साहित्यपोस्ट डट कम

वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य

वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य

उमेरले ९० छुनै आँटेको छ । त्यही पनि रातो, पिरो र ‘डटफट’ देखिनुहुन्छ । काठमाडौँमा हुने अधिकांश कला कार्यक्रमहरूमा प्रायः प्रमुख अतिथिका रूपमा आमन्त्रित भइरहनु हुने उहाँ हरपल नेपाली पोसाकमा सजिनुहुन्छ र काँधमा प्रायजसो गल्फन भिर्नुहुन्छ । उहाँ नेपाली कला वृत्तमा प्रथम आधुनिक (अमूर्त) कलाकार गेहेन्द्रमान अमात्य भनेर चिनिनुहुन्छ । किनकि सबैले भन्ने गर्छन्– ‘नेपाली कला क्षेत्रलाई सबैभन्दा पहिले अमूर्त कलाको आभास उहाँकै कलाले दिएको हो । उनै कलाकारको चैत्र २९ गते राजधानीमा भव्य शुभ देवरथारोहण (महारथारोहरण) समारोहको आयोजना गरियो । एउटा कलाकारले यस किसिमको इज्जत पाउनु सबै नेपाली कलाकारको गर्वको विषय हो । वास्तवमा कलाकारहरू राष्ट्रको लागि सम्मानका पात्रहरू त हुँदै हुन् । तथापि यतिको उमेरसम्म पनि आफ्नो कला कर्ममा क्रियाशील देखिनु हुने उहाँ कला क्षेत्रको मात्र होइन सबै क्षेत्रको निम्ति उदाहरणीय व्यक्तित्व प्रतिभा हुनुहुन्छ ।

वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले २०१२ ताका नेपाल भारत सांस्कृतिक केन्द्रमा अमूर्त कलाको नेपालमा प्रथम प्रदर्शनी गरेर जनमानस बीच अमूर्त कलाको प्रचार गर्नु भएको थियो । योभन्दा अघि नेपाली जनमानसलाई अमूर्त विधाको कला सम्बन्धी कुनै सङ्केत वा जानकारी नै थिएन । विश्व प्रसिद्ध कलाकार कान्दस्कीले जन्म दिएको अमूर्त वादको कला शैली अन्य वादको शैली ज्यादै जटिल र गम्भीर विद्या हो । कलाकारलाई यसमा काम गर्न धेरै कामको अनुभव पार गर्नुपर्छ भने दर्शकलाई यो वादको शैली पचाउन हम्मे हम्मे नै पर्छ अर्थात् ठुलै कसरत गर्नुपर्छ । किनकि यो वादको शैलीमा अन्य वादको शैलीमा जस्तो बिम्ब वा आकृतिले सरोकार राख्दैन । खासमा अरुपणबाट रुपणको आभास दिन र लिन सक्ने महत्ता अमूर्त कलाका वास्तविक विशेषता अन्तर्गत पर्दछन् । अमूर्त कलाको सन्दर्भमा अमात्यको आफ्नै दृष्टिकोण रहेको छ । उहाँ यसलाई कलाकारको संवेग र दर्शकले प्राप्त गर्नसक्ने अनुभूतिजन्य मिठास अमूर्त हो भन्नुहुन्छ । यस विषयमा कुनै विश्वविधालयवाट शिक्षा नलिनु भएका उहाँले यो विधामा काम गर्न कसरी जान्नु भयो त ? उत्तरमा उहाँ भन्नु हुन्छ –‘मैले यो कला २००८ सालमा नेपाल आएका फ्रेन्च चित्रकार नेकोलाइ मिचायुच्किनसँग सिकेको हुँ । पछि एलेक्स वाल्डर मानन भन्ने अर्मूत कलाकारको सङ्गतमा परेपछि यसलाई निरन्तरता दिँदै आएको हुँ ।’

