साहित्यपोस्ट डट कम

शब्दब्रह्मवाद

शब्दब्रह्मवाद

इदमन्धं तमः कृत्स्नं जायेत भुवनत्रयम् ।

यदि शब्दाह्वयं ज्योतिरासंसारं न दीप्यते ।।

यसको आशय शब्दरूपी ज्य‍ोति संसारमा नभएको भए तिनै लोक अन्धकार हुन्थ्यो, भन्ने हुँदो रहेछ । यस्तो शब्द( वाणी) को महिमागान गर्ने व्यक्ति काव्यचिन्तक साथै महाकवि दण्डी हुन् । यो श्लोक वाल्मीकि विद्यापीठको भित्तामा लेखिएको थियो । इमेल इन्टरनेट आइसकेको भए पनि व्यापक भइसकेको समय थिएन । २०६३ सालतिरको कुरा हुनुपर्छ । वाल्मीकि विद्यापीठको भित्तामा अहिले यो श्लोक छ/छैन थाहा भएन । त्यतातिर नगएको लामै समय भइसक्यो । एम. ए. पढ्दै गर्दा भाषाविज्ञान पढ्नुपर्थ्यो । कुनै एक लेखकको भाषाविज्ञानसम्बन्धी परिभाषामा यो श्लोक थियो । धरोधर्म संस्कृत पढेको भन्न लाज लाग्नुको कारण यही श्लोक अर्थ पनि राम्ररी गर्न नसक्नुले हो । य‍सले शब्दको विशेषता राम्रै गरी वर्णन गरेको छ । मानवबाहेक अन्य जीवजन्तुहरू पनि आफ्नो व्यवहार गर्छन् नै । उनीहरूको पनि सञ्चार प्रक्रिया पक्कै छ । यस विषयमा अध्ययन अन्वेषण पनि भइरहेका होलान् तर हामी भाषाबिनाको मानव समाजको परिकल्पना पनि गर्न सक्दैनौँ । भाषा जुनसुकै भूगोल र बनोटको किन नहोस्, हाम्रा लागि अत्यावश्यक छ । सञ्चार यसमै निहित हुन्छ । मानवीय उच्चारण अवयवसहित उच्चारण नभएका सङ्केतद्वारा गरिने क्रियाकलाप पनि सङ्केत भाषाभित्र पर्छ । त्यसैले दण्डीले ‘काव्यादर्श’ मा भाषाको उच्च विशेषता वर्णन गरेका होलान् ।

हरिणाप्याह यस्तो र कतै हरिणा उक्तम् यस्ता शब्दहरू ‘परमलघुमञ्जुषा’ पढ्दा आउँथ्यो । त्यस समयमा धेरै चासो राखिएन पनि । पढाउने गुरुले “हरिले भनेका छन्” भने पछि कुन हरि भन्दै खोजी गरिएन । स्फोट, शब्दशक्ति पढ्दै गर्दा यस्ता भनाइ बिच बिचमा आइरहन्थे । अहिले आएर बुझ्दा अनुसन्धानमा जसबाट सन्दर्भ लिइएको हुन्छ, त्यसको स्रोत खुलाउनुपर्छ भन्ने सिद्धान्त छ । अनुसन्धान पद्धति कुन ढाँचाको छ, त्यसको सिद्धान्तमा रहेर स्रोत देखाउने काम गरिन्छ । माथि हरिजस्ता शब्दले मूल स्रोतलाई पो सङ्केत गरेको रहेछ त । त्यसको आफ्नै शैली र विशेषता हुँदो रहेछ । यसो नगर्नु बौद्धिक चोरी हो र यसलाई अचेल परीक्षण पनि गर्ने गरिन्छ । अनुसन्धान नयाँ ज्ञान प्राप्तिका लागि गरिने प्राज्ञिक कार्य भए पनि संसारमा नयाँ चाहिँ छ के ? संसारमा नभएको कसरी ल्याउन सक्छ मान्छेले ? भएकै कुराको खोजी, पुनर्पुष्टि र थप व्याख्या हुनुपर्ने हो । प्रहरीहरूले घटनाको अनुसन्धान गर्दा नभएको पत्ता लगाउने नभई भएकै अथवा घटेकै घटनाहरूको तथ्यपरक खोज गर्ने मात्र हो जस्तो लाग्छ । त्यसैले सन्धान नभनेर अनुसन्धान भनियो । सन्धानको अर्थ खोजी हुन्थ्यो शायद, अनुसन्धानको अर्थ पुन: खोजी भन्ने भयो । बौद्धिक चोरी हुन नदिने र अरुले प्रतिपादन गरेको सिद्धान्त अथवा अन्यको मिहिनेतप्रतिको कृतज्ञता पनि हो, स्रोत उल्लेख । यो प्रचलन पौरस्त्य भूमिमा पहिलेदेखि नै रहेछ । त्यहाँ प्रशस्त खण्डनमण्डनको प्रचलन छ । खण्डनमण्डनमा प्रत्यक्ष परोक्ष रूपमा स्रोत खुलाइएकै हुन्छ । प्राचीन संस्कृतभाषी लेखकहरूले कृतिमा आफ्नो नाम लेख्ने प्रयास नै गरेनन् । तथापि त्यसपछिका अध्येताहरूले त्यस कृतिका कृतिकारबारे उल्लेख गरेर उनीहरूको योगदानको कदर गरेकै देखिन्छ । निर्मम रूपमा अन्य सिद्धान्त खण्डन गरेको पाइए पनि सम्मान दिएको देखिन्छ । अरूको खोजी अथवा रचनालाई आफ्नो बनाएनन् । हामी बौद्धिक चोरीका बारेमा छलफल गर्छौं, रोक्ने प्रयास संस्थाहरू गरिरहेकै छन् । जबसम्म बौद्धिक भनिने व्यक्तिहरू नै इमानदार हुँदैनन् तबसम्म रोकिँदैन पनि । अरुबाट ग्रहण गरिन्छ भने स्रोत खुलाइदिऊँ न । संसारमा अरूबाट प्रभावित हुन पाइन्छ र ग्रहण पनि गर्न पाइन्छ । ज्ञानमाथि एकाधिकार कसैको हुँदैन । इमानदारीपूर्वक स्रोत उल्लेख गरिदिए ,बौद्धिक चोरीको आरोप लाग्दैन ।

