सेसेल्स । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष गणेश खड्काको नियात्रा–निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी मुलुक सेसेल्समा लोकार्पण गरिएको छ ।
सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित भिक्टोरियामा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज विक प्रमुख अतिथि तथा एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि मनोज विकले सेसेल्सजस्तो नेपाली समुदायमा कम परिचित देशबारे लेखकले भोगेका अनुभव र अवलोकनलाई पुस्तकाकार रूप दिएर महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले उक्त कृतिलाई केवल पुस्तक मात्र नभई ऐतिहासिक दस्तावेजका रूपमा समेत लिन सकिने धारणा राख्नुभयो ।
लेखक गणेश खड्काले पुस्तक लेखनको पृष्ठभूमिबारे चर्चा गर्दै सेसेल्सबारे नेपाली समाजमा पर्याप्त जानकारी नभएको अनुभवले आफूलाई अनुसन्धान र लेखनतर्फ प्रेरित गरेको बताउनुभयो । सेसेल्सबारे खोज, अध्ययन र प्रत्यक्ष अनुभवका आधारमा पुस्तक तयार गरिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले कृतिको समीक्षात्मक परिचर्चा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आरसी राई तथा सदस्य कवि गायत्री कुलुङले गर्नुभएको थियो ।

