चैतको मृदुल बिहानी उज्यालोमा आज फेरि एउटा नाम उजागर भयो– शङ्कर लामिछाने । समयका अनेक क्षण पार गर्दै, स्मृतिका सुषुप्त तहहरूबाट उठेर उनी फेरि शब्द, स्वर, संवेदना र अनुभूतिहरूमा उपस्थित भए । मानौँ, उनी स्वयं त्यहीँ कतै बसेर सुनिरहेका, मुस्कुराइरहेका र कहिलेकाहीँ आफ्नै कृतिमा जीवनलाई फेरि परिभाषित गरिरहेका छन् ।
वस्तुतः ९८ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘शङ्कर चर्चा’ कार्यक्रम एउटा भावनात्मक पुनरागमन थियो । साहित्यको गहिराइमा डुबुल्की मार्ने एउटा सामूहिक प्रयत्न थियो । शब्दहरूमा बाँचिरहने मानिसलाई सम्झनु भनेको उनको संवेदनाको संसारमा प्रवेश गर्नु पनि हो । आज त्यही प्रवेशद्वार खोलिएको थियो ।
सभाको वातावरणमा एक प्रकारको आत्मीयता थियो । कुनै औपचारिकता नभएको, तर हार्दिक सम्मानले भरिएको । सबै उपस्थितहरूलाई ‘आमन्त्रित अतिथि’ भनेर सम्बोधन गर्नु आफैँमा एउटा सांस्कृतिक संकेत थियो– शङ्करको साहित्य जस्तै– नयाँ । त्यसमा कुनै विभाजन, कुनै दूरी थिएन मात्र आत्मीयता थियो ।
उनकी बहिनी सविता ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमले एउटा पारिवारिक न्यानोपन पनि बोकेको थियो । त्यही न्यानोपनले शङ्कर लामिछानेको व्यक्तित्वलाई अझै नजिक ल्यायो । अर्की बहिनी सङ्गीता शर्माको उपस्थिति पनि रगतको सम्बन्ध मात्र होइन, भावनाको सम्बन्ध पनि त्यही स्मृतिको निरन्तरता थियो ।
कार्यक्रममा वक्ताहरूले शङ्करलाई आ–आफ्ना कोणबाट देखे । कसैले इतिहासको दृष्टिले, कसैले साहित्यको सौन्दर्यबाट, कसैले व्यक्तिगत अनुभूतिबाट । तर सबैका शब्दहरूमा एउटा साझा स्वर थियो– श्रद्धा ! त्यो श्रद्धा कुनै औपचारिक सम्मान थिएन, त्यो त शब्दका शिल्पीप्रति गहिरो कृतज्ञता थियो ।
शङ्कर लामिछानेका निबन्धहरू विचारका प्रस्तुति होइनन्; ती जीवनका सूक्ष्मतम कम्पनहरूको अभिव्यक्ति हुन् । उनले देखेका दृश्यहरू सामान्य थिएनन्– त्यसमा गहिरो अर्थ लुकेको हुन्थ्यो । उनले लेखेका वाक्यहरू वाक्य होइनन्– त्यो अनुभूतिको ध्वनि हो, जुन पाठकको मनभित्र गुञ्जिरहन्छ ।
कार्यक्रममा ती सबै ध्वनिहरू पुनः जागृत भए । प्रत्येक वक्ताको मुखबाट निस्केका शब्दहरूले शङ्करको साहित्यलाई नयाँ सन्दर्भमा पुनःस्थापित गरिरहेका थिए । मानौँ समयले उनलाई पुरानो बनाएको छैन; बरु अझै सान्दर्भिक बनाएको छ । त्यसैले लामिछानेलाई सम्झनु भनेको एउटा व्यक्तित्वलाई, एउटा दृष्टिबाट अर्को नयाँ शैलीलाई सम्झनु पनि हो । नभन्दै ‘शङ्कर चर्चा’ त्यसैको सजीव प्रमाण बनेको थियो ।
