भोजपुर । पूर्वअर्थमन्त्री तथा कवि–साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतसङ्ग्रह लोकार्पण गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाकै गृह जिल्ला भोजपुरमा लोकार्पण गरिएको हो । कोइराला बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार तथा समाजसेवीका रूपमा परिचित हुनुहुन्छ ।
उहाँले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आईदेउन’ र ‘रुपौली रानी’ लगायत चर्चित गीतहरू रचना गरिसक्नुभएको छ । जन्मभूमिप्रतिको सम्मानस्वरूप कृति आफ्नै जिल्लामा सार्वजनिक गरिएको जनाइएको छ ।
कार्यक्रममा कोइरालालाई कला तथा साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोइरालाले गीत, कला र साहित्यलाई केवल मनोरञ्जनका रूपमा मात्र नलिई समाज परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्न आग्रह गर्नुभयो ।
साहित्यिक तथा सांगीतिक क्षेत्रमा सक्रिय कोइरालाको यो कृतिले पाठकमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।

