साहित्यपोस्ट डट कम

आफ्नै बारेमा शङ्कर लामिछाने

आफ्नै बारेमा शङ्कर लामिछाने

आफ्नो बारेमा लेख्नु सारै अप्ठ्यारो विषय हो । सत्य अभिव्यक्त गर्न चाहेर पनि आफ्नो अज्ञान, दृष्टिदोष तथा पूर्वाग्रहका परिणाम स्वरूप व्यक्त हुन गएका तथ्य यथार्थ सत्य हुँदैनन् । फेरि, प्रवाहित जीवनमा क्षण प्रति क्षणको जुन एक अटूट श्रृंखला छ र जसलाई भविष्यका क्षणहरूको अगाध राशिबाट टिप्दै हामी वर्तमानमा परिणत गर्दै भूततिर आफ्ना अनुभवद्वारा रंगाई हुत्याइरहेछौं – त्यो क्षण स्वयंमा भविष्य/अतीतको बीचको पारदर्शी एक सूक्ष्म यस्तो पदार्थ हो जो निरन्तर परिवर्तनीय छ र जसलाई पकडेर व्यक्त गर्नु पनि सत्यको असीम परिवेशलाई घेरा हाल्नु हो । यो वास्तवमा एक दुष्प्रयास हो ।

र यही दुष्प्रयास नै लेखन कार्य हो; यसैको जगमा उभिएर एक सच्चा लेखकले आफ्नो समयको अव्यवस्थाप्रति विरोध गर्दछ । ऊ जान्दछ उसको विरोधले व्यवस्था सप्रिने होइन तथापि ऊ मौन भएर सहिदिने व्यक्ति बन्नु सट्टा विरोधी बनेर आत्मसन्तुष्टि ओगट्न चाहन्छ ।

र कहिलेकाहीं मलाई लाग्दछ म लेखक होइन । र लेखक भए पनि अत्ति निम्न स्तरको मात्र हुँ कारण मेरा विरोध स्वयंमा निम्न स्तरका छन् । र फेरि कहिलेकाहीं लाग्दछ म एक महान् व्यक्तित्व हुँ, कारण म भेडियाधसानबाट अलग्ग उभ्भिएर कमसेकम विचार गरिदिने क्षमता त राख्दछु, र यदाकदा आतनाद गरिदिन्छु, हुकार भरिदिन्छु । यहाँ त त्यति गरिदिने पाउन पनि गाह्रो छ । र यस्तै विचार आएको बेला शंकर लामिछाने मलाई बडो महान् व्यक्तित्व लाग्छ । लाग्दछ, सृष्टिको आदिम कालदेखिको अटूट एक जन्म-श्रृंखलाको वर्तमान जीवित कडी ऊ बनेको छ; यस बन्नुमा अनेक सम्भावित दुर्घटना घटिदिएन, पुर्खाहरूमध्ये असामयिक मृत्यु कसैको भइदिएन, र ऊ दीर्घ निर्धारित एक योजना अनुरूप जन्मेको हो । यत्ति सब नभइदिंदा, अथवा त्यत्ति सबको तारतम्य मिलेर नै उसको जन्म भएको हो; उसको विकास भएको हो, ऊ जहाँ पुगेको छ त्यहाँ पुगिएको हो । अनि ऊ स्वयंलाई प्रश्न गर्छः-

यदा सर्वे प्रभिद्यन्ते हृदयस्येह ग्रन्थयः ।

अथ मर्योऽमृतो भवत्येतावद्धघनुशासनम् ।। (कठोपनिषद्)

(जुन वेला यस जीवनमै यसका हृदयका सम्पूर्ण ग्रन्थिहरूको छेदन हुन जान्छ, त्यस वेला यो मरणधर्मा अमर भइदिन्छ । यत्ति हो सम्पूण वेदान्तहरूको आदेश ।)

– – – – –

यो उसको श्मशान-ज्ञान वा दर्शन । र यो उसले आफ्नै दाह संस्कार गरेर अर्जेको दर्शन हो । विगतको दश वर्ष एक प्रकारले उसको रोटीपिङको उडान रहेको छ- जमीनबाट उठेर, अकासिएर फेरि ऊ जमीनमा हुत्त्याइयो । त्यस वृत्तीय उडानमा उसका आफ्ना अजित सम्पत्ति स्वतः अलग्गिंदै गए । तिनै समयको विश्लेषण गर्ने प्रयास ऊ गर्दछ यहाँ ।