ब्रह्म चिन्तन उपनिषद्हरूको प्रतिपाद्य विषय क्षेत्र हो । उपनिषद् पौरस्त्य वाङ्मयका अमूल्य निधि मानिन्छन् । ती ग्रन्थमा ब्रह्मको स्वरूपका बारेमा चर्चा परिचर्चा पाइन्छ । उपनिषद्हरूले भन्दा भिन्न ब्रह्म तत्त्व शब्दब्रह्मको परिकल्पना र प्रतिपादन भर्तृहरिले गरेका हुन् । चिन्तनमा नयाँ क्षितिजको उद्घाटन भर्तृहरिको योगदान मानिन्छ । नेपाली लोकसाहित्यमा भरतरि गाथा धेरै ठाउँमा आउँछ । यिनी भर्तृहरि को हुन् ? यो एक विवेच्य विषय हो । यिनले शब्दलाई ब्रह्मका रूपमा आफ्ना कृतिमा स्थापित गरेको देखिन्छ । त्यसैले यिनी अन्यको तुलनामा पृथक् भए । शब्दहरूको अनुशासनका लागि व्याकरणको रचना गरिएको होला । शब्द पहिले अथवा व्याकरण, यो विवेच्य विषय अवश्य हो । व्याकरणशास्त्र रुखो र निरस मानिन्छ । मानिनुको कारण यसमा तर्क कम भएर हुन सक्छ । कतिपय भाषामा शब्द पहिले हुन्छन् र त्यसअनुरूपको व्याकरण निर्माण हुने गर्दछ । कतिपयमा भने भाषिक व्यवहारका आधारमा व्याकरणको रचना हुने गर्दछ । संस्कृत भाषा पहिलो दर्जामा पर्दछ भने नेपालीलगायत अन्य आधुनिक भाषाहरू दोस्रो दर्जामा पर्छन् ।

भर्तृहरि विशाल भोज साम्राज्यका अधिपति थिए । उनी आफैँ पनि प्रकाण्ड विद्वान् थिए र उनको राज्यमा विद्वानहरूको ठूलो सम्मान हुने गर्दथ्यो । प्रत्येक मानवका केही न केही कमजोरी अवश्य हुन्छन् । कमजोरीरहित मानव हुँदैन शायद । कमजोरी भन्नु भनेका कतिपय सन्दर्भमा हामीले हाम्रा इन्द्रियलाई व्यवस्थापन गर्न नसक्नु हो । इन्द्रियहरू नियन्त्रणको विषय मलाई जटिल लाग्छ तर व्यवस्थापन गर्नचाहिँ सकिन्छ । यसले मानव जो कोहीलाई प्रभावमा पारिहाल्दो हो । राजा भर्तृहरि आफ्नी रानीप्रति अत्यधिक मोहित थिए । यसलाई स्वाभाविक पनि मान्नुपर्दछ । मान्छे अन्यका श्रीमतीप्रति अत्यधिक आकर्षित हुन्छ ।त्यसैले त वर्तमानमा विवाहेतर सम्बन्धले पारिवारिक संरचना ध्वस्त हुँदै गइरहेको देखिन्छ ।अनुग्रह र आकर्षण एउटा सीमासम्म मात्र हुनु राम्रो मानिन्छ तर यिनी राजा अत्यधिक नै आकर्षित थिए शायद ।कुनै एक दिन यिनको दरबारमा एक जना साधु आएर एउटा फल दिएछन् । त्य‍ो फल खाने व्यक्तिक‍ो यौवनता रहिरहने पनि बताएछन् । फलफुलबाट बैँस रहिरहने कुरामा कति विश्वास गर्ने तर त्यो समाज मन्त्रशक्तिमा विश्वास गर्थ्यो । आज पनि कतिपय सन्दर्भमा यसलाई नकार्न सकिँदैन । राजाले सम्झेछन् मभन्दा पनि रानी नवयौवना बनिरहनुपर्छ । त्यसैले त्यो फल रानीलाई दिएछन् । त्यो फल केही समयपछि एक नगरबधूले फेरि राजालाई दिएपछि राजा आश्चर्यचकित भएछन् । खोज्दै जाँदा रानी आफ्नै अङ्गरक्षकसँग आकर्षित रहिछन् अनि उसलाई दिएकी रहिछन् । त्यो अङ्गरक्षक नगरवधूलाई मन पराउँदो रहेछ । उसले त्यसलाई मुनिप्रदत्त फल दिएछ । नगरवधूले आफ्नो कर्म गतिलो नभएको र नवयौवना बनिरहँदा अझ दु:खमा पर्नुपर्ने भएकाले राजा नवयौवन भइरहनुपर्छ भनेर त्यो फल दिइछन् । राजा आफ्नो हातमा आफूले रानीलाई दिएको फल पुन: आएकाले आश्चर्यमा परे अनि अन्वेषण गर्दा माथि कसले कसलाई दियो र के कारणले दिएको हो भन्ने पत्ता लाग्यो । त्यसपछि उनमा वैराग्यबोध भयो । उनको वैराग्यबोध यसरी भएको मानिन्छ :