अमूर्तको अलावा उहाँले आधुनिक कलाका अन्य शैली र वादमा पनि हात चलाउनु भएको छ । आजसम्म उहाँले ४००० भन्दा बढी अमूर्त, अर्धअमूर्त, ज्यामितीय र अभिव्यञ्जना वादका चित्रहरू बनाईसक्नु भएको छ । उहाँका चित्र विषयहरू विविध समयकालका प्रतिबिम्ब हुने गरेका छन् । २०११ सालमा र जनआन्दोलन–२ ताका बनाइएका उहाँका चित्रहरू समय प्रभावले जन्माएका प्रतिनिधि मूलक उदाहरणीय चित्रहरू हुन् । उती बेला बनाइएका ती अभिब्यजनावादी शैलीका चित्रहरूमा हिटलरको हिंसा र जुद्ध शमसेरको क्रुरतालाई ईङ्कित गरिएको भेटिन्छ । र जनआन्दोलन–२ ताका बनेको चित्रमा राजाको प्रत्यक्ष शासन व्यवस्थामाथि व्यङ्ग्य हानेको भेटिन्छ । विविध कला ग्यालरी र स्टुडियोहरूमा राखिएका उहाँका कतिपय चित्रहरूका विषय आतङ्क, हिंसा, पीडा, शान्ति जस्ता सामाजिक, व्यवहारिक र मानसिक विकृति र विसंगतीहरूसँग सम्बन्धित रहेका छन् । चित्रमा यदाकदा मिथकमय प्रतीकहरूलाई आत्मसात् गर्दै रातो रङलाई हिंसा, निलोलाई शान्ति र खैरोलाई दरिद्रयताको प्रतीकको रूपमा प्रयोग गरिएको भेटिन्छ । सौन्दर्यताका निम्ति केही चित्रहरूमा विविध रङ्गको पनि प्रयोग भएको देखिन्छ । कडा तुलिका घात ‘स्ट्रोक’को प्रयोग र गठिलो रेखा तथा गाढा रङ्ग समायोजनको उत्कृष्ट नमुना उहाँको क्यान्भासको पहिचान हो । साथै चित्र मार्फत मानव समुदायको नालीबेली कोर्नु उहाँको कला विशेषता मानिन्छ । अधिकांश क्यान्भासमा मान्छे, मान्छेका खप्पर, सिंग, हाड खोड, बन्दुक र परेवाहरू देख्न सकिन्छ । जसलाई उहाँले वर्तमान हिंसात्मक विश्व समुदायको प्रतिक ठान्नु हुन्छ । र क्यान्भासबाट शान्तिको कामना गर्नु हुन्छ ।

विसं १९९४ मा खिचापोखरीमा जन्मिनुभएका अमात्यले २०१२ देखि आजसम्म लगभग तीन दर्जन एकल र सयौँ सामूहिक प्रदर्शनीहरू गरी सक्नु भएको छ । नेपालका विशिष्ट क्षेत्र, भवन, संग्राहलय, विदेशी नियोग र विदेशी संग्राहलयहरूमा उहाँ चित्रहरू संग्रहित छन् । एकताका वाणिज्य कलामा (ब्लक, लोगो, पोस्टर बनाउने कामलगायत) समेत सक्रिय देखिनु भएका उहाँ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक, पुरस्कार र सम्मानले विभूषित भई सक्नु भएको छ । उहाँ नेपालकै पहिलो जागिरे कलाकारका साथै सूचना विभागबाट अवकाश प्राप्त कलाकार अधिकृत हुनुहुन्छ । अमात्यलाई कला कर्म संगस लेखनमा पनि उत्तिकै रुचि छ र थुप्रै कला लेख लेखेको र पुस्तकहरूको सम्पादक गरेको अनुभव पनि छ । यति मात्र होइन उहाँले आफैँ प्रकाशक भएर आजसम्म पनि कला पुस्तक निकाल्दै आउनु पाइन्छ । विविध क्षेत्रमा धेरै नै अनुभव सँगालिसक्नु भएको उहाँको उहाँको अनुभव पनि लामै छ । उहाँको नामको थरमा पुरस्कार पनि रहेको छ । जुन पुरस्कार वर्षे नि एक उच्चकोटीका समसामयिक कलाकारलाई अमात्य पुरस्कारका रूपमा दिइन्छ । बेला बेलामा कलाकारहरूलाई आर्थिक सहयोग गर्न सधैँ उत्सुक हुने अमात्यको कला लगायत विविध विषयका २० थान भन्दा बढी पुस्तक प्रकाशन भएका छन् । कलधारास्थित निवासमा उहाँको कला स्टुडियो छ र निजी ग्यालरी पनि छ । त्यहाँ सदैव उहाँ कलामा तनमय अवस्थामा भेटिनु हुन्छ ।

अन्तमा यस्ता बहुप्रतिभाशाली कलाकारमाथि समाजले सम्मान गर्नु भनेको नेपालका सबै कलाकारहरूको सम्मान र इज्जत भए सरह हो । उहाँ प्रतिभा राष्ट्रका सम्पदा हुन् ।

साझा गर्नुहोस्:
तीर्थ निरौला

लेखकको बारेमा

तीर्थ निरौला

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.