साहित्यपोस्ट डट कम

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

स्याङ्जा जिल्ला वालिङ ८ निवासी पवित्रा गिरी पछिल्लो दुई वर्षदेखि जापानको क्योतो शहरमा जीवन यापन गरिरहेकी छिन् । नेपालमा स्नातक तहको अध्ययन सक्दा नसक्दै उनलाई उनको सपनाको पङ्खले जापान पुर्यायो । जापानमा उच्च शिक्षाका लागि सङ्घर्ष गरिरहेकी उनी आफ्नो अध्ययन र कामसँगै नेपाली साहित्यमा पनि उत्तिकै सक्रिय देखिन्छिन् । सानैदेखि नेपाली कथा, कविता, उपन्यासमा विशेष रुचि राख्ने उनी कविता विधामा अलि बढी सहज देखिन्छिन् ।

कवि गिरी गहिरो मनोवैज्ञानिक चेतनाले भरिएकी स्रष्टा हुन् । नारी समवेदना र विद्रोही उनको मौलिक आवाज हो । उनका कविताहरूमा प्रेमका जटिलताहरूलाई केलाइएका हुन्छन् । कविताहरूमा शरीर र मनको अन्तर्द्वन्द्व, स्त्रीमाथिको सामाजिक हिंसा र आत्मसम्मानको खोज सशक्त रूपमा अभिव्यक्त भएका हुन्छन् । समाजमा विभिन्न चलन, संस्कार या संस्कृतिभित्र लुकेर जरा गाडेका कुप्रथाहरूमाथि उनी निर्मम प्रहार गर्छिन् । आफ्ना अभिव्यक्तिलाई सुन्दर बिम्ब र प्रतीकबाट प्रस्तुत गर्ने कवि गिरी प्रेम, पीडा र प्रतिरोधको गहिरो संगम हुन् । आजको मुगलानी चराको २०औँ शृङ्खलामा उनका तीनवटा कविताहरू प्रस्तुत गरेका छौँ ।

नछोएरै जुठो बनाउने मान्छे

पवित्रा गिरी

फेरि एकपटक म कसैसँग

ठोक्किन आइपुगेकी छु ।

थाहा छैन, फेरि म केमा बहकिरहेकी छु ?

प्रेम हावा हो ?

भ्रम हो ?

या वास्तविकता ?

म दोधारमा अल्झिरहेकी छु ।

साँच्चै हावासँगै बहकिऊँ ?

भ्रमसँगै अल्झिरहूँ ?

या वास्तविकतालाई त्यागूँ ?

किनकि कोही मलाई नभेटेरै

चिनिरहेको छ मभित्रको ‘म’।

कोही मलाई नछोएरै

छोइरहेको छ मेरो तनभित्रको स्पन्दन ।

म थोपा जत्तिकै प्रेममा

डुबेर मर्न लागेको बेला,

सागर जत्तिको प्रेम उर्लिएर

मलाई मोतीको नावमा पर्खिरहेको छ कोही ।

जाऊँ ?

या नजाऊँ ?

मनले ‘जा’ भन्छ,

अतीतले ‘नजा’ भन्छ ।

कसैको धोकाले अल्झाइरहेछ,

फेरि कसैको साथले तानिरहेछ ।

ह्या…

फेरि एकपटक बर्बाद हुनुपर्छ कि !

या कसैलाई बर्बाद गरिदिनुपर्छ !

दूरीले टाढा छ ऊ,

तर महसुस मेरो अँगालोमा ।

थाहा छैन उसको हत्केलामा

फूल छ कि पत्थर ।

मलाई बादलझैँ काखमा राखेर

सुमसुम्याइरहन्छ ऊ ।

म जलिरहेकी छु अतीतको रापले,

के ऊ पानी हो ?

मलाई शीतल दिइरहेछ किन ?

मेरो ओठको रङमा चित्र बनाइरहन्छ ऊ,

मेरो गाजलको अँध्यारोमा दीप बालिरहन्छ ऊ ।

मेरो गालाको कोठीमा हराइरहन्छ ऊ,

मेरो छातीको बीचमा ओछ्यान बिछ्याइरहन्छ ऊ ।

मेरो नाभिको खोपिल्टोमा फिस्लिरहन्छ ऊ,

मानौँ मेरो अङ्ग–अङ्गलाई जुठो बनाइरहन्छ ऊ ।

मलाई नभेटेरै

मसँग रात बिताइरहन्छ ऊ ।

ए, मलाई नछोएरै जुठो बनाइरहेको मान्छे,

यति भनिदेऊ—

अब मलाई भेटेर

चोखो कहिले बनाउनेछौ ?

= = =

सिन्दूरपछि बाँचेकी आमा

बाबुले

आमाको सिन्दूर खोसेर

मृत्युलाई अँगालो हालेको

महिना नपुग्दै,

छिमेकी काकी

चुराको आवाज बजाउदै

मेरो घरको देउरी नाघ्छिन्—

“दिदी,

मेरो पोते चुडियो

गाँसिदिनु न है।”

बैँसमै

सेतो फेरोले बाँधिएकी आमा

अरूको रातो

आफ्ना हातले गाँस्छिन् ।

आफ्नो मन

कहिले चुँडियो

कसले गाँस्यो—

इतिहास मौन छ ।

दोस्रो महिनामै

घरको बारी

आफै सर्दै जान्छ ।

ढुङ्गा खिस्किन्छ,

साँध हराउँछ,

आकाश नजिकिएझैँ लाग्छ ।

म सोध्छु—

“आमा,

हाम्रो आँगन किन साँघुरिँदैछ ?”