यां चिन्तयामि सततं मयि सा विरक्ता,

साप्यन्यमिच्छति जनं स जनोन्यसक्त: ।

अस्मत् कृते तु परितुष्यति काचिदन्या,

धिक् तां च तं च मदनं च इमां च माम् च ।।

अर्थात् म जसलाई निरन्तर चिन्तन गर्छु, ऊ (रानी) मबाट विरक्त छे । ऊ (रानी) जस (अङ्गरक्षक) लाई चाहन्छे, त्यो (अङ्गरक्षक) पनि अरूलाई (नगरवधू) चाहन्छ । पुन: नगरवधू मलाई मन पराउँछे । त्यसैले धिक् (धिक्कार) छ ताम् नगरबधूलाई, तम् अङ्गरक्षक, मदनम् (कामवासना) इमाम् रानी र माम् मलाई धिक्कार छ । यस्तो भन्दै उनले राजकाज आफ्ना भाइ विक्रमादित्यलाई सुम्पिएर चिन्तनमनन र खोज अन्वेषणमा लागे । अब यस्ता घटना प्रमाणित हुँदैनन् । केवल श्रुतिपरम्पराबाट प्राप्त भएका हुन्छन् । विषयवस्तु बुझाउन कथाकहानीको सहयोग लिएको हुनुपर्छ । उदाहरणबाट परिभाषातिर जाने विधि मात्र पनि हुनसक्छ । भर्तृहरि राजा हुनुका साथै विशिष्ट विद्वान् पनि थिए । यहाँ स्वाभाविक प्रश्न आउँछ, राजा भर्तृहरि र लेखक भर्तृहरि एकै हुन् ? अब यस विषयमा पनि युक्तिसङ्गत र जिज्ञासा समन हुने उत्तर पाइँदैन । नीतिशतक( वैराग्य,शृङ्गार र नीतिशतक) का लेखक र वाक्यपदीयम् ग्रन्थका लेखक एकै हुन् ? अथवा फरक फरक व्यक्ति थिए ? अन्वेषणको विषय भए पनि यो लेखाइ त्यतातिर केन्द्रित छैन ।

संस्कृतमा चौध विद्या र चौसट्ठी कलाको वर्णन पाइन्छ । ‘सा विद्या या विमुक्तये’ अर्थात् विद्या त्यो हो , जसले संसारबाट मुक्त गर्न सक्छ ? कला जीवन जिउन चाहिने सीपभित्र पर्दछ । कला भौतिक जीवनसँग नजिक हुन्छ भने विद्या पारलौकिक जीवनको तयारी होला शायद । चौध विद्याको क्षेत्र यस प्रकार रहेको पाइन्छ:

अङ्गानि वेदाश्र्वत्वारो मीमांसा न्यायविस्तरः ।

पुराणं धर्मशास्त्रं च विद्या ह्येताश्चतुर्दश ।।

अर्थात् शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष चारवेद (ऋग्,साम,यजुर् र अथर्व) मीमांसा, न्याय,पुराण, धर्मशास्त्र चौध विद्याभित्र पर्छन् ।

त्यसैगरी वेदाङ्गमा पनि व्याकरण शास्त्र पर्दछ । पाणिनीय शिक्षामा वेदाङ्गका रूपमा यस्तो पाउन सकिन्छ:

शिक्षा कल्पो व्याकरणं निरुक्तं छन्दसां चय: ।

ज्योतिषामयनं चैव वेदाङ्गानी षडेव तु ।।

शिक्षा, कल्प, छन्द, निरुक्त, व्याकरण, ज्य‍ोतिष विद्या पर्दछन् । यिनीहरूको सङ्क्षिप्त परिचय पूर्व ` ब्राह्मणेन निष्कारणो धर्मः षडङ्गो वेद‍ोध्येयो ज्ञेयश्च´ अर्थात् ब्राह्मणले धर्म र षडङ्ग, वेद पढ्नु र बुझ्नुपर्दछ भनेर पतञ्जलीले महाभाष्यमा भनेका छन् । पढ्नु र ज्ञेय जान्नुमा ठूलो अन्तर हुने भएकाले अध्येय र ज्ञेयश्च भनेका होलान् । कतिपय विषय पढ्नकै लागि पढिन्छ तर त्यतिले मात्र नपुग्ने रहेछ । ज्ञेय भनेर मनन गरी जीवनमा लागू हुने सङ्केत यहाँ गरेक‍ो हुन सक्छ । वेदाङ्गको सङ्क्षिप्त परिचय यस्तो होला :

१. शिक्षा : वेद मन्त्रहरूको शुद्ध उच्चारण र वर्णहरूको ज्ञान यसभित्र पर्दछ । पाणिनीय शिक्षा, याज्ञवल्क्य शिक्षा यसका उदाहरण हुन् । आधुनिक शिक्षाशास्त्रले ज्ञानमा भन्दा विधिमा जोड दिन्छ । यो परम्परा कुनै न कुनै रूपमा प्राचीन धाराबाट नै विकास भएको मान्न सकिन्छ ।

२. कल्प : यज्ञ, अनुष्ठान धार्मिक विधिविधानको वर्णन यसमा समाहित हुँदो रहेछ ।

३. निरुक्त : वैदिक संहितामा प्रय‍ोग भएका कठिन शब्दहरूको व्युत्पत्तिगत अर्थ यसभित्र पर्दा रहेछन् ।

४. छन्द : छन्द पनि वैदिक र लौकिक गरी दुई किसिमका छन् । वेदमा प्रयोग भएका गायत्री, त्रिष्टुपजस्ता छन्दहरूको ज्ञान यसको क्षेत्र ह‍ो । लौकिक छन्दचाहिँ पिङ्गल छन्दसूत्रमा समावेश छन् ।

