इटहरीको रात्रिकालीन सुनसान परिवेश । बाहिर चिसो हावा सरसराइरहेको थियो, कोठाभित्र भने ५ वाटको मधुरो चिम । महेशको मनमा एउटा फरक किसिमको राप बलिरहेको थियो । उनको हातमा भएको स्मार्टफोनको स्क्रिन अचानक चम्कियो— म्यासेन्जरमा सुलक्षणाको सन्देश थियो ।
उनीहरू बीच फेसबुकमा मित्रता गाँसिएको धेरै भएको थिएन । एक साहित्यिक कार्यक्रममा सुलक्षणाका मीठा र शालीन कथा, कविताहरू सुनेपछि महेशले ‘फ्रेंड रिक्वेस्ट’ पठाएका थिए, जुन तुरुन्तै स्वीकार भएको थियो । उनीहरू कहिल्यै आमनेसामने भएका थिएनन्, न त एउटै शहरमा नै थिए । यो केवल दुईवटा अदृश्य मोबाइल स्क्रिन र अक्षरहरूको सम्बन्ध थियो । तर, सुलक्षणाको बोलीको मिठास र स्पष्टवादिताले महेशलाई छोटो समयमै मन्त्रमुग्ध बनाइसकेको थियो ।
च्याटको सिलसिला गहिरिँदै जाँदा सुलक्षणाले आफ्ना कतिपय निजी पाटाहरू उघारेकी थिइन् । उनी विवाहित हुनु, तर लामो समयदेखि पतिभन्दा टाढा एक्लै बस्नु जस्ता कुराले महेशलाई उनीप्रति झन् नजिक गराएको थियो । महेशले पनि आफ्नो तर्फबाट केही कुराहरू राखेका थिए । बिस्तारै उनीहरूको संवाद कविता र समालोचनाबाट मानव जीवनका जटिल पाटातिर मोडियो ।
गत हप्ता मात्र उनीहरूबीच ‘वैवाहिक इतर सम्बन्ध’ र अन्य सामाजिक यौन परम्पराका बारेमा लामो संवाद भएको थियो । सुलक्षणाले च्याटमा लेखेकी थिइन्— “महेश जी, मेरो विचारमा यदि पति र पत्नी सँगै बस्छन् भने, शारीरिक या मानसिक सन्तुष्टिका लागि अरू व्यक्तिसँग सम्बन्ध बनाउनु नैतिक अपराध हो । सँगै बस्नु भनेको जिम्मेवारी र निष्ठा दुवै हो ।”
यो म्यासेज पढ्दा महेश आफ्नै ओछ्यानमा पल्टिएका थिए । कोठाको अर्को कुनामा उनकी पत्नी निधारमा चन्दन घस्दै धार्मिक पुस्तक पल्टाउँदै थिइन् । विगत तीन वर्षदेखि उनीहरूको दाम्पत्य जीवनमा कुनै शारीरिक निकटता थिएन । धर्म-कर्म र आध्यात्मिकतामा एकहोरो डुबेकी पत्नीको शरीर महेशका लागि केवल एउटा काठको तखता जस्तो मात्र भएको थियो । बढ्दो उमेरसँगै महेशमा पनि केही शारीरिक कमजोरीहरू त थिए, तर मनभित्रको अतृप्त पुरुष अझै जागृत थियो ।
सुलक्षणाको सोही म्यासेजलाई महेशले आफ्नो मस्तिष्कमा पटक-पटक घुमाए र आफ्नो अनुकूलता अनुसारको एउटा नयाँ अर्थ निकाले— “सुलक्षणाको भनाइको अर्थ त— जो पति-पत्नी सँगै बस्छन्, उनीहरूले मात्र अन्त सम्बन्ध राख्नु हुँदैन भन्ने पो हो त ! तर सुलक्षणा त लामो समयदेखि पतिभन्दा टाढा, एकल र अतृप्त छिन् र म पनि श्रीमतीसँगै भएर पनि विगत तीन वर्षदेखि पूर्ण रूपमा एकल र अतृप्त छु । त्यसैले, हामी जस्ता अपूर्ण र अतृप्त मानिसहरूले आफ्नो खुशी र शारीरिक सन्तुष्टिका लागि सम्बन्ध राख्न त मिल्छ नि, यसलाई त अनैतिक भन्न मिल्दैन !”