कार्यक्रमको दोस्रो चरणतिर पुग्दा, शब्दहरू अझ गहिरिँदै गए– मानौँ प्रत्येक वक्ताले आफ्ना अनुभूतिको भित्री तह खोलेर शङ्कर लामिछानेको कृतित्वलाई स्पर्श गरिरहेका थिए । उनीहरूका भनाइ मात्र टिप्पणी थिएनन्; ती आत्मस्वीकृति थिए– एक महान् स्रष्टासामु आफूलाई उभ्याउने प्रयास । अनुशरण गरिरहेको कुरा र प्रभाव लिएर लेखिरहेको सन्दर्भ जोडिदै थिए ।
समालोचक प्रमोद प्रधानले शङ्करको लेखनलाई विशिष्टताको उचाइमा राख्दै देवकोटाले शुरु गरेको निबन्धको बाटोलाई फराकिलो बनाउने स्रष्टाका रूपमा व्याख्या गर्नुभयो । उहाँका भनाइमा शङ्करको कृति र व्यक्तित्व एकअर्काका पर्याय हुन्– जहाँ जीवन र लेखनबीच कुनै दूरी छैन । साहित्यका खाली ठाउँहरू भर्ने काम उनले गरेका छन् भन्ने प्रधानको दाबीले शङ्करको योगदानलाई अझ स्पष्ट बनायो ।
मन्तव्यहरूको क्रमसँगै विचारहरू अझ परिपक्व र गहिरा बन्दै गए । प्रा.डा. सुरेन्द्र केसीले साहित्य र राष्ट्रको सम्बन्धलाई जोड्दै– कुनै पनि देशको समृद्धि त्यस देशको साहित्यमा झल्किन्छ । उनका शब्दहरू केवल अभिव्यक्ति थिएनन्, चेतावनी पनि थिए– साहित्यलाई राजनीतिको अखडा बनाउनु हुँदैन । केसीले शङ्करलाई समयको साक्षी मात्र नभई समयकै व्याख्याकारका रूपमा चित्रित गर्नुभयो । उहाँको शब्दमा, शङ्करका निबन्धहरूले इतिहासका सूक्ष्म छायाँहरू बोकेका छन्– जहाँ व्यक्ति, समाज र समयको अन्तरसम्बन्ध सजीव भएर आउँछ ।
त्यसैगरी, प्रा.डा. गोविन्दमानसिंह कार्कीले शङ्करको भाषा र शैलीको विशिष्टतालाई विशेष रूपमा उठाउनुभयो । उहाँका शब्दमा, ‘शङ्करको लेखन सरल देखिन्छ, तर त्यसको गहिराइ असाधारण छ ।’ कार्कीले शङ्कर लामिछानेको साहित्यिक यात्रालाई गुरु–शिष्य परम्परासँग जोड्दै प्रस्तुत गर्नुभयो । गोपालप्रसाद रिमाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता महान् स्रष्टाहरूको छायाँमा हुर्किएर, ईश्वर बराल, भूपि शेरचन र भीमदर्शन रोकाजस्ता समकालीनहरूसँग प्रतिस्पर्धा गर्दै शङ्करले छोटो आयुमा असाधारण सिर्जना गर्न सके । यो कुरा आफैँमा प्रेरणादायी छ । घरायसी परिस्थितिका कठिनाइ चिरेर साहित्यमा लाग्नु– यो केवल साहस मात्र होइन, समर्पणको चरम अभिव्यक्ति हो भन्ने कार्कीको धारणा गहिरो लाग्थ्यो ।
कार्यक्रमको आरम्भसँगै एउटा गम्भीर तर उज्यालो स्वर गुन्जियो– शङ्कर लामिछानेको बहुआयामिक व्यक्तित्वबारे । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीका शब्दहरूले त्यो आरम्भलाई अर्थपूर्ण बनायो । उनले शङ्करलाई निबन्धकारको सीमित घेराभित्र होइन, बरु कथाकार, जीवनीकार र नेपाली साहित्यमा पहिलो हाइकु लेख्ने स्रष्टाका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले लामिछानेको पहिलो हाइकु वाचन गरेर सुनाउनुभएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ का शब्दहरूमा एक प्रकारको भावुकता र जीवनदर्शन मिसिएको थियो । उहाँको विचार थियो– ‘लामिछानेले हिँडिरहेको बाटोलाई छोडेर नयाँ बाटो खन्ने काम गरे, जुन अरू कसैले गरेको थिएन । जिउँदै धेरै मरिरहेका बेला, थोरै समय बाँचेर कहिल्यै नमर्ने गरी शङ्कर लामिछाने गए ।’