५. ज्योतिष : यज्ञको शुभ साइत, तिथि, मिति, ग्रहनक्षेत्र गणनाजस्ता विषय यसको क्षेत्र मानिन्छ । अहिले यसका फलित र सिद्धान्त गरी दुई मुख्य शाखा देखिन्छ ।

६. व्याकरण : श्लोकमा दोस्रोमा नै व्याकरण थियो तर जानाजान यहाँ राख्नुको कारण यसपछि लेखिने विषय नै व्याकरण केन्द्रित हुनु हो । शब्दब्रह्मको अवधारणा पनि व्याकरणभित्रको नै हो ।

‘मुखं व्याकरणं स्मृतम्’ अर्थात् शरीरको मुख जस्तै शास्त्रहरूको मुख व्याकरण हो । `काणादं पाणिनीयञ्च सर्वशास्त्रोपकारकम्´ काणादको वैशेषिक दर्शन र पाणिनीय व्याकरण सबै शास्त्रहरूको उपकारक मानिन्छ । यी सबै मान्ने विषय हुन् । कसैले प्रश्न गर्न पाउँछ किन मान्नु भनेर साथै नमान्ने पनि स्वतन्त्रता छ । तथापि व्याकरणशास्त्रको काम मूलत: लौकिक संस्कृतका शब्द निर्माण गर्ने भए पनि यसभित्र सैद्धान्तिक ग्रन्थहरू निर्माण भएका छन् । संस्कृत व्याकरण परम्परामा पाणिनि, कात्यायन र पतनञ्जलीको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ । त्यसैले यी तीनलाई मुनित्रय भनेर ससम्मान सम्बोधन गरिन्छ ।

वाक्यकारं वररुचिं भाष्यकारं पतनञ्जलीम् ।

पाणिनिं सूत्रकारं च प्रणतोऽस्मि मुनित्रयम् ॥

वाक्यकार (वार्तिककार ) वररुचि, भाष्यकार पतञ्जली र सूत्रकार पाणिनि मुनित्रयलाई नमस्कार छ । लौकिक संस्कृत भाषालाई नियमन गर्ने व्याकरणको रचनामा पाणिनि अद्वितीय मानिन्छन् । मान्नुको कारण उनको पाणिनीय व्याकरणका सूत्रहरू वैज्ञानिक छन् । अष्टाध्यायी सूत्रहरूको सङ्ग्रह हो । त्यसमा उनले प्राय: लौकिक संस्कृतका सबै शब्दहरूको निर्माण प्रक्रिया वैज्ञानिक ढङ्गले विवेचना गरेका छन् । पूर्वको महान् व्यक्तित्वहरूका बारेमा पाश्चात्त्य विद्वानहरूले केही नभनिदिए अपुरो जस्तो अनुभव हामीलाई हुन्छ । पाश्चात्त्यभूमिका व्यक्तिहरूको उद्गारलाई जोडतोडका साथ उल्लेख गर्दछौँ ।

पाणिनिका बारेमा भाषाशास्त्री ब्लुम फिल्डले ‘भाषा’ नाम गरेको कृतिमा पाणिनीय व्याकरण मानव मेधाको उत्कृष्ट स्मारक बताउनुका साथै न पहिले थियो न भविष्यमा हुने छ भन्ने आशय राखेका छन् । पाणिनिले लौकिक संस्कृत मात्र नभई वैदिक संस्कृतको पनि विवेचनाको प्रयास गरेका छन् । वैदिक संस्कृतमा प्रयोग भएका शब्द निर्माण प्रक्रिया देखाउँदै गर्दा धेरै ठाउँमा ‘बहुलं छन्दसि’ यस्तो सूत्रले काम चलाएका छन् । ‘बहुलं’ को अर्थ अहिलेको भाषामा आवश्यकताको सिद्धान्त हो । त्यसैले, वैदिक शब्द निर्माणमा पाणिनिको योगदान वैज्ञानिक र व्यवस्थित थियो भनेर सहजै मान्न सकिने अवस्था भने अवश्य छैन । तथापि उनले लौकिक र वैदिक संस्कृत दुवैको निर्माण प्रक्रिया वैज्ञानिक र व्यवस्थित बनाउने प्रयास गरेकै हुन् । उनले प्रतिपादन गरेका सूत्रहरूमा भएका कमीकमजोरी वररुचि( कात्यायन) ले वार्तिक निर्माण गरेर पूरा गरेको मानिन्छ । वररुचिको मौलिक ग्रन्थ छ ‘प्राकृत प्रकाश’ । यसमा उनले प्राकृत भाषाको भेद र तिनको निर्माण प्रक्रिया देखाउने कार्य गरेका छन् । ती सूत्रहरूको व्याख्या र तिनलाई सैद्धान्तिक आधार दिने कार्यमा पतनञ्जलीको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ । उनको ` महाभाष्य´ त्यसैको आधारस्तम्भ हो । पाणिनिले आफूपूर्व पनि प्रशस्त वैयाकरहरू रहेको कुरालाई सूत्रमार्फत सङ्केत मात्र नगरी उनीहरूका कतिपय सिद्धान्तलाई विकल्पका रूपमा प्रस्तुत गरेको देखिन्छ भने कहीँकतै खण्डनसमेत गरेको पाइन्छ ।

