साहित्यकार शरद गौतमद्वारा रचित मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ एक विशेष समारोहबीच घोराहीमा भव्य रूपमा विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घ दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा परिषद्का अध्यक्ष टी.आर. रेग्मी (एम. रेग्मी) को अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
विमोचित कृतिमाथि टिप्पणी गर्दै प्रमुख समीक्षक डा. हिमलाल पन्थीले सङ्ग्रहका मुक्तकहरूले समकालीन समाजको यथार्थ चित्रण गरेको उल्लेख गर्नुभयो । उहाँले कृतिमा सामाजिक विकृति, विसङ्गति, पारिवारिक विखण्डन तथा मानसिक तनावजस्ता विषयलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको धारणा राख्नुभयो ।
कार्यक्रममा शरद अधिकारी, खगराज न्यौपाने, पदमप्रसाद शर्मा तथा डा. टीकाराम उदासी लगायतका वक्ताहरूले कृतिको साहित्यिक महत्व र यसको सकारात्मक सन्देशबारे चर्चा गर्दै स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । परिषद्का उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समापन मन्तव्यमा अध्यक्ष रेग्मीले दाङको साहित्यिक क्षेत्रमा उक्त कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा परिवारका तर्फबाट उमङ्ग अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन घनश्याम केसीले गर्नुभएको थियो ।
उक्त समारोहमा पत्रकार, साहित्यकार, साहित्य अनुरागी, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

