स्याङ्जा जिल्ला वालिङ ८ निवासी पवित्रा गिरी पछिल्लो दुई वर्षदेखि जापानको क्योतो शहरमा जीवन यापन गरिरहेकी छिन् । नेपालमा स्नातक तहको अध्ययन सक्दा नसक्दै उनलाई उनको सपनाको पङ्खले जापान पुर्यायो । जापानमा उच्च शिक्षाका लागि सङ्घर्ष गरिरहेकी उनी आफ्नो अध्ययन र कामसँगै नेपाली साहित्यमा पनि उत्तिकै सक्रिय देखिन्छिन् । सानैदेखि नेपाली कथा, कविता, उपन्यासमा विशेष रुचि राख्ने उनी कविता विधामा अलि बढी सहज देखिन्छिन् ।
कवि गिरी गहिरो मनोवैज्ञानिक चेतनाले भरिएकी स्रष्टा हुन् । नारी समवेदना र विद्रोही उनको मौलिक आवाज हो । उनका कविताहरूमा प्रेमका जटिलताहरूलाई केलाइएका हुन्छन् । कविताहरूमा शरीर र मनको अन्तर्द्वन्द्व, स्त्रीमाथिको सामाजिक हिंसा र आत्मसम्मानको खोज सशक्त रूपमा अभिव्यक्त भएका हुन्छन् । समाजमा विभिन्न चलन, संस्कार या संस्कृतिभित्र लुकेर जरा गाडेका कुप्रथाहरूमाथि उनी निर्मम प्रहार गर्छिन् । आफ्ना अभिव्यक्तिलाई सुन्दर बिम्ब र प्रतीकबाट प्रस्तुत गर्ने कवि गिरी प्रेम, पीडा र प्रतिरोधको गहिरो संगम हुन् । आजको मुगलानी चराको २०औँ शृङ्खलामा उनका तीनवटा कविताहरू प्रस्तुत गरेका छौँ ।
नछोएरै जुठो बनाउने मान्छे
पवित्रा गिरी
फेरि एकपटक म कसैसँग
ठोक्किन आइपुगेकी छु ।
थाहा छैन, फेरि म केमा बहकिरहेकी छु ?
प्रेम हावा हो ?
भ्रम हो ?
या वास्तविकता ?
म दोधारमा अल्झिरहेकी छु ।
साँच्चै हावासँगै बहकिऊँ ?
भ्रमसँगै अल्झिरहूँ ?
या वास्तविकतालाई त्यागूँ ?
किनकि कोही मलाई नभेटेरै
चिनिरहेको छ मभित्रको ‘म’।
कोही मलाई नछोएरै
छोइरहेको छ मेरो तनभित्रको स्पन्दन ।
म थोपा जत्तिकै प्रेममा
डुबेर मर्न लागेको बेला,
सागर जत्तिको प्रेम उर्लिएर
मलाई मोतीको नावमा पर्खिरहेको छ कोही ।
जाऊँ ?
या नजाऊँ ?
मनले ‘जा’ भन्छ,
अतीतले ‘नजा’ भन्छ ।
कसैको धोकाले अल्झाइरहेछ,
फेरि कसैको साथले तानिरहेछ ।
ह्या…
फेरि एकपटक बर्बाद हुनुपर्छ कि !
या कसैलाई बर्बाद गरिदिनुपर्छ !
दूरीले टाढा छ ऊ,
तर महसुस मेरो अँगालोमा ।
थाहा छैन उसको हत्केलामा
फूल छ कि पत्थर ।
मलाई बादलझैँ काखमा राखेर
सुमसुम्याइरहन्छ ऊ ।
म जलिरहेकी छु अतीतको रापले,
के ऊ पानी हो ?
मलाई शीतल दिइरहेछ किन ?
मेरो ओठको रङमा चित्र बनाइरहन्छ ऊ,
मेरो गाजलको अँध्यारोमा दीप बालिरहन्छ ऊ ।
मेरो गालाको कोठीमा हराइरहन्छ ऊ,
मेरो छातीको बीचमा ओछ्यान बिछ्याइरहन्छ ऊ ।
मेरो नाभिको खोपिल्टोमा फिस्लिरहन्छ ऊ,
मानौँ मेरो अङ्ग–अङ्गलाई जुठो बनाइरहन्छ ऊ ।
मलाई नभेटेरै
मसँग रात बिताइरहन्छ ऊ ।
ए, मलाई नछोएरै जुठो बनाइरहेको मान्छे,
यति भनिदेऊ—
अब मलाई भेटेर
चोखो कहिले बनाउनेछौ ?
= = =
सिन्दूरपछि बाँचेकी आमा
बाबुले
आमाको सिन्दूर खोसेर
मृत्युलाई अँगालो हालेको
महिना नपुग्दै,
छिमेकी काकी
चुराको आवाज बजाउदै
मेरो घरको देउरी नाघ्छिन्—
“दिदी,
मेरो पोते चुडियो
गाँसिदिनु न है।”
बैँसमै
सेतो फेरोले बाँधिएकी आमा
अरूको रातो
आफ्ना हातले गाँस्छिन् ।
आफ्नो मन
कहिले चुँडियो
कसले गाँस्यो—
इतिहास मौन छ ।
दोस्रो महिनामै
घरको बारी
आफै सर्दै जान्छ ।
ढुङ्गा खिस्किन्छ,
साँध हराउँछ,
आकाश नजिकिएझैँ लाग्छ ।
म सोध्छु—
“आमा,
हाम्रो आँगन किन साँघुरिँदैछ ?”