ब्रह्म तत्त्वको प्रतिपादन मूलत: वेदान्त दर्शनमा भएको छ । वेदान्तमा उपनिषद्, श्रीमद्भगवद्गीता र बादरायणको ब्रह्मसूत्र पर्दछन् । यिनीहरूको समष्टि रूप नै वेदान्तदर्शन हो । वेदान्तको भन्दा पृथक् ब्रह्मको परिकल्पना गर्ने व्यक्ति भर्तृहरि हुन् । उनको `वाक्यपदीयम्´ नामक ग्रन्थमा शब्दलाई ब्रह्मका रूपमा स्वीकार गरिएक‍ो देखिन्छ । प्रस्तुत ग्रन्थमा तीनओटा काण्ड( अध्याय) ब्रह्मकाण्ड( आगम) वाक्यकाण्ड र पदकाण्ड रहेका छन् । ब्रह्मकाण्डको विषय नै शब्दब्रह्मवाद हो । व्याकरण जस्तो निरस विषयलाई दार्शनिक आधार दिई प्रस्तुत गर्नेहरूमा भर्तृहरि, कौण्डभट्ट र नागेशको नाम प्रमुख रूपमा आउँदछ । यिनीहरूले व्याकरणशास्त्रलाई तार्किक रूपमा प्रस्तुत गर्ने जमर्को मात्र गरेनन् नेतृत्वदायी भूमिका पनि खेले । वेदान्तमा अहम् ब्रह्मास्मि, म नै ब्रह्म हुँ अर्थात् जीव नै ब्रह्मको रूपमा पुग्दछ । अयमात्मा ब्रह्म अर्थात् यो आत्मा ब्रह्म हो । तत्त्वमसि ब्रह्म अर्थात् त्यो ब्रह्म तिमी हौँ । प्रज्ञानं ब्रह्म अर्थात् ज्ञान नै ब्रह्मरूप हो । यी चार महामन्त्र वेदान्तमा कालजयी छन् । यिनकै व्याख्या विश्लेषणमा समग्र वेदान्तसाहित्य केन्द्रित पाइन्छ । यिनकै पक्षपोषक र आ-आफ्ना मत र सिद्धान्त अनुरुप कयौँ वेदान्तका शाखा प्रशाखा विकास भएका छन् । यी कालजयी चार मन्त्रका गुह्यतम रहस्य छ । अहम् ब्रह्मास्मि भन्दैमा जीवले ब्रह्मरूप धारण गरिहाल्ने अवश्य ह‍ोइन होला । गुह्य रहस्य खोलिदिने कसले ? म कहिलेकाहीँ प्रसङ्गश: श्रीमद्भागवत कथा प्रवचन भएका स्थानमा पुगेको छु । कथा मजाले नबुझ्दा वेदान्त मिसिएको छ । वाचकले वेदान्त दर्शनको आलोकमा व्याख्या विश्लेषण गरेका हुन् भनेर अन्य बताइरहेका हुन्थे । अब वेदान्तको अलिकति पनि जानकारी नभएपछि मान्दिनुको विकल्प पनि थिएन ! तर अहिले आएर सम्झिँदा केही नबुझ्ने बनाउनु शायद नै वेदान्त नहुनुपर्ने हो तर हुँदो रहेछ । शब्दशक्तिको परिकल्पनामा अभिधा, लक्षणा र व्यञ्जनाका रूपमा गरिएको पाइन्छ । असल वक्ता त्यही हो, जसले श्रोताको मनोविज्ञान र स्तरलाई बुझ्न सक्छ र आफ्ना अभिव्यक्ति त्यसैअनुरूपको बनाउँछ । तर त्यस्ता वक्ता कम देखिन्छन् जहाँ श्रोताको मनोविज्ञान बुझेर आफ्ना भनाइ राखिरहेका हुन्छन् । शास्त्र मानव कल्याणका लागि रचना भएका हुन् । यसमा प्रारम्भिक रूपमा अभिधार्थ नै प्रकट हुनुपर्छ । दुष्कर र दुरुह बनाउनु र अर्थको अनर्थ लगाउँदै अर्कैतिर मोडेर वेदान्त हो भन्नु युक्तिसङ्गत मानिनु हुँदैन भन्ने लाग्छ ।

अनादिनिधनं ब्रह्म शब्दतत्त्वं यदक्षरम्‌ ।

विवर्ततेर्थभावेन प्रक्रिया जगतो यत: ॥

प्रस्तुत श्लोक ‘वाक्यपदीयम्’ को मङ्गलाचरणको हो । मङ्गलाचरण आशीर्वादात्मक, नमस्कारात्मक र वस्तुनिर्देशनात्मक गरी तीन किसिमका मानिन्छन् । न्याय दर्शनको एउटा ‘न्यायसिद्धान्तमुक्तावली’ भन्ने प्रसिद्ध ग्रन्थ छ । गुरुहरूले पढाएको तर मैले केही नबुझेको ग्रन्थ थियो यो मेरा लागि । यसमा श्लोकमार्फत न्याय दर्शनको आधारभूत सिद्धान्त प्रतिपादन थियो शायद । शुरुमै तीनैखाले मङ्गलाचरण रहेछ । केही नबुझेपछि लेखाइ माग्यो, तीन चार पृष्ठ लेखाइदिन्थे गुरुहरूले अनि त्यसलाई कण्ठ पार्यो अनि परीक्षा पास गर्यो । यस्तै गरेर येनकेन प्रकारेण पास हुँदै गइयो । फेरि यसमा दोष गुरुको नभई स्वयम् मेरो थियो । यसको उल्लेख हुनुको कारण यसमा तिनै प्रकारका मङ्गलाचरण थियो । प्राच्य वाङ्मयमा मङ्गलाचरण अनिवार्य सर्त नै मानिन्छ । ‘वाक्यपदीयम्’ को पहिलो श्लोकले शब्दब्रह्मको स्तुति गरेको देखिन्छ । यस ग्रन्थको मङ्गलाचरण नै यही श्लोक हो । आदि, अन्त्यरहित अविनाशी शब्दतत्त्वबाट न‌ै संसारको सृष्टि हुन्छ । जसरी एउटा सानो बीजबाट ठूलो वृक्ष बन्छ, त्यसरी नै स्फोटरूपी शब्दबाट यो संसारको सिर्जना हुन्छ । वेदान्तमा ब्रह्मबाट संसार सृष्टि हुन्छ भनेझैँ भर्तृहरिका मतमा शब्दरूपी ब्रह्मबाट संसार सिर्जना हुन्छ । यहाँ स्फोटको थोरै चर्चा आवश्यक देखिन्छ ।

