घर छोड्दा जाडो हुन्छ होला भन्ने कल्पना नै गरिएन । उज्यालो छर्लङ्ग हुँदा दमक छोडेका मान्छे उर्लाबारी नकट्तै सिरेटोले छाती सेक्न थाल्यो । चैत टेकेको मात्रै थियो । झरी छिचोलेर आएको बतासले माघे ठिही सम्झाउन थाल्यो ।
ज्याकेट निकाल्दा श्रीमती भन्थिन्–
“यस्तो हपहप गर्मीमा कसरी लगाउनु हउ त्यत्रो फम्फे ज्याकेट ? लगायो उकुसमुकुस, खोल्यो बोक्नकै पिरलो ।”
मैले सम्झाउँदै भनेथेँ– “पहाडमा धेरै जाडो हुन्छ, मज्जाले पट्याएर ब्यागमा राखिदेऊ ल ।”
मंगलबारे कटेर चारकोशे झाडी छिरियो । अति नै चिसो भयो । पथरी, कानेपोखरी कटियो । मनको पीर मनभित्रै खेलिरहँदा झोलाभित्रको ज्याकेटबाहेक आँखाले केही देखेन । कानेपोखरीको जङ्गलमा लक्ष्मणदाइले बाइक रोके । पिसाब फेर्न रोकेछन् भन्ठानेँ । उनले भने–
“ज्यादै चिसो भयो हउ, रेनकोट लाउनु परो ।”
मलाई पनि “आहा ! रेनकोट” भन्ने लाग्यो । उनको बोली मेरा कानमा नपर्दै म बोलीहालेँ–
“हो हउ, झरीले त साँच्चैको चिसो पो उमारेको रै’छ त । म पनि लाउँछु ।”
बेस्सरी डोरीले कसिराखेका झोलाको ज्याकेटतिर नहेरी रेनकोट लगायौँ र पिसाब फेर्न जङ्गल छिर्यौं । ख्याल असजिलो पारेन रेनकोटले ।
अब त धेरै न्यानो भयो । अघिजस्तो ज्याकेटसँग टाँसिन छोड्यो दिमाग । इटहरी छोडियो । घाम नलागे पनि वातावरणमा न्यानोपन छाइसकेको थियो । तरहरा छिचोल्दा भरखरै झरी रोकिएझैँ रुझेको झाडीले तप्केनी हानिरहेको थियो । धरान हिलाम्मे थियो । सर्दु, सेउती र भेडेटारमुनिका खहरेहरू भेल बोकेर झर्दै थिए । चिउरीबासको उकालोमा खुट्टा टेकेर घाम धर्मराउँदै उभिन खोज्दै थियो । गम्लङ्ग कुहिरो ओढेर धमिला आँखा पल्याकपुलुक चिहाउँदै थियो भेडेटार । तातो चिया र सेल खोज्ने ग्राहकको प्रतीक्षामा रहेछ ऊ । नियाल्दै थियो सवारीको गति र ग्राहकका गोडा । मान्छेलाई ग्राहक मात्रै देख्छ ऊ, मान्छे कहिल्यै देख्तैन ।
चैते ओसले पनि कठ्याङ्ग्रिएछन् हातगोडा । दाजै छिरे एउटा छाप्रामा सिउसिउ गर्दै । म बाहिरै उभिएर नियाल्न थालेँ परिवेश ।
धरानबाट उडेका एकजोडी परेवा एकाबिहानै झगडामा उत्रेको देखेँ । विषय बुझेपछि केही नखाने भएँ म । लक्ष्मणदाइले चाहिँ हतारहतार चिया, चुरोट र सेल मगाइहाले । जोडीमध्येको भाले परेवा कुर्लँदै थियो पसले दिदीसँग । कसो पखेटाले हानिहाल्न भ्याएन । भालेसँगै जुध्नुपरेको भए हानाहान परिसक्थ्यो होला । टेबलको नास्ता रुँगेर मुर्मुरिँदै बसिरहिथी पोथी । झगडाको शीर्षक रहेछ “बासी रोटी किन दिइस् ? तेरा बासी रोटीको पैसा कल्ले तिर्छ ?”