रोदनको यो वाक्यले नै शङ्करको सम्पूर्ण जीवनलाई समेटेजस्तो लाग्थ्यो । लामिछानेको सुसज्जित र आकर्षक उपस्थितिको अर्को पाटो खोल्दै उहाँले भन्नुभयो– ‘टाई–सुट, टिलिक्क परेको जुत्ता, सुगन्धित परफ्युम– यी सबैले एउटा सन्देश दिन्थ्यो– साहित्यकार विचारमा मात्र होइन, जीवनशैलीमा पनि सुन्दर हुनुपर्छ ।’
रोदनका यी शब्दहरूमा शङ्करको इमानदारी, स्पष्टवादिता र खाइलाग्दो व्यक्तित्वप्रति गहिरो सम्मान झल्किन्थ्यो । फलतः कवि भनेको झुत्रेझतौरे, गरीब हो भन्ने मानसिकताबाट त्यो बेला नै उनले आफ्नो राजकीय शान गर्वका साथ सार्वजनिक गरेको विचार उहाँको थियो ।
आख्यानकार भागिरथी श्रेष्ठले शङ्करको लेखनशैली आफ्नो लागि आकर्षणको विषय रहेको बताउनुभयो । पारिजातको ‘शिरिषको फूल’ उपन्यासमा शङ्करले लेखेको भूमिका ‘सुनमाथि सुगन्ध’ जस्तै भएको बताउँदै शङ्करको शब्दशिल्प अत्यन्तै प्रभावकारी र सजीव रहेको अनुभव सुनाउनुभयो ।
साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले शङ्करका कृतिहरूको चर्चा गर्दै आफ्ना सिर्जनात्मक अनुभवहरू पनि बाँड्नुभयो । यसले कार्यक्रममा एउटा अन्तरसंवादको रूप ल्यायो– जहाँ अतीत र वर्तमानबीच संवाद भइरहेको अनुभूति भयो ।
साहित्यकार पवन आलोकले शङ्करलाई ‘आत्माको लेखक’ भनेर सम्बोधन गर्दै शङ्करका निबन्धहरू पढ्दा पाठकले लेखकलाई होइन, आफूलाई भेट्छ । त्यो भेट आत्मीय हुन्छ, कहिलेकाहीँ पीडादायी पनि, तर सधैँ सच्चा हुने धारणा राख्नुभयो । उहाँले शङ्करलाई कालजयी स्रष्टाका रूपमा स्मरण गर्दै, उनको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाएकोमा आफूलाई गर्व लागेको बताउनुभयो ।
यी पङ्क्ति लेखकले पनि आफ्नो मन्तव्यको क्रममा शङ्करको प्रभाव आफ्नै लेखन यात्रामा पर्नु र उनको नामको पुरस्कार पाउनुले आफूलाई प्रोत्साहित पारेको यथार्थ बताएँ । मेरो स्वीकारोक्ति थियो– शङ्करलाई पढेपछि मात्र मैले आफूले निबन्धको वास्तविक स्वरूप बुझ्न थालेँ । मेरा लागि शङ्कर आदर्श मात्र होइनन् साहित्यिक मार्गदर्शक पनि हुन् ।
श्रीबाबु कार्कीले शङ्करको जीवन र लेखनबीचको एकात्मकतालाई जोड दिनुभयो । उहाँका अनुसार, शङ्करले जस्तो जीवन बाँचे, त्यस्तै लेखे– कुनै कृत्रिमता बिना, कुनै आडम्बर बिना । यही सरलता नै उनको सबैभन्दा ठूलो शक्ति हो ।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले चैत महिनाको नवरात्रिको पहिलो दिनमै परेको शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीको प्रसङ्ग उठाउँदै माघ १० गते स्मृति दिवस र चैत ५ गते जन्मजयन्ती मनाउने परम्पराको उल्लेख गर्नुभयो । उनका बहिनीको पहलमा स्थापित थप २५ लाखको अक्षयकोष र त्यसअन्तर्गत सञ्चालनमा आएको ‘शङ्कर लामिछाने पुरस्कार’ ले शङ्करको नामलाई इतिहासमा होइन, वर्तमान र भविष्यमा पनि जोगाइराख्ने प्रयत्न गरिरहेको छ ।