यहाँनिर छोटकरीमा जीवनको पृष्ठभूमि अलिकति जताउन असल होला । आर्थिक दृष्टिले बाल्यावस्था सम्पन्नतातर्फ ढल्किएर नै बित्यो । पिता र माताबीच मानसिक स्तरमा द्वन्द्व चलेछ मेरो जन्मको केही कालपछि र, पेटमा मेरो भाइ बोकेर आमाले पतिगृह त्याग गरिदिनुभयो सदा सर्वदाका लागि ।

भाइ स्यानै उमेरमा मर्‍यो र उसको सम्झना मलाई पटक्कै छैन- यत्ति हो ऊ बाँचिरहेको भए आजसम्म, शंभु लामिछाने कहलाइन्थ्यो । आमा जीवन यापनको संघर्षमा यक्ष्माको शिकार भई म ८ वर्षको पुग्दा नपुग्दा समाप्त हुनुभयो । आत्म-सम्मानको उहाँलाई शायद आफ्नो रोगभन्दा बढी महत्त्व थियो; उहाँले छिमेककै माइतीको शरण नलिई डेराको आवासमै जीवनको अन्तिम काल गुजार्नु भयो ।

म मावलीको शरणमा लिइए । त्यहीं शिक्षा-दीक्षाको ढाँचा बन्यो र झण्डै १३ वर्षको उमेरसम्म रहें । अनि पिताजीको आगमन भयो र म उहाँसँग नेपाल आए । यो द्वितीय विश्व युद्धको अन्तिम चरणको काल थियो । थियो राणाकालीन युगको चरम बिन्दु । एक प्रमुख राणा परिवारसँग पिताको लामो सेवाको परिणामस्वरूप चढ्दो जवानीमा त्यस व्यवस्थाको समेत राम्रो र नगीचको अध्ययन गर्ने अवसर मलाई मिल्यो । स्वभावले म स्वतन्त्रता-प्रेमी, सम्बन्धले कांग्रेसीको नगीच तथा सहवास काठमाडौंको आन्तरिक प्रशासनको मध्य जस्तै- यो तीन अनौठा परिस्थितिको योगले गर्दा इतिहासको त्यो संक्रमण कालमा म झण्डैझण्डै अप्रत्यक्ष रूपमा केन्द्रविन्दुको छेउछाउमा नै रहन पुगेछु ।

यिनै वर्षहरू हुन्- जसले मेरो लेखकत्वको कच्चा पदार्थ संग्रह गरिदिए; तथाकथित ऐतिहासिक व्यक्तित्व र विभूतिहरूको चरित्रको देखिने र नदेखिने तथा लेखिने र नलेखिने पक्षहरू मेरा समक्ष उद्घाटित भए । आँखा उघारेर मैले तिनलाई हेरिदिएँ- मन पराएर होओस् चाहे मन नपराएर होओस् तिनको म उपर परेको प्रतिच्छाया मैले जोगाउ गरिराखें ।

अथवा, ती मबाट विलग्याउन सकिन र त्यस प्रकार ती अनुभूतिहरू एक प्रकारले मानवीय चरित्रको सूक्ष्म विवेचन गर्न मलाई सक्षम बनाउँदै गए । तीक्ष्ण दृष्टि तथा विवेचनाको विधि मभित्र जसैजसै विकास हुँदै गयो, उसैउसै आफ्नो त्यो शक्तिलाई मैले मानवको, अथवा भनौं, छेउछाउको व्यक्ति विशेषको उद्देश्य, उसको आन्तरिक चाहना र त्यसको परिप्राप्तिका लागि उसले गर्ने प्रयासको नाटकीय पक्षको छनौट गर्ने दिशापट्टि लगाएँ । यसबाट, महानतालाई सन्तुलन कायम गर्ने चारित्रिक लघुता पनि मेरो नजरमा पर्न थाल्यो । र मैले पाएँ देवत्व कसैमा हुँदो रहेनछ पूर्ण रूपमा, काहीं न काहीं तुच्छता पशुत्वको रूपमा उसको व्यक्तित्वसंग लत्रेर भए पनि झुण्डिएको हुँदो रहेछ । अवश्यभावी यस तत्वको चारित्रिक उपस्थितिबाट त्यसको स्वयंमा भएको बोधबाट, मेरो नजरमा कुनै मानिस एकदमै महान् पनि रहेन, एकदमै तुच्छ पनि रहेन । व्यक्तिविशेषमा रहेको यो गुण/अवगुणको म औचित्य पहिलाउँथे, र लाग्दथ्यो, बिचरा ! आफ्नो भूमिका खेलिरहेछ, ऊ जान्दैन मूल नाटकको पटाक्षेप ।