स्फोट स्फुटत्यर्थोस्मादिति अर्थात् जसबाट अर्थ प्रकाशित हुन्छ, त्यसलाई स्फोट भनिन्छ । स्फुट विकसने धातुमा भावार्थक घञ् प्रत्यय लागेर स्फोट शब्द निर्माण हुन्छ । महावैयाकरण नागेशले आठ प्रकारका स्फोटको चर्चा गरेका छन् :

१. वर्णस्फोट

२. पदस्फोट

३. वाक्यस्फोट

४. अखण्डपदस्फोट

५. अखण्डवाक्यस्फोट

६. वर्णजातिस्फोट

७. पदजातिस्फ‍ोट

८. वाक्यजातिस्फ‍ोट

परा, पश्यन्ती, मध्यमा, वैखरी गरि वाणीका भेद गरेका छन् ।

परा वाङ्मूलचक्रस्था पश्यन्ती नाभिसंस्थिता ।

हृदिस्था मध्यमा ज्ञेया वैखरी कण्ठदेशगा ॥

वैखर्या हि कृत नाद परश्रवण गोचर: । परा वाणी मूलाधार चक्रमा अवस्थित हुन्छ । यो अत्यन्त सूक्ष्मतम रूपमा रहेको मानिन्छ । पश्यन्ती यो पराभन्दा तुलनात्मक रूपमा स्थूल हुन्छ । यो नाभिचक्रको वरिपरि अवस्थित रहेको मानिन्छ । हृदयमा चिन्तनका रूपमा अवस्थितलाई पश्यन्ती भनिन्छ भने वैखरीचाहिँ वाणीका रूपमा प्रकट हुन्छ । हामीले कसरी पढ्नुपर्छ भनेर पनि दर्साइएको छ । यससँग सबैको सहमति नहुन सक्छ । पढ्ने र बुझ्ने शैली व्यक्तिअनुसार फरक फरक पर्नु स्वाभाविक हो ।

अभ्यासार्थे द्रुता वृत्तिर्मध्या वै चिन्तने तथा ।

शिष्याणामुपदेशार्थं वृत्तिरिष्टा विलम्बिता ॥

अभ्यासका लागि छिटोछिटो पढ्नुपर्छ भने चिन्तनमा मध्यमस्तरको वृत्ति उपयोगी हुन्छ । पढाउँदा अथवा सिकाउँदा ढिलो गरी सिकाउनुपर्छ । मलाई यसले भनेको तथ्य सही लाग्छ तर सबै मलाई लाग्दैमा हुने होइन । पुन: शब्दब्रह्मतिर नै प्रवेश गर्नुपर्ने हुन्छ । बिचबिचमा विषयान्तर हुनु मेरो आफ्नो शैली बन्दै छ । यसमा आफू अभ्यस्त बन्दै गइरहेको अनुभव हुन थालेको छ ।

माथि धेरै ठाउँमा शब्दब्रह्म भर्तृहरिको सिद्धान्त प्रस्तुत भएको छ । उनले यसलाई प्रतिपादनमात्र नभई व्यापक बनाउने काम पनि गरे भनेर उल्लेख भइसकेको छ । एउटै विषयलाई बारम्बार उल्लेख गरिरहँदा पुनरुक्ति दोष आउँछ भन्ने पनि शास्त्रहरूमा पाइन्छ भन्छन् । जीवन भनौँ अथवा लेखाइ सबै शास्त्रीय मर्यादामा मात्र चल्ने अवश्य होइन । त्यसैले, भन्नेले दोष भने पनि हुने केही होइन साथै आलोचना र समालोचनाका लागि पनि कमजोरी हुनैपर्छ । हामीजस्ता विषयवस्तु व्यवस्थित ढङ्गले राख्न नजान्ने तर लेख्न मन गर्नेको कमजोरी कति हुन्छ हुन्छ । कमजोरी र गल्ती नहोस् भन्नका लागि त केही नगरी बस्नुपर्छ । फेरि यति सानो आलेखमा भर्तृहरिको सबै सिद्धान्त देखाउन सकिन्छ भनेर घमण्ड गरिहाल्ने अवस्था पनि छैन । साँच्चै राम्रो छ भनेर वाहवाही खानु पनि छैन मलाई । मलाई प्रकाशित भएपछि सेयर गर्न डर लाग्छ । डराइ डराइ सेयर गर्छु । साँच्चै विषयविज्ञले हेरेर गाली गरे भने उत्तर दिने ठाउँ हुँदैन । तैपनि प्रयास गर्न नै किन डराउनु भनेर लेखिहेरेको हो । कमजोरी अत्यन्त धेरै छन् । त्यसैले माफी पनि माग्न पछि परिँदैन ।