त्यो दृश्यको पर्दा खसिनसक्तै मचाहिँ बाइकमा बाँधिराखेको झोला खोलेर ज्याकेट निकाल्न थालेँ । भएभरका सामान झिकिसक्ता पनि ज्याकेट भेटिएन । दाइको झोला खोतलेँ । अहँ, भेटिएन । चुपचाप झोला बाँधेर राईजीको शालिकसँगै उभिएँ र फोन लगाएँ श्रीमतीलाई । उनले भनिन् “हालिदिएजस्तो लाग्छ त बाबा ।” फेरि छोरी लुनालाई कल गरेँ । उनले भनिन् “भान्साको सिँगौरामा झुण्डिरको छ बाबा ।”
सम्झेँ, “जीउ किन चिसो भयो भनेको त श्रीमतीले हुस्सु नै बनाएकी रैछिन् र पो….”
बाक्लो कुहिरोलाई पन्छाउँदै निक्लिए लक्ष्मण दाइ । बमबम भएका रै’छन् । बर्बराउँदै आए परैदेखि–
“थैट, बेढङ्गीहरू ! मुर्याएर पैसा लिएपछि खानेकुरा त राम्रो दिनुपर्छ नि । भगवान् होइनन् ग्राहक भनेका ? पूजा गर्नुपर्ने होइन अन्नदातालाई ? बासी रोटी, बासी तरकारी । त्यो पनि चिसै । धन्न ती केटाकेटीले दुई गाँस खाए पनि पूरैको पैसा तिरेर गए ।”
“ए हो र ? चिसो ठाउँ भएकोले छिट्टै सेलायो होला हउ दाजु ।”
“किन हुन्थ्यो ? थाहा भैहाल्छ नि”
“हुन त सेल अघिल्लो दिनकै भए पनि फरक पर्दैन तर सब्जीचाहिँ तात्तातो दिनुपर्थ्यो तिनीहरूले ।
“अनि बाझ्नु पनि भो ?”
“थैट, त्यस्तासँग बाझेर पङ्गु हुनु छ र आफैँ ?”
“पैसा त तिर्नुभो नि ?”
“तिरेँ नि । १५० सित्तैँ गएजस्तो भो ।”
“भेडेटार” नाम सुन्दै गौरव महसुस हुन्छ । चार्ल्स भ्यू पोइन्ट । आकर्षक पर्यटकीय स्थल । कोशी पहाडी क्षेत्रकै प्रमुख प्रवेशद्वार । तराईको भुङ्ग्रो छल्न फुत्त उफ्रिँदा चिसो सागरमा डुबुल्की मार्न पाउने ठाउँ । एकै खुट्किलामा कुहिरोको चिसो घुम्टो ओढ्न पाउने आनन्दस्थल । पाथीभरा देवीलाई शिरमा राखेर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरधाम, चताराधाम, निशान भगवती, जालपादेवी आदि धामहरू एकैसाथ दर्शन गराउन सक्ने पवित्र भूमि । अधिकांश पूर्वी तराई र पूर्वी पहाडी क्षेत्रको दृश्यावलोकन गराउन सक्ने मोहक भूमि । ऐतिहासिक साँगुरीगढी किल्लाको साक्षी । जिल्लाहरूको सीमाभूमि । यति ठुलो महिमा बोकेको सौन्दर्यस्थल भेडेटारलाई २-४ अज्ञानीका व्यवहारसँग जोडेर लज्जाबोध गराउन मिल्दैन । यस्तो विषयमा सरोकारवालाको ध्यान समयमै जानुपर्छ भन्ने मनोभाव उत्पन्न भयो मभित्र ।
हाम्रो सवारीसाधन क्रमशः ओर्लियो धनकुटापट्टिको पाटोबाट । लालीगुराँसका बुट्टाहरू आफूलाई दुलहीझैँ सिँगारेर ठाउँठाउँ उभिएका थिए । बन्दै गरेको स्काइवाक र भ्यूटावरले देख्न छोडेपनि धजेडाँडा, डाँडाबजार र नमस्ते झरनाले नियाल्न बिर्सेका थिएनन् हामीलाई । कार्कीछापे भिरमुनिकी ऐनादेवीको दर्शनपछि अलि तल एकान्ते वनमाराघारीलाई जल चढायौँ । अघिभन्दा अलि सजिलै गरायो रेनकोटले अहिले ।
पारिपट्टि किसानहरू किसानी कर्ममा व्यस्त थिए । कोही बारीका झिक्रा बटुलेर आगो लगाउँदै थिए । कोही गोरु नारेर बाँझो जोत्तै थिए । माटो भिज्नेगरी पानी परेपछि मकै छर्ने तयारी हुँदै रहेछ । ती किसानलाई देख्ता आफ्नो विगत बल्झेर आयो छातीमा ।
ओरालोमा घोटिएर ढुङ्डुङ्ती गन्हाएछ ब्रेक । सोचेँ, बसको बाल्कोनीमा बसेको भए सुल्टीमैयाँले अघिनै चुम्मा हानिसक्थिन् । धन्न बाइकको बाल्कोनी पाएर हावाको चुम्माले बचाइरहेछ ।
हामी सिम्सुवा नाघेर ७ कि.मि. तेर्सो दौडियौँ । लेउती किनारमा उभिएर मिठो खाना खुवाउने घण्टे र फेदीका होटलहरूले स्वागत गर्दै थिए । उनीहरूलाई मुस्कान दिँदै मूलघाट नजिक पुग्यौँ । ठँस्ठँस् कन्दै दायाँतिरको पहाड उक्लँदै थियो बस । हाम्रो बाइक पनि सुस्ताएर हेर्न थाल्यो उसैलाई ।
“गाउँ जाने गाडी एकाबिहानै भरिभराउ ? बुढी मोरङतिर कुनै मेला चल्दैछ कि क्या हो ?”