र, आफूमा यस प्रकार विकसित भएको यो गुण, यो औचित्य खोजिटोपल्ने स्वचालित प्रक्रिया नै मेरो स्वयंको लागि अभिशाप सिद्ध भयो । म यस्तो डाक्टर बन्न पुगें जो स्वयं रोग्रसित भयो र अन्यबाट उपचार गराइनुअघि आफ्ना रोगको आन्तरिक अनुभूति र बोधबाट त्रसित भएर बढी रोगी भयो ।

तर यस परिस्थितिको आगमन तथा विकासबारे पनि यहाँ अलिकति छोटकरी व्याख्या गर्नु आवश्यक होला ।

आफ्नो जीवनको उच्चतम कालमा, सकभर मैले अरूहरूको सहयोग र सेवा गर्ने नै पक्ष लिएँ । आफ्नो व्यक्तिगत लाभको भावना मनमा नआएको होइन । आउँथ्यो, तर त्यो मानवीय कमजोरीको आफ्नो पक्षको औचित्यको बोध भएर त्यसलाई बुझी मात्र दिएँ प्रोत्साहित गरिनँ । भोलिका लागि सञ्चय वा सञ्चयका लागि सञ्चय भन्ने आर्थिक दृष्टि रहेन ।

बाल्यावस्थादेखि नै जीवन चिप्लेर बगिरहेको थियो, त्यसमा कहिले खस्रो पथ आउला भन्ने कल्पना र त्यसको निराकरणको अग्रिम सचेतना र सावधानी गरिन कर्काहले । तसर्थ, ‘सबैलाई सक्दो भलो गरेको छु मेरो कुभलो कसले गर्ला’ भन्ने भावनाको उल्टो परिस्थितिका लागि म तयार थिइनँ । मानौं, किनारामा उभ्भिएर इतिहास र व्यक्तिहरूको प्रवाह तरंगित भइरहेको मैले साह नगीचबाट नहेलिएर हेरिरहें, र जुनवेला म उम्भिएको तटको ढुङ्गा पैरोसहित पानीमा झर्‍यो, त्यसवेला मैले पाएँ म पौडी खेल्न त पटक्क जान्दिन रहेछु । पौडन नजाने- पछि, उत्रने प्रयासमा पानी प्रशस्त निलिन्छ ।

पानी मैले प्रशस्त निलें । अप्रत्याशित रूपमा व्यवस्थित व्यवसाय भताभुङ्ग भयो । पहिलो आर्थिक भुइँचालो आयो जीवनमा । त्यसवेला क्रमैले आफ्ना बन्धुबान्धवको परामुखी हुन पुगें म । परामुखी हुन पुग्दैछु भन्ने मासिक क्लेश त बोकेकै थिएँ, ती व्यक्तित्व विमुख भइँदिदा त म झन् विचलित भएँ ।

मामाहरूबाट सबभन्दा ठूलो चोट लाग्यो । आमाको दाइजोमा पाएको जग्गा जमीन गहना गुरियाको नासो उनीहरूसँग रहेको थियो झण्डै चालीस वर्षदेखि । त्यसका आयस्ता र भोग उनीहरूले गरिरहेकोमा उनको आवश्यकता मभन्दा बढी उनलाई छ भन्ने औचित्य देखेर मैले केही माग कहिले गरेको थिइनँ । त्यस भुइँचालोको खंडहरमा उभ्भिएर मैले त्यतापट्टि हेर्दा, पाएँ- त्यो सम्बन्ध त अर्थ- व्यवसायको जगमा उभ्भिएको रहेछ, त्यो त झन् पहिले नै भूमिसात् गराइसकिएको ।

