेछ ।

बा आमा निदाउन सन्तानले के के गर्नुपर्ला

सन्तान निदाउन बा आमा ब्युँझिनु पर्ने रहेछ ।

बहिनी डोली चढ्दै गर्दा यसरी चित्त बुझाएँ

फूल पनि आखिर हाँगाबाट चुडिनु पर्ने रहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.