मङ्गलाचरणमै शब्दबाट सृष्टि हुने र शब्दरूपी बीजबाट नै संसारमा प्रत्येक पदार्थ र वस्तुको प्रादुर्भाव भएको मान्ने भर्तृहरि सुवर्ण एक भए पनि फरक फरक गहनामा परिणत हुने जस्तै गरी शब्द नै संसारको मूल बीज हो भनेर उद्घोष गर्छन् । शब्द नै वास्तविक स्वरूप नछोडीकन यस संसारमा विभिन्न अर्थ र पदार्थका रूपमा प्रकट हुन्छ । पहिलो श्लोकमा प्रयोग भएको ‘विवर्त’ शब्द महत्त्वपूर्ण छ । यसको खास तात्पर्य आफ्नो मूलरूपलाई नछोडीकन अन्य रूपमा देखिनु हो । यस संसारको सृष्टि शब्दब्रह्मरूपी शक्तिद्वारा हुने विचार अभिव्यक्त भएको पाइन्छ । यसमा काल शक्ति( Time Power) प्रमुख मानिन्छ । ब्रह्म एकै भए पनि कालशक्तिकै कारण क्रमबद्धतामा विभाजित हुन जान्छ । यस्तो नहुने हो भने संसारका सबै घटना एकसाथ घट्न सक्छन् । यसैका कारण जन्म, वृद्धि र विनाश सुनिश्चित हुन्छ । कालका दुई मुख्य अभ्यनुज्ञा र अप्रतिबन्ध विधा छन् । अभ्यनुज्ञाले कुनै कार्य घटित हुनलाई अनुमति दिन्छ भने अप्रतिबन्धले कार्य घटित हुँदा आउन सक्ने बाधाव्यवधानलाई हटाउने काम गर्दछ । ६ प्रकारका भाव विकारको वर्णन पाइन्छ ।

१. जायते : उत्पन्न हुनु

२. अस्ति : विद्यमान हुनु

३. वर्धते : बढ्नु

४. विपरिणमते : परिवर्तन हुनु

५. अपक्षीयते : क्षय हुनु र

६. नश्यति : नष्ट अथवा नाश हुनु

बौद्ध धर्मावलम्बीहरूले उत्पत्ति, अस्तित्व विनाश र विलय गरी क्षण चतुष्टयको परिकल्पना गरेका छन् । स्फोट( निमित्त) र ध्वनि ( अर्थभावन) स्फोटलाई बुद्धिमा अवस्थित रहेको नित्य तत्त्व मान्दै यसबाट नै अर्थबोध हुने बताउँछन् भने ध्वनिलाई अनित्य र स्फोट अभिव्यक्त गर्ने माध्यम मान्छन् । यसलाई सोदाहरण यसरी बुझ्न र बुझाउन सकिन्छ । जब हामी कमल शब्द सुन्छौँ तब क, म, ल क्रमश: आउँदछ । अर्थको बोध तिनओटै ध्वनि मिलेर कमल बनेपछि हुन्छ । त्यसले हाम्रो मानस पटलमा एउटा बिम्व निर्माण गर्दछ, त्यो नै स्फोट हो । स्फोटका प्रकार माथि कहीँकतै उल्लेख भइसकेकाले विस्तार धेर हुने डरले उल्लेख गरिरहनु पर्दैन भन्ने लागेको छ । शब्दार्थ सम्बन्धलाई नित्य मानिन्छ । सिद्धे शब्दार्थसम्बन्धे अर्थात् शब्द र अर्थको सम्बन्ध स्वत: सिद्ध हुन्छ । शब्द र अर्थबिचको सम्बन्ध अभिन्न हुन्छ । भनिएको छ, कतै अर्थनिमित्तक: शब्द: अर्थात् शब्द अर्थकै लागि हो भनेर भनेको पाइन्छ । अर्थविनाको शब्द नभई ध्वनिमात्र हुन्छ । भाषामा प्रयुक्त शब्द साधु र असाधु गरी दुई किसिमका हुन्छन् । अर्थ प्रदान गर्ने सामर्थ्य असाधु शब्दले पनि राख्ने गर्दछन् । यहाँ साधुको अर्थ मानक शब्द हो भने असाधुको आशय भाषिका अथवा व्यक्ति बोली हो । भाषालाई भाषा, भाषिका र व्यक्ति बोलीका रूपमा पनि विभाजन गरिन्छ । भाषाशास्त्री फर्निडान्ड डि सस्युरले भाषा र बोलीको विस्तृत व्याख्या विश्लेषण गरेका छन् । भर्तृहरिलगायत अन्य शाब्दिकहरूका अनुसार अर्थ प्रदान गर्ने सामर्थ्य र तागत असाधु शब्दहरूमा भए पनि प्राथमिकता साधु( मानक) शब्दहरूलाई दिनुपर्छ भन्ने तात्पर्य उनीहरूको देखिन्छ । अमानक ( असाधु) शब्दहरू प्रयोगमा बाहुल्य हुन थाल्यो भने भाषाको सौन्दर्य र मूल मर्म मर्न जान्छ । प्रत्येक भाषाका आफ्नै विशेषता हुन्छन् । ती पुस्तान्तर हुँदै जानुपर्छ । कुनै पनि अवस्थामा भाषाको मूल मर्म र सौन्दर्य नासिनु हुँदैन ।

व्याकरणलाई दर्शनको पदमा उपस्थापित गर्ने कार्यमा भर्तृहरिको मुख्य योगदानको चर्चा भइसकेकै छ । दर्शनमा प्रमेय सिद्धका लागि प्रमाणको आवश्यकता अनिवार्य सर्त मानिन्छ । प्रमाणविना प्रमेयको सिद्धि असम्भव हो । त्यसैले गर्दा भर्तृहरिले पनि पाँच प्रकारका प्रमाणहरू उल्लेख गरेका छन् :

१. आगम (शब्द):

यसलाई आप्तवचन पनि मानिन्छ । रागद्वेष आदिमा नपर्ने सिद्धमहर्षिहरूको वचन अथवा वैदिक संहिताका वचनहरू स्वत: प्रमाण हुन् ।

२. अनुमान : तर्कमा आश्रित ज्ञानलाई अनुमान मान्न सकिन्छ,जस्तै: धुवाँ देखेर आगो हुनसक्ने सम्भावना व्यक्त हुनु । यसमा सर्वदा सत्य नहुन सक्छ । यसमा केवल तर्कशक्ति प्रधान हुन्छ ।