मेरा आत्मविश्वास ढले ।

मेरा विश्वासलाई सजग गराउन पर्‍यो, क्षणिक आवेशमा भए पनि तिनको सक्रियतामा हुकिनुपर्‍यो । रक्सी खाए एक स्मृतिपूर्ण विस्मृतिको वातावरणमा, बाँच्नु सिक्नलाई ।

मात्रा ठीक हुञ्जेल, स्मृति र विस्मृतिको सन्तुलन कायम राखुञ्जेल म विगतबाट खोस्राकखुस्रक गरी कोसेली खोज्थें, तिनलाई सम्झनामा, लेखनीमा, सहवासमा प्रयोग गर्दथे । चोटको वेदना, सच्चा अनुभूतिको पदार्थ तथा आर्थिक जेजस्तो उपलब्धिको एक सन्तुलित सम्मिश्रणको परिणाम स्वरूप केही विशिष्ट आत्मपरक निबन्ध त्यस कालमा लेखिए । तिनको औचित्य उसवेला मैले गरें, र आज पनि गर्दछु ।

यसवेला गएर डाक्टरले आफ्नो लागि आफै बनाएको मिक्सचरको मात्रा गोलमालियो । बन्धुवान्धव त गुमिसकेका थिए । अब क्रमशः साथीहरूको सहानुभूति पनि सुक्दै थियो । रक्सी खाए पनि, लेखकीय हृषता र चारित्रिक विश्लेषणको क्षमता मेरो बोधो भएको थिएन । मित्रहरूको उपेक्षाको मात्रा बढेको बोध हुनासाथ मेरो पिउने मात्रा बढ्ने । मेरो पिउने मात्रा बढेको बोध हुनासाथ मित्रहरूको उपेक्षाको मात्रा बढ्ने । गँगटो-सर्प-भ्यागुतोको विश्व-प्रसिद्ध नियमानुसार, सचेत हुँदाहुँदै पनि, घटना-क्रममा मेरो नियन्त्रण दिनप्रति दिन शिथिल हुँदै गयो ।

अनि त, रक्सी खान पैसाको आवश्यकता, पैसा कमाउन रक्सी खाई स्मृति-विस्मृतिको संधिरेखामा उभ्भिनुपर्ने आवश्यकता, र जन-सम्पर्क गर्न नचाहने र जनसम्पर्क विना लेखनीयता नतिखारिने यस्तो एक विषम परिस्थिति बन्न पुग्यो ।

त्यसवेला म पूर्ण रूपेण रक्स्याहा भएँ । अंग्रेजीमा त्यस अवस्थालाई अल्कोहोलिक भनिन्छ । अलिकति नखाईकन हात खुट्टा स्थिर नहुने, मगजले काम नगर्ने । खाएपछि आत्महीनता कम हुँदै जाने, आफू सक्षम छु, अझै केही बिग्रेको छैन, अझै परिस्थितिसँग जुध्न लायक छु भन्ने बोध हुने । नखाँदा, मेरा आफ्नाहरूले धोखा दिए भन्ने मात्र भावना आउने; खाएपछि, म तिनलाई फेरि वशीभूत गर्न सक्छु, तिनलाई फेरि मेरो अगाडि निहुराउन सक्छु वा सक्छु पूर्णरूपेण बहिष्कार गर्न, ती विना पनि मेरा जीवन अपरिपूर्ण रहँदैन भन्ने भावना ।

यो अवस्था थियो मेरो बिहान चिया-पानको सट्टा सुरा-पान गर्ने बेलाको । र मेरो पारिवारिक जीवनको ह्रासको ।