मेरो जिज्ञासा बटुवाका कानमा परेछ । उनले भने–
“ताप्लेजुङ पो जाँदैछ हउ भाइ त्यो बस त ।”
बाइक रोकेरै सोध्नुभो लक्ष्मण दाइले,
“हैन तमोर करिडोर भनेको यै हो कि क्या हो ?”
“हो नि भाइ । यो त दायाँ जोर्नी मात्रै पो । बायाँ जोर्नी त तल बराहक्षेत्रसँग जोडिन बाँकी नै छ । पछि त यो जक्सन पो हुन्छ है । कागजमा त अहिले नै छ नि चताराबाट त्रिवेणी, छिन्ताङ, खोकु हुँदै लेगुवाघाट पुगेको छ । यो तमोर करिडोर पनि त्रिवेणीमा पुगेर त्यही कोशी करिडोरमा जोडिएको छ । तर काम चाहिँ भरखर शुरु हुँदैछ लेगुवाघाटबाट ।”
उनले एकैपटकमा छिचोलेर कुरा गरे । पारिपट्टि छिन्ताङका राईदाजु रहेछन् उनी । मैले “सित्तैमा ज्ञान बाँड्नुभएकोमा धन्यवाद छ दाजु” भन्दा बिजुली चम्केझैँ उज्यालिए उनी । हिजोअस्ति जस्तो लाग्छ धनकुटाबाट सान्ताङ, याक्चनाघाट हुँदै डुङ्गा चढेर तमोरपूर्वका १३ गाविस पैतालाले नापी हिँडेको म । ट्वाक्कै हप्तादिन लागेथ्यो । अहिले ६ घण्टामै ताप्लेजुङ सरर भन्दा पत्याउनै गाह्रो ।
विगत सम्झिँदै गर्दा फुत्त निस्कियौँ पुलको मुखमा । बाटोको दुवैतर्फ सयौँ भारी ग्यामेरा उखु ठडिएका थिए । रास–रास थुप्रिएका पनि थिए । हाटबजार, मेलाझैँ भेला भएका थिए उखु किसान र खरितेहरू । लाँक्रा टुक्र्याउँदै सुत्रीले टुइँक्क बाँधेर, “ए पचास रुपियाँ पचास रुपियाँ” भन्दै यात्रीहरूलाई बेच्नेको अर्को मेला थियो । उत्रेर दुईचार टुक्रा दाँतैले मर्काउँझैँ लाग्यो । दाइको मन बुझेँ –
“दाइ जुस पिउने उखुको ?
