साहित्यकार शान्ति खिम्दिङ लिम्बूको नयाँ कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ ललितपुरको तिखेदेवलमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । लामो समयदेखि बेलायतमा बसोबास गर्दै साहित्य, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय लिम्बूको यो चौथो कृति हो ।
ओयाम सरोकार समाज काठमाडौँको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, डा. तुलसी गौतम, कवि विमला तुम्खेवा र समालोचक गुरुङ सुशान्तलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख वक्ता संग्रौलाले कृतिभित्रका कविताहरूले लन्डनस्थित डायस्पोरिक जीवन र मातृभूमिप्रतिको गहिरो भावनालाई थेम्स र तमोर नदीको विम्बमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयाे । समालोचक सुशान्तले कृतिलाई स्मृति, भाषा, संस्कृति र चेतनाको वैचारिक दस्तावेजका रूपमा व्याख्या गर्नुभयाे ।
चलचित्र निर्देशक नवीन सुब्बाले लिम्बूको कवितामा याक्थुङ लिम्बू समुदायको मुन्धुमीय दर्शन, सहअस्तित्व र सामूहिकताको भाव झल्किएको उल्लेख गर्नुभयाे । कवि विमला तुम्खेवाले कृतिमा नारी चेतना, मानवीय संवेदना र पहिचानका विषय सशक्त रूपमा उठाइएको बताउनुभयाे ।
लेखक लिम्बूले आफ्नो जीवनयात्रा ताप्लेजुङदेखि बेलायतसम्मका अनुभव, संघर्ष र भावनाहरूलाई समेटेर कृति तयार गरिएको बताउनुभयाे । “पहिचान, संस्कृति र भावनात्मक अनुभवलाई कवितामा उतार्ने चाहनाले यो कृति जन्मिएको हो,” उहाँले भन्नुभयाे ।
रत्नपुस्तक भण्डारद्वारा प्रकाशित कृतिमा तीन खण्डमा विभाजित ४३ कविता समावेश छन् । कृतिमा वैरागी काइला, मनु मन्जिल, श्रवण मुकारुङ र प्रा.डा. इन्दिरा मिश्रका ‘कभर लेख’ समेत समेटिएका छन् ।
प्रवास र मातृभूमिबीचको संवेदनात्मक सेतु बनेको यो कृतिले समकालीन नेपाली कवितामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