आफ्नै पत्नी, पुत्र र पुत्री अगाडि आफ्नो व्यक्तित्व खिइँदै जाने अवस्थाको । आफ्नो कमजोरी, त्यो रक्स्याहा-पन र त्यसको विषम जकडबन्दी, त्यसलाई उनीहरूको नजरमा पर्न नदिन, छल, कपट, छूट सारा व्यवधानको सहारा लिएर कुनै प्रकार बिहानै केही घुट्को निल्न पाए उनीहरूसित सामान्य व्यवहार गर्न सकिन्छ भन्ने चाहनाको, तर उनीहरू बुझ्ने, बुझेर पनि नबुझेको जस्ता गरिदिने, र उनीहरूले बुझेर पनि नबुझेको भान गरेको मलाई ज्ञान भएर त्यस ज्ञानबाट त्यही वेदना तेब्बर तीव्र भई प्रहार हुने म उपर । अनि लाग्ने या सारा व्यवस्थापित व्यवस्थापन, यो सारा जुडेका सम्बन्ध, यो सारा परिचितहरूबाट म पन्छिऊँ ।

निराकरणका तीन उपाय थिए: मृत्यु, विच्छेद वा विस्मृति । सबैभन्दा सहज थियो तेस्रो, त्यसकै सहारा लिन्थे । र सकभर संवेदनशील अवस्थामा परिवारको सम्मुख पर्नबाट पन्छिन्थें ।

यो सब अवस्थाको बोध थियो मलाई र म निराकणको उपाय पनि अवस्था र शक्तिले भ्याएको वेलामा सोचिटोपल्थे । आफू मलाई कुनामा घेरिएको बिरालो जस्तो भान हुने र मौका पाए तीनमा जुनैलाई पनि कम्टा मार्न दाउ हेरिरहेको लाग्ने ।

जेसुकै होओस्, तिनैताक एउटा विचार आयो मेरो मनमा । कैयन् दशकदेखि आफूले सिर्जेर मेहनत साथ हुर्काएको जुन मेरो सामाजिक, पारिवारिक, आर्थिक र वैयक्तिक एउटा स्तर थियो, त्यहाँबाट म खस्किसकें । त्यो जहाज डुबिसक्यो मेरा लागि र म त चकनाचूर्ण भएको जहाजको एक काठको टुक्रामा उत्रिरहेछु । र मैले नवीन जन्म लिनैपर्छ ।

पैंतालीस वर्षको उमेरमा आएको यो विचार ज्यादै भयावह थियो ।

– – – – –

वरिपरि हेरें ।

मेरा जन्मगत धारणाहरू सबैतिर चूर्ण भैसकेका । राजनैतिक मान्यता देश र समाजका लागि अफाप सिद्ध भएर अफालिएको र त्यसको उत्तराधिकारीको रूपमा आएको व्यवस्थाले जरा हालिसकेको । त्यसमा सक्रियता ओगट्ने व्यक्तित्वहरू भिन्न; तिनको दृष्टिकोण, क्रियाकलाप र भूमिका अलग ।

सामाजिक प्रवाह अर्कै ।

पारिवारिक सहिष्णुता अर्कै ।

व्यक्तिगत सम्बन्धहरू समाप्त प्रायः ।

– – – – –

र म जहाजको जुन टुक्रे काठमा उत्रेको रहेछु त्यसभन्दा बाहेक अरू सहारा पनि रहेनछ मेरा लागि ।

त्यसलाई हेरें । मनोरञ्जनका साधनका रूपमा अंगीकार हुन आइपुगेको त्यस तत्वलाई; यो एक दशकको स्वग्नऐंठन बीच कुन प्रकारले त्यो वस्तु एक विलासबाट यथार्थ र यथार्थबाट पनि आवश्यकतामा परिणीत भैसकेछ । त्यो स्वप्नऐंठनबाट ब्युँझेर हेरें; देखें, म मात्र एकातिर अफालिएको रहेछु, अन्य सारा कुरा त आफ्ना स्वचालित गतिमा प्रवाहित नै रहेछन् । सारा विधि-विधान, सारा सम्बन्ध, सारा वोधको केन्द्रविन्दु मैले आफूलाई ठानेको थिए । लागेको थियो म भइनँ भने मेरा परिवार, बाल- बच्चा मित्रगण, बन्धुबान्धव साराको गतिमयतामा नराम्रो आघात पर्नेछ । देखें, केही कुनै फरक आएको छैन । फरक आएको छ भने स्थिरताको ममा, र मप्रति हेरिदिने उनको दृष्टिमा ।

