काभ्रे । अक्षरमार्गको आयोजनामा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाउनुभएकाे थियाे ।
यस वर्ष ‘श्रीराम–जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार तथा लेखक सुकृत नेपाललाई, ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह–तुलसा स्रष्टा सम्मान’ मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो । सम्मान प्रमुख अतिथि विष्णुविभु घिमिरे, विशिष्ट अतिथि स्नेह सायमी र कवि सूर्यप्रसाद लाकोजूले संयुक्त रूपमा प्रदान गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि घिमिरेले कविता केवल भाव अभिव्यक्ति नभई समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै “के लेखियो भन्दा कसरी लेखियो महत्वपूर्ण हुन्छ” भन्ने धारणा राख्नुभयो । स्नेह सायमीले ‘आशा’ कविता वाचन गर्दै वसन्तलाई विचारसँग जोड्नुपर्ने बताउनुभयाे भने कार्यक्रमका सभापति सूर्यप्रसाद लाकोजूले कविताले स्रष्टाहरूलाई एउटै सूत्रमा बाँध्ने शक्ति राख्ने उल्लेख गर्नुभयाे ।
कवि लक्ष्मी मालीको ‘मेरी छोरी’ कविता वाचनसँगै उद्घाटन गरिएको कार्यक्रममा तीन दर्जनभन्दा बढी कविहरूले समकालीन समाज, राजनीति, संस्कृति र व्यक्तिगत अनुभूतिका विविध आयाम प्रस्तुत गर्नुभयाे । विभिन्न कविताहरूले पुस्तान्तरण, सामाजिक विडम्बना, समयचेतना, देशप्रेम र परिवर्तनका विषयलाई सशक्त रूपमा उजागर गर्नुभएकाे थियाे ।
कार्यक्रममा रामसुन्दर देउजाका मुक्तक, रामकुमार पण्डितको व्यङ्ग्यात्मक कविता, भीमप्रसाद काफ्लेको अनुभूतिमूलक प्रस्तुति तथा बिमला शर्मा र सुभद्रा अधिकारीका कविताले विशेष आकर्षण थपेकाे थियाे ।
इन्द्रेश्वर क्याम्पसको संयोजनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष तुयुकाजी ताम्राकारले कवि समयका द्रष्टा हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सुभद्रा अधिकारीले गर्नुभएको थियो ।
‘शब्दमा वसन्त, भावमा जीवन’ नारासहित सम्पन्न उक्त कार्यक्रमले पनौतीमा साहित्यिक गतिविधिलाई थप ऊर्जावान बनाएको सहभागीहरूले बताएका छन् ।