३. अदृष्ट : नदेखिने तर फल प्रदान गर्नेलाई अदृष्ट प्रमाण मानिन्छ ।

४. अभ्यास : परीक्षण र प्रयासबाट पाइने ज्ञान यसभित्र अन्तर्भाव हुन्छ ।

५. प्रत्यक्ष : मानवले आफ्ना इन्द्रियबाट अनुभव गर्ने विषय यसभित्र समाहित हुन्छन् ।

दर्शनशास्त्र विशेष गरी तर्कमा विश्वास गर्दछ । तर भर्तृहरि केही फरक छन् । सर्वदा तर्कमा मात्र भरपर्नु हुँदैन । खण्डनमण्डनले मात्र ज्ञान स्थापित हुन सक्दैन । परम सत्यको खोजमा तर्कको मात्र आश्रय लिनु गलत हुन सक्छ भन्ने भर्तृहरिको विचार देखिन्छ । उनले वाक्यपदीयम् मा यस्तो भनेका छन् :

यत्नेनानुमितोऽप्यर्थः कुशलैरनुमातृभिः ।

अभियुक्ततरैरन्यैरन्यथैवोपपाद्यते ॥

अर्थात् एक चतुर व्यक्ति तर्कबाट केही कुरा सिद्ध गर्न सक्छ । त्योभन्दा बढ्ता तर्कमा कुशलता हासिल गरेको अर्को व्यक्ति आफ्नो तर्कद्वारा त्यसलाई पनि गलत सिद्ध गर्न सक्छ । त्यसैले, परम सत्यको खोजमा केवल तर्कको सहारा मात्र लिनु हुँदैन अपि तु आगमलाई प्रमुख मान्नुपर्दछ ।

पौरस्त्य दर्शनमा सबैले मोक्षको चर्चा गरेका छन् । चार्वाक जस्तो पूर्णत: भौतिकवादी दर्शनले समेत मरणमेवापवर्ग: अर्थात् निधन नै मुक्ति हो भनेको पाइन्छ । यसको अपवाद शब्दब्रह्मवाद पनि होइन । भर्तृहरिले व्याकरण केवल भाषाशुद्धिका लागि मात्र नभई अपवर्ग(मोक्ष) का लागि समेत हो भनेका छन् । उनको भनाइ जस्ताको तस्तै यस्तो पाइन्छ:

तद् द्वारमपवर्गस्य वाङ्मलानां चिकित्सितम् ।

पवित्रं सर्वविद्यानां अधिविद्यं प्रकाशते।।

शब्दब्रह्मको निरन्तर चिन्तन मनन गर्ने व्यक्ति परम सत्य प्राप्त गर्दछ । मनुष्यको अन्तिम गन्तव्य भनेकै परम सत्यको खोज हुनुका साथै त्यसको प्राप्तिसमेत हो । वाक्यपदीयम् तीन खण्डमा विभाजित शब्दब्रह्मवादको एक आधिकारिक ग्रन्थ हो । यसपछि पनि अन्य वैयाकरणहरूले यस विषयमा खोजी कार्य गरेकै देखिन्छ । नाद ( ध्वनि) लाई ब्रह्मका रूपमा मान्ने सिद्धान्त पनि पाइन्छ । शब्दब्रह्मवाद पौरस्य वाङ्मयको एक नवीनतम अवधारणा हो । यसका कतिपय विषय अस्वीकार गर्न हामी स्वतन्त्र छौँ । मनुष्य आफू अनुकूलको सिद्धान्त अनुसरण गर्न केही हदसम्म स्वतन्त्र पनि छ । भर्तृहरिले शब्दब्रह्मवादको अवधारणा अगाडि सारेर पौरस्त्य वाङ्मयलाई समृद्धितिर लगेकै हुन् । यसका बारेमा विस्तृत र मिहिन खोज हुनुपर्दछ । यद्यपि पौरस्त्य दर्शनभित्र यसलाई आधिकारिक रूपमा राखिँदैन । षड्दर्शनभित्र यो पर्दैन । तथापि यसले उपस्थापित गरेका सिद्धान्त पूर्णत: अस्वीकृत भएको देखिँदैन । विशेष गरी भाषाविज्ञानको अध्ययनमा भर्तृहरिको योगदान महत्त्वपूर्ण मानिन्छ । `

‘वाक्यपदीयम्’ को शब्दब्रह्मसम्बन्धी केही श्लोक यहाँ राख्दै यस विषयमा लेख्ने धृष्टताप्रति क्षमा पनि माग्दछु । यस्तो गहन विषयमा कलम चलाउने आधिकारिक व्यक्ति नभए पनि यथामति लेख्ने प्रयास गरिहालेँ । विद्वज्जनले हाँस्दै, उपहास गर्दै पढिदिए पनि मेरो धृष्टताले सार्थकता पाउनेछ ।

एकमेव यदाम्नातं भिन्न शक्तिव्यपाश्रयात् ।

अपृथक्त्वेऽपि शक्तिभ्यः पृथक्त्वेनेव वर्तते ॥

अध्याहितकलां यस्य कालशक्तिमुपाश्रिताः ।

जन्मादयो विकाराः षड्भावभेदस्य योनयः ॥

एकस्य सर्वबीजस्य यस्य चेयमनेकधा ।

भोक्तृभोक्तव्यरूपेण भोगरूपेण च स्थितिः ॥

न सोऽस्ति प्रत्ययो लोके यः शब्दानुगमादृते ।

अनुविद्धं इव ज्ञानं सर्व शब्देन भासते ॥

विज्ञेषु किमधिकम् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.