मनमनै भनें, ‘शंकर, गुण्टा कस । अब उकालो लाग्नु छ ।’

यहाँ लाग्दछ, मैले अघि प्रारम्भमा भनेझैं, मैले सत्य पूर्णतया व्यक्त गर्न सकेको छैन । भनौं न, मेरो जीवनका उत्कृष्टकाल, झण्डै आधाभन्दा बाँचिसकेको जीवन, त्यसमा रहेका सम-विषमको व्याख्या के अत्ति छिटो र छरितो रूपमा सम्भव छ होला । दशौं वर्षका जटिल जुन समस्या थिए, जुन प्रकारले निस्सासिएर मैले तिनलाई भोगें- ती सबलाई आज मैले औचित्यको सहारा लिएर जसरी व्यक्त गरें, ती ठोक छन् त ? के मैले व्यक्त गरेका कारणहरूमा स्वयंको अपराधलाई बोधो पार्ने, अर्काको अपराधलाई धारिलो पार्ने र सम्पूर्ण रूपमा कसोकसो ती सब घटनाहरू एक भवितव्यको कोल्टामा थुपारिदिने इच्छा र त्यसकै प्रलोभनमा प्रस्तुत हुन पुगेका औचित्य त होइनन् ?

यो प्रश्न समाधान भएको छैन, र बसिबियाँलो म मनका जङ्गलमा यसको खोजी पनि गर्छु ।

र यो प्रश्न समाधान नभएबाटै, मलाई लाग्दछ अझै मेरो मृत्यु भएको छैन । र प्रश्नलाई प्रश्नकै रूपमा प्रस्तुत गर्न सकेकोमा मेरो लेखकीयपन मरेको रहेनछ, सो पनि ढाडस हुन जान्छ ।

हो, संवेदनशील म त्यति छैन, जत्ति पहिले थिएँ । अनुभवहरूको ठेलाले मलाई दार्शनिक हुन घचेटिरहेछ । म सब कुरा नयाँ सन्दर्भमा नयाँ रूपमा सिर्जना गर्न चाहिरहेछु ।

तर भोगिसकेको ४८ वर्षको आयु, र त्यसको मैल, त्यति सहज कहाँ पखालिंदो रहेछ र ? नवीन जीवनको चाहना गरेर पनि तिनको निर्माणका लागि चाहिने कच्चा पदार्थ त उही पुरानै गर्भबाट खोस्रनु पर्ने रहेछ । भविष्य निर्माण गर्न सकिएला तर भूत मटियामेट गर्न सकिंदैन ।

बेसै छ । भविष्यका चिन्ता र संघर्ष मेरा सन्तानहरूको जिम्मा । जुन प्रकार मेरा पुर्खाहरूको असंख्य कडीलाई जोड्दै म आएँ, र जुन प्रकार आफ्नो स्वयंको शक्ति अनुरूप मैले संघर्ष गरें, हारें, व्युँझेर पुनः संघर्ष गर्न तत्पर छु – त्यही प्रकार त्यो क्रम, त्या प्रवाह चालू रहनेछ, त्यसमा म आश्वस्त छु ।

त, मेरो आफ्नो क्षमता र अस्तित्वको के हो अर्थ छैन अब ? होइन, यो तत्कालीन क्षण, यो आत्ति वर्तमानको पारदर्शी झीनो पर्दा चिन्नु, त्यसमा अस्पष्ट प्रतिविम्बित छायालाई रेखा प्रदान गर्न सक्ने प्रयास गर्नु नै- भेडाधसानबाट अलग्गिने मेरो जन्मसिद्ध अधिकारको उपयोग गर्नु नै स्वयंमा सञ्चारित प्रक्रिया हो ।

यो मरेको छैन र म पनि मरेको छैन । र आज सम्मको अविकृत, अकाट्य र अन्तरतम सत्य यही नै पनि हो ।

शं. ला.

२७।१।२०३२

(‘संग्रहप्रकाशन श्रीमार्ग’ द्वारा छपाइएको ‘शंकर लामिछाने’ पुस्तिकाबाट)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.