“एकाबिहानै नपिऊँ हउ । भरे तुम्लिङ्टारमा पिउँला । त्यहाँ पनि यस्तै रसिला छन् ग्यामरा उखु ।” दाइ धिमा गतिमा अघि बढे । मैले तुम्लिङ्टारे, चैनपुरे खुँदो, सख्खर त सुनेकै हुँ तर ग्यामराको जुस चाहिँ सुनेको थिइनँ । खुँदो हुने ठाउँमा जुस् के नहोला भन्दै पुल काटियो ।
मूलघाट नजिकै पूर्वीबगैँचामा उभिएकी विश्रान्ती माई र कोशी अँगाल्न दौडेकी तमोरमाई दुवैलाई एकैसाथ ज्यू गरेँ मैले । पुल तर्दै गर्दा पाखाबाट सजीवनका लाखौँ त्यान्द्रे हातले भुइँसोरी नमस्कार गरे । तिनको ढोग पनि फर्काएँ । वृद्धाश्रमका आमाबुबालाई निहुरेर ढोगेँ ।
बिचरी साँल्दाइको हँकाइले बेलहारा बेँसी “माङ्पाखा”का घुम्तीहरू स्वादिलो गरी उकाल्न थाल्यो । प्रशस्त बेल खाने भएर नै होला यहाँका बासिन्दालाई “बेलहारे” भनिएको । साविकको गाविसको नाम नै बेलहारा । यो ठाउँमा बेल पाकेर सडकभरि छरिएका थिए । किनाराका नालीहरूमा बग्रेल्ती देखिन्थे । रातिको भेलबाढीले सोहोरेर ठाउँठाउँ रास लगाएको थियो । सतिबयर र खयरका केही बुट्टाबाहेक बाँकी सबै जङ्गल बेलकै हो तर यस्तो आधुनिक युगमा, त्यस्तो सुविधासम्मन्न स्थानमा, त्यति ठुलो मात्रामा उत्पादन हुने, सित्तैमा पाइने अमृत फल ‘बेल’को सङ्कलन, प्रशोधन, बिक्रीवितरण गरी आमदानी गरेको हामीले देख्न, सुन्न पाएनौँ । यो विषयले मन अमिलो बनाइरह्यो ।
रुद्रबारी छेउको पाखो बग्न छोडेको रहेनछ । उहिले “ब्रिटेनले बाटो खनाउँदा बहुमूल्य पत्थर झिकेर लग्यो रे त्यहाँबाट । पत्थर हराएपछि त्यहाँको सह सिद्धियो रे । जब धर्तीको सह सिद्धिन्छ तब त्यहाँ केही न केही गडबडी भइरहन्छ रे । कि मरुभूमि बन्छ, ज्वालामुखी बिस्फोट हुन्छ, उर्वराशक्ति नष्ट हुन्छ, कि बाढी पहिरो लाग्छ रे । त्यहाँचाहिँ वेदनाका आँसुले मुछिएर माटो बगिरहन्छ रे ।” यस्तो किंवदन्ती सुन्थ्यौँ हामी धनकुटा क्याम्पस पढ्दा ।
गुठी कटेपछि पात्लेखोला, बाख्रेखोला, गोठगाउँ छिचोल्दै धनकुटाको जिरोपोइन्टमा निस्कियौँ । सुन्दर सि.एम.ए. क्याम्पसक्षेत्र फर्किँदा घुम्ने सूचीमा राख्तै अघि बढ्यौँ । दायाँ लाग्दा धनकुटाको बस बिसौनी, शिरवानी, मदनचोक, ठाडोबजार, तुँणीखेल, तल्लोकोप्चे, बिहीबारे हटिया, माथ्लोकोप्चे, हुलाक टोल सबै घुमेर माथि सल्लेरी निस्कन्थ्यो । तर हामी देब्रे मोडियौँ र उँभो पर्ने निशान भगवती र उँधो पर्ने धनकुटा बहुमुखी क्याम्पस दुवैलाई दर्शन नमस्कार भन्दै सल्लेरीको उकालो चढ्यौँ । कचिँडे देब्रे छोडियो, बजार दाहिने ।