यो आत्मपरक विश्लेषणले महेशको मनमा सुलक्षणाप्रति झन् तीव्र आकर्षण पैदा गरिदियो । उनलाई लाग्यो, सुलक्षणाले घुमाउरो पाराले आफ्नै स्थितिको वकालत गरेकी हुन् र उनी जस्ती बौद्धिक महिला नै आफ्नो यो शून्य जीवनको मरुभूमिमा शीतल जल हुन सक्छिन् ।
आजको च्याट यही मानसिकताको जगमा अझ बढी व्यक्तिगत र संवेदनशील मोडमा पुगेको थियो । महेशले सोधेका थिए, “हामी कहिल्यै नभेटेका अनलाइनका साथी मात्र हौँ, तैपनि मलाई लाग्छ हामी धेरै नजिक छौँ । सुलक्षणा जी, यदि कसैको जीवन सँगै भएर पनि मरुभूमि जस्तो सुख्खा छ भने, उसले ओएसिस खोज्नु गल्ती होइन नि, हो र ?”
सुलक्षणाको ‘Typing…’ लेखेको सङ्केत स्क्रिनमा देखियो । महेशको मुटुको धड्कन तीव्र भयो । केही बेरमै म्यासेज आयो— “होइन महेश जी, अतृप्ति त मानव स्वभाव हो । तर म अनलाइनको यो भर्चुअल संसार र वास्तविकतालाई फरक राख्छु । म कसैसँग प्रत्यक्ष नभेटेसम्म र उसको नियत नबुझेसम्म समाजको दायरा नाघ्न सक्दिनँ ।”
यो म्यासेज महेशका लागि एउटा चुनौती र अवसर दुवै बनेर आयो । सुलक्षणाको ‘प्रत्यक्ष नभेटेसम्म’ भन्ने शब्दले उनको चाहनालाई झन् बलियो बनायो । उनी सुलक्षणालाई कफी शपमा भेट्ने वा गफिने कुरामा मात्र सीमित राख्न चाहँदैनथे । उनको मनमा केवल शारीरिक तृष्णा र यौन सम्पर्कको प्रस्ताव राख्ने तीव्र इच्छा जागृत भयो । उनी यो भौतिक दुरीलाई मेट्न चाहन्थे ।
उनले म्यासेन्जरको की-बोर्डमा सिधै प्रस्ताव टाइप गरे— “हामी प्रत्यक्ष नभेटे पनि मन त मिलिसक्यो नि । सुलक्षणा जी, म तपाईंसँग केवल एउटा साहित्यिक साथीका रूपमा मात्र होइन, एउटा पुरुषका रूपमा भौतिक रूपमा नजिक हुन चाहन्छु । के हामी केवल शारीरिक सन्तुष्टि र यो अतृप्ति मेटाउनका लागि मात्र भेट्न सक्छौँ ? म तपाईंलाई मात्र…” पठाउनु अघि उनले टाइप गरेका शब्दहरूलाई फेरि एकपटक पढे । औँला ‘Send’ बटन माथि पुगेर हावामै रोकियो ।
एकातिर कहिल्यै नभेटेकी, तर आफ्नो सिद्धान्त स्पष्ट राख्ने महिलाको कडा नैतिक धारणा थियो, जहाँ अलिकति पनि सन्तुलन बिग्रिए आत्मीयता एकै पलमा ब्लक हुन सक्थ्यो । अर्कोतिर उनको आफ्नै तीन वर्षदेखिको शून्य र अतृप्त वैवाहिक जीवनको पीडा थियो, जसलाई सुलक्षणाको म्यासेजले एउटा वैध बाटो देखाइसकेको थियो ।
महेश लामो श्वास फेर्दै स्क्रिनमा टोलाइरहे । बाहिर रात झन्झन् गाढा र चिसो हुँदै गइरहेको थियो । मोबाइलको बत्ती उनको अनुहारमा परिरहेको थियो । उनले ‘Send’ बटन थिचेर आफ्नो भित्री शारीरिक चाहना उजागर गरे वा ‘Erase’ गरेर सधैँका लागि त्यो अतृप्तिलाई मनमै दबाए ।
त्यो निर्णय मोबाइलको स्क्रिन र महेशको दोधारको बीचमा अनुत्तरित नै रह्यो ।