आमाले
मनको भग्नावशेष मिलाउँदै
भन्छिन्—
“छोरी,
घरको मुख्य खाँबो ढलेपछि
छायाँ पनि
आश्रय खोज्छ ।
त्यसपछि
म गन्दै जान्छु—
बाबु मरेपछि
के–के जिउँदै गाडियो भनेर ।
छिमेकको अपनत्व,
आफन्तको पाइला,
चाडको रौनक,
गाउँलेले गर्ने व्यवहार !
नाम त
सबैभन्दा पहिले मारियो ।
‘बिधुवा’
‘राँडी’
‘पोई टोकुवा’
र अन्ततः—
‘बोक्सी ।’
बाबु मरेपछि
आमा जिउँदै
बोक्सी बनिछिन् !
गाउँमा
कोही बिरामी परे
दोष आमाको सासमा टाँसियो ।
भैँसीले दूध नदिँदा
मेरो घरको तगारोमा
खुर्सानीको राग पड्काइयो ।
म सोध्थेँ—
“आमा,
तिमी किन सधैं बिरामी ?”
आमाले
आँसु ननिस्किने गरी
निल्दै भनिन्—
“छोरी,
मेरो आफ्नै आखाँ
लागेछ रे ।”
त्यही दिन
म छोरी भएर उभिएँ ।
सिन्दूर खोसिएको दिन
विधवा बनाउने
मृत्यु हो,
तर बोक्सी बनाउने तिमीहरू
सम्झिराख,
मेरी आमा
तिमीहरूको चुप्पीमा
चोट सहेर बाँचेकी हुन् ।
तिमीहरूले
उहाँको निधारको सिन्दूर खोस्यौ,
नाम खोस्यौ,
इज्जत खोस्यौ—
तर
उहाँको साहस खोस्न सकेनौ ।
म
उही साहसको छोरी हुँ ।
अब
मेरी आमाको कथा
डरले होइन,
सत्यले सुनाइनेछ ।
किनकि
तिमीहरूले ‘बोक्सी’ भनेकी
त्यो स्त्री—
मेरो नजरमा
सबैभन्दा ठूलो
योद्धा आमा हुन् ।
= = =
साहेबा भट्टी पसल
एकदिन म तिम्रो शहरमा फर्किन्छु,
प्रेम माग्न होइन,
एउटा सानो भट्टी पसल खोल्न,
जहाँ म आफ्नै पीडा बेच्नेछु ।
साइनबोर्डमा तिम्रो नाम हुँदैन,
तर भित्र पस्दा
हरेक बोतलमा
तिम्रै यादको स्वाद हुनेछ ।
शायद एक दिन
तिमी पनि यही भट्टीमा आउनेछौ,
र म तिमीलाई चिन्दिन जस्तो गरेर
आफ्नै कथा
तिमीलाई नै पिलाउनेछु ।
त्यहाँ आउने मान्छेहरू
आफ्नो दुःख सुनाउन आउँछन्,
र म
तिम्रो कथा सुनाएर
अरूलाई सान्त्वना दिन्छु ।
शायद कसैले सोध्ला,
“किन यो भट्टी यति उदास छ ?”
म मुस्कुराएर भन्छु–
माया यहाँ मरेको हो,
यहाँ बिक्ने रक्सी होइन,
यहाँ त अधुरो प्रेम सस्तो छ,
जो पिउँछ, ऊ हाँस्छ,
तर भित्र–भित्र
मेरो जस्तै फुट्छ ।
गिलास ठोक्किन्छन्,
मान्छेहरू हल्ला गर्छन्,
तर मेरो कानमा
सधैं तिम्रै नाम बज्छ—
DJ छैन,
याद आफैँ remix हुन्छ ।
कसैले भन्छ,
“दाइ, strong केही देऊ,”
म भन्छु,
“strong त माया थियो,
रक्सी त त्यसको
कमजोर विकल्प मात्र हो ।”
कुनामा एउटा खाली कुर्सी राख्नेछु ।
कसैले नबसोस् भनेर होइन,
तिमी कहिले फर्कियौ भने
बस्न ठाउँ होस भनेर
अपसोस त्यस कुर्सीमा धुलो मात्रै बस्छ,
र म हरेक रात
त्यसैसँग कुरा गरेर
मिलन बिछोड्को
दुरी र तडपनको
हिसाब किताब चेक गर्नेछु ।
र अन्तिममा,
सबै घर गएपछि,
म साइनबोर्ड निभाएर भन्छु—
“आज पनि व्यापार राम्रो भयो,
एक बोतल कम बेचियो,
तर एक जिन्दगी फेरि
तिम्रै नाममा सकियो ।”

