काठमाडौं । चर्चित निबन्धकार शङ्कर लामिछानेको ९८औँ जन्मजयन्तीका अवसरमा ‘शङ्कर चर्चा’ कार्यक्रम सम्पन्न भएको छ। शङ्कर लामिछाने प्रतिष्ठानद्वारा अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा उहाँका निबन्ध, कथा तथा साहित्यिक योगदानबारे गहन विमर्श गरिएको थियो।
प्रतिष्ठानकी संरक्षक सविता ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, समालोचक तथा अध्येताहरूले लामिछानेको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभएकाे थियाे । कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, प्रा.डा. गोविन्दमानसिंह कार्की, निबन्धकारहरू पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, ज्ञानेन्द्र विवश, आख्यानकार भागिरथी श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।
वक्ताहरूले लामिछानेको लेखनशैलीलाई मौलिक, गहिरो र कालजयी भएको उल्लेख गर्दै नेपाली निबन्ध साहित्यलाई फराकिलो बनाउने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे । छोटो जीवनकालमै उहाँले समृद्ध साहित्य सिर्जना गरेको र उहाँका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले लामिछानेको स्मृति दिवस र जन्मजयन्ती नियमित रूपमा मनाउँदै आएको जानकारी दिँदै उहाँका नाममा अक्षयकोष स्थापना गरिएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा लामिछानेको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले उहाँको साहित्यिक योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै नयाँ पुस्तासम्म उहाँको सिर्जना पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभएकाे थियाे ।