कार्यक्रमको सभापति सविता ढुङ्गानाका शब्दहरू सबैभन्दा भावुक बने । दाजु शङ्कर लामिछानेप्रति उहाँले व्यक्त गरेको श्रद्धाञ्जली औपचारिक थिएन; त्यो त जीवनभरको सम्झनाको संक्षेप थियो । उहाँका आँखामा झल्किएको भावनाले शङ्करको अनुपस्थितिलाई अझ गहिरो रूपमा सम्प्रेषण गरायो ।
प्रतिष्ठानका कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गर्दै आफ्नो बाल्यकालको स्मृति बाँड्नुभयो– आठ वर्षको उमेरमा ‘मेरो फूलबारी’ शीर्षकको कविता लेख्दा उहाँबाट पाएको कापी–कलम । त्यो मेरो लागि पुरस्कार मात्र थिएन; त्यो त सिर्जनाको पहिलो स्पर्श थियो । साथै, शङ्कर दाइकै प्रेरणाले विश्वका चर्चित कथाहरू पढ्न पाएको सम्झनाले मलाई आफ्नो साहित्यिक यात्राको आधारशिला निर्माण गर्न मद्दत गरिदियो ।
यसरी, प्रत्येक शब्दले शङ्कर लामिछानेलाई फेरि जीवित बनायो । उनी केवल अतीतका स्रष्टा होइनन्; वर्तमानका प्रेरणा र भविष्यका मार्गदर्शक पनि हुन् भन्ने अनुभूतिले अझ गहिरो बनायो ।
अन्ततः, यो सम्पूर्ण ‘शङ्कर चर्चा’ एउटा बिसौनी जस्तो लाग्यो– जहाँ हामी केही क्षण रोकिन्छौँ, सास फेर्छौँ र फेरि अगाडि बढ्ने शक्ति सञ्चित गर्छौँ । शङ्कर लामिछाने त्यही बिसौनीका छायाँ हुन्– जहाँ थाकेको चेतनाले विश्राम पाउँछ । नयाँ यात्राले साहस बटुल्छ ।
अतीत र वर्तमानबीच, व्यक्ति र समाजबीच, अनुभूति र अभिव्यक्तिबीच उनी शब्दका शिल्पी र संवेदनाका सेतु थिए । समयले उनको शरीरलाई नफर्किने गरी टाढा लग्यो, तर उनको उपस्थिति अझै यतै छ– हाम्रो पढाइमा, हाम्रो लेखाइमा, हाम्रो सोचाइमा । यसैले, शङ्कर लामिछानेलाई सम्झनु श्रद्धाञ्जली अर्पण गर्नु मात्र होइन; आफूभित्रको संवेदनशीलतालाई पुनःजागृत गर्नु पनि हो । उनी बाँचिरहेका छन्– हरेक शब्दमा, हरेक अनुभूतिमा र यस्तै प्रत्येक बिसौनीहरूमा, जहाँ हामी जीवनलाई फेरि एकपटक गहिरो रूपमा महसुस गर्न सिक्छौँ ।
यसरी, प्रत्येक वक्ताले आफ्ना शब्दमार्फत शङ्कर लामिछानेलाई पुनःनिर्माण गरे– कसैले विचारमा, कसैले भावनामा, कसैले शैलीमा । तर अन्ततः सबैले एउटै कुरा स्वीकारे– शङ्करलाई पूर्ण रूपमा परिभाषित गर्न सम्भव छैन । उनी त अनुभव हुन्, अनुभूति हुन् र सधैँ अधुरो तर सुन्दर रहने एउटा साहित्यिक रहस्य हुन् ।
कार्यक्रमको अन्त्यतिर पुग्दा, यस्तो लाग्यो– शब्दहरू सकिए, तर अनुभूति बाँकी रह्यो । शङ्कर लामिछाने फेरि एकपटक उपस्थित भएर गएका थिए– नदेखिने तर गहिरो रूपमा अनुभूत हुने उपस्थितिमा !