पहिलेको विशाल सल्लाघारी अधिकांश फडानी भएछ । आर्मीक्याम्प नपुग्दैदेखि उराठलाग्दो देखिन थाल्यो । खल्लो भयो मन देब्रेबास नकटुञ्जेल । लटरम्मै सुन्तला, जुनार फल्ने देब्रेबासले भरखर पाउलो फेर्दै आङ्भरी फूल फुलाउँदै थियो । मगमग बास्ना छर्दै उभिएका सुन्तलाका बोट नियाल्दै स्कुलडाँडा कट्यौँ र भिरको टुप्पाबाट देब्रेतिर हेर्यौं । कुनै समय पूर्वक्षेत्रलाई नै शिक्षाको ज्योतिले झलमल्ल बनाउने कचिँडेलाई नियाल्यौँ । साहित्यकार झमक कुमारी घिमिरेलाई भेट्ने फुर्सद भएन यो पटक । त्यही डाँडाबाट नमस्कार गर्यौं र कागते, निगाले हुँदै कुवापानी उक्लियौँ ।
उद्योगपति गजानन्द वैद्यले किनेको पाँचहजार रोपनी जग्गामा छोरा सुरज वैद्यले लगाएको चियाबगानले अहिले अन्तर्राष्ट्रिय बजार लिएको छ । निकै ख्याति कमाइरहेको छ यसले । यो बगान पूर्वमा कुवापानी, पश्चिममा उत्तरपानी, दक्षिणमा उपल्लो पात्ले, उत्तरमा हिलेबजारसम्म फैलिएको छ । पाख्रीबास, कुवापानी र गुराँसे चियाबगानहरूले धनकुटालाई चियाखेतीतर्फ आकर्षित गरिरहेका छन् । यी तीनवटै आकर्षक चियाबगानको दृष्य एकैपटकमा देखाउँदो रहेछ वक्रतुण्ड महादेव मन्दिरमाथिको गगनचुम्बी थुम्कोले ।
हिले पुग्नुअघि गुडुल्किएको तेर्सो बाटोले हिलोको बास्ना र स्वाद दुवै चखायो । मलखाद पनि मिसाएजस्तो बास्ना आउने दबदबे हिलोमा दोहोरीलत्त सवारीसाधन दौडिँदा सम्झन योग्य रमाइलो महसुस भयो । सुर ताल मिले पैदल यात्रीलाई मुसो बनाउँथे ठुला सवारी साधनले । तर त्राहिमाम् हुँदै तर्यौं घुम्तीहरू ज्यान ओभानै राखेर ।
बिहानको ९ः४० बजे हिलेडाँडाको तोङ्बाचोकमा टुप्लुक्क झुल्कियौँ हामी । उत्तरपानी, चुङमाङ, खोकु, छिन्ताङ, आँखीसल्लातिर जाने चोकमा तोङबा बाजे आफैँ उभिएर शहरको चिनारी गराइरहेका थिए । बौद्ध धर्मावलम्बी तामाङ समुदायको आस्थाको केन्द्र “गुम्बा” पहिलेजस्तै सुनौला बुट्टाहरूमा सजिएकै थियो । मैले गुम्बाको डिलमा उभिएर आफ्नो जन्मथलो चुङमाङलाई नियालेँ । चुच्चेकी सिंहदेवीलाई ढोगेँ । छिन्ताङकी जालपादेवीलाई पनि त्यहीँबाट ढोगेँ । आशीर्वाद मागेँ र बजारपट्टि फर्कें ।
हिलेका पुराना उत्तिसे घरहरूलाई कङ्क्रिटले विस्थापित गरिसक्नै लागेछ । बाटो फराकिलो बन्दा घरले आफ्ना पुराना अनुहार ताछेर फ्याँकेछन् र जोडेछन् नयाँ अनुहार । बाटो बिस्तार भएर भोजपुर, संखुवासभा, तेह्रथुम पुग्नुअघिको घन्चमन्च, ठेलमठेल हिलेबजार सम्झेँ । वाह ! त्यो तन्नेरी हिले । लछप्पै भिजायो मन । आजको रुनोसुनो हिलेबजारको अनौठो रुप नियाल्दै र ग्यास्ट्रिकको ओखती पसल खोज्दै दौडँदा झन्डै नाघिएछ बजार नै । फर्केर फेरि दायाँ उक्लियौँ मध्यपहाडी लोकमार्गहुँदै पाख्रीबासको पाटोतिर ।
भेडेटारका सेलरोटीले दाजैलाई छोडेको रहेनछ । मलाई भने अघिल्लो साँझको खानाले छोडिसकेको थियो । राम्रा होटल छुटिसके तलतिरै । खाना सम्झिसक्ता पेटले सारङ्गी रेट्तै हाल्न थाल्यो भाका…
बाटो आयो करालो
भोको पेट नझर् ओरालो
तल झरे छैनन् होटल घुम्ती सयौँ ठाउँ छ
लु खा नानी भोकाइस् भनी कल्ले मित लाउँछ ?