आमाले

मनको भग्नावशेष मिलाउँदै

भन्छिन्—

“छोरी,

घरको मुख्य खाँबो ढलेपछि

छायाँ पनि

आश्रय खोज्छ ।

त्यसपछि

म गन्दै जान्छु—

बाबु मरेपछि

के–के जिउँदै गाडियो भनेर ।

छिमेकको अपनत्व,

आफन्तको पाइला,

चाडको रौनक,

गाउँलेले गर्ने व्यवहार !

नाम त

सबैभन्दा पहिले मारियो ।

‘बिधुवा’

‘राँडी’

‘पोई टोकुवा’

र अन्ततः—

‘बोक्सी ।’

बाबु मरेपछि

आमा जिउँदै

बोक्सी बनिछिन् !

गाउँमा

कोही बिरामी परे

दोष आमाको सासमा टाँसियो ।

भैँसीले दूध नदिँदा

मेरो घरको तगारोमा

खुर्सानीको राग पड्काइयो ।

म सोध्थेँ—

“आमा,

तिमी किन सधैं बिरामी ?”

आमाले

आँसु ननिस्किने गरी

निल्दै भनिन्—

“छोरी,

मेरो आफ्नै आखाँ

लागेछ रे ।”

त्यही दिन

म छोरी भएर उभिएँ ।

सिन्दूर खोसिएको दिन

विधवा बनाउने

मृत्यु हो,

तर बोक्सी बनाउने तिमीहरू

सम्झिराख,

मेरी आमा

तिमीहरूको चुप्पीमा

चोट सहेर बाँचेकी हुन् ।

तिमीहरूले

उहाँको निधारको सिन्दूर खोस्यौ,

नाम खोस्यौ,

इज्जत खोस्यौ—

तर

उहाँको साहस खोस्न सकेनौ ।

उही साहसको छोरी हुँ ।

अब

मेरी आमाको कथा

डरले होइन,

सत्यले सुनाइनेछ ।

किनकि

तिमीहरूले ‘बोक्सी’ भनेकी

त्यो स्त्री—

मेरो नजरमा

सबैभन्दा ठूलो

योद्धा आमा हुन् ।

= = =

साहेबा भट्टी पसल

एकदिन म तिम्रो शहरमा फर्किन्छु,

प्रेम माग्न होइन,

एउटा सानो भट्टी पसल खोल्न,

जहाँ म आफ्नै पीडा बेच्नेछु ।

साइनबोर्डमा तिम्रो नाम हुँदैन,

तर भित्र पस्दा

हरेक बोतलमा

तिम्रै यादको स्वाद हुनेछ ।

शायद एक दिन

तिमी पनि यही भट्टीमा आउनेछौ,

र म तिमीलाई चिन्दिन जस्तो गरेर

आफ्नै कथा

तिमीलाई नै पिलाउनेछु ।

त्यहाँ आउने मान्छेहरू

आफ्नो दुःख सुनाउन आउँछन्,

र म

तिम्रो कथा सुनाएर

अरूलाई सान्त्वना दिन्छु ।

शायद कसैले सोध्ला,

“किन यो भट्टी यति उदास छ ?”

म मुस्कुराएर भन्छु–

माया यहाँ मरेको हो,

यहाँ बिक्ने रक्सी होइन,

यहाँ त अधुरो प्रेम सस्तो छ,

जो पिउँछ, ऊ हाँस्छ,

तर भित्र–भित्र

मेरो जस्तै फुट्छ ।

गिलास ठोक्किन्छन्,

मान्छेहरू हल्ला गर्छन्,

तर मेरो कानमा

सधैं तिम्रै नाम बज्छ—

DJ छैन,

याद आफैँ remix हुन्छ ।

कसैले भन्छ,

“दाइ, strong केही देऊ,”

म भन्छु,

“strong त माया थियो,

रक्सी त त्यसको

कमजोर विकल्प मात्र हो ।”

कुनामा एउटा खाली कुर्सी राख्नेछु ।

कसैले नबसोस् भनेर होइन,

तिमी कहिले फर्कियौ भने

बस्न ठाउँ होस भनेर

अपसोस त्यस कुर्सीमा धुलो मात्रै बस्छ,

र म हरेक रात

त्यसैसँग कुरा गरेर

मिलन बिछोड्को

दुरी र तडपनको

हिसाब किताब चेक गर्नेछु ।

र अन्तिममा,

सबै घर गएपछि,

म साइनबोर्ड निभाएर भन्छु—

“आज पनि व्यापार राम्रो भयो,

एक बोतल कम बेचियो,

तर एक जिन्दगी फेरि

तिम्रै नाममा सकियो ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.