डिकुरेले बिर्सिसक्यो चुङमाङका गीत
भर्न कैल्यै नसकिने यो पेटको रीत
बाटो आयो करालो …
पेटको ध्वनि कानमा गुन्जिएपछि आँखा डुल्दै थिए दायाँबायाँ । मन डुल्दै थियो तात्तातो भातमा । दाजैले सुस्तरी हाँके बाइक । अलि पर कतैबाट महिला आवाज आयो, “खाना खाएर जानु है दाजुहरू, खाना पाकेको छ ।” खालिपेटले देब्रे कान तिखारेको रहेछ, झट्टै सुनिहाल्यो । बिसायौँ बाइक र पस्यौँ छाप्रोमा ।
बाहिर सब्जी र किराना पसल, भित्र रहेछ होटल । जसरी पनि पैसा कमाउने उद्देश्य बोकेका छाप्राहरू चिसो हिलेमा जाँगरले तातेका देखिन्थे । छाप्राका पछाडि घर रहेछन् । भिरका फेदमा खुट्टा टेकेर सडक किनारमा जुल्फीमात्रै देखाएका यी घरले निधारमा छाप्रा टाँसेका रहेछन् । चार तलाका बहत्तर खुट्किला भर्याङ् ओर्लेपछि मात्रै पाइखाना भेटियो । झरेजति सबै खुट्किला उक्लिनै पर्ने बाध्यतामा परे गोडा । माथि आइपुग्दा तनावले निकैबेर उफ्रियो फोक्सो ।
घ्याम्पेगाउँ माइती बताउने कान्छी तामाङले बोइलरको दुई डाडु मासु पस्केर कराइमा तात्तातो पारिन् । स्टिलका स–साना थालमा फरर्र परेको भात पस्केर प्लास्टिकको साँघुरो टेबलमा राखिदिइन् । दुईचार गाँसले पुगिहाल्दो रहेछ दाइलाई, उठिहाल्नुभयो । आफूले त तीनसय पचास असुलिनेगरी लफन्याइयो । चिसो हिलेमा भोको पेटले रायोको साग र धानको भात भेटेपछि कल्लाई पर्खिबस्थ्यो र ? त्यसमा पनि सित्तनमा मासु । जति खायो उति खाउँखाउँ ।
खानाको दाम तिरिसकेपछि दालचिनी र सुप लिँदै थिएँ । कान्छी तामाङले भनिन्
“साँची दाजु, तपाइँहरूले हिलेको तोङ्बा त चाख्नु भएन नि ?”
“हत्तेरी बहिनी, टाढा हिँडेको मान्छे, बाइकको यात्रा, बिहानबिहानै कता तोङ्बा चाखिबस्नु त हउ अनि ?”
“होइन नि दाजु, तोङ्बा त जतिबेरै खान मिल्छ । तोङ्बाको तेल सरर्र ज्यानमा लागेपछि बाटो हिँड्नुको मजै बेग्लै हुन्छ । धेरै खानुहुन्न तर एकदुई पानी खाँदा त रमरम, न्यानो पो हुन्छ त शरीर । रमाइलो गर्न हिँड्नुभएको होइन त तपाईंहरू ?”
“त्यो चाखेपछि फेरि अर्को कुरा चाख्न माग्ला शरीरले । अनि चाख्ताचाख्तै आजको बास त कान्छीकै होटलमा पो हुन्छ होला त । भो भो कान्छी, अहिले होइन । पछि फुर्सदमा चाखौँला है ।”
कान्छीका राताराता गाला अझै राता भए । लजाएझैँ गरी भनिन् “थेत् दाजु पनि.. वास बस्नुपरे बसौँला नि यतै । तपाईंहरूकै लागि त हो नि यो कान्छीले होटल खोलेको ।”
मैले बाहिर निस्कँदै भनेँ, “अहिले होस् ल कान्छी । तोङ्बाको तेलभन्दा रसिलो तिम्रो बोलीले सरर्रै काँडा उमार्यो जीउमा । अझै तेल थप्न थाल्यो भने त थाम्दैन नि ज्यानले । हामी फेरि तामाङहरूजस्तो बलियाबाङ्गा हुन्नौँ क्यारे । फ्याप्लेको झारजस्तो फितिक्कै भइहालिन्छ । भैगो कान्छी, अहिले हामी निस्कन्छौँ ल । पछि फर्किँदा बसौँला नि कान्छीको होटलमा ।”
मिठो मुस्कान छरेर कान्छीले भनिन्–
“आम्मै ! के को फितिक्कै हुनु नि ? त्यस्तो हट्टाकट्टा दोहोरो ज्यान छ दाजुको । अनुहार उस्तै गोरो, झर्झराउँदो । तैपनि टाढाको यात्रा भनेर शर्माउनु भयो । तर फर्किँदाचाहिँ निस्कन नभुल्नु है फेरि ।”
“हुन्छ, हुन्छ बहिनी, भुल्दैनौं ।”
बाइक चढेर बाईबाई गर्दै हुइँकियौँ हामी पाख्रीबासतिर ।
यात्रा मितिः २०७९।१२।७

