पोखरा । गीतकार नेपाल रानाभाट ‘सुबोध’ को नयाँ गीत ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो आइतबार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा भिडियो विमोचन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित साहित्यकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का पूर्वकुलपति सरुभक्तले स्रष्टाहरू समाजकै अभिन्न अङ्ग भएकाले समाजसापेक्ष सिर्जनामा लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले विभिन्न पेशामा संलग्न रहे पनि गीतकार, सङ्गीतकार र कलाकारले आफ्नो सिर्जनशीलता अभिव्यक्त गर्न निरन्तर लाग्नुपर्ने बताउँदै नेपाल रानाभाट को सिर्जनात्मक सक्रियताको प्रशंसा गर्नुभयो ।
गीतकार नेपाल रानाभाट ले लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाउँदै आफूले गीत सार्वजनिक गर्नुअघि लक्षित वर्गको प्रतिक्रिया लिने गरेको बताउनुभयो । उहाँका अनुसार गीतमा समाजको कथा समेट्ने प्रयास गरिएको छ र भिडियोले गीतलाई न्याय गरेको अनुभूति दिलाएको छ । शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका तालिम प्रमुखसमेत रहनुभएकाे रानाभाटका यसअघि करिब एक दर्जन गीत सार्वजनिक भइसकेका छन् । उहाँको ‘समयका स्वरहरू’ मुक्तकसङ्ग्रह पनि प्रकाशित छ ।
कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपाल ले रानाभाटलाई ‘मुटुको गीतकार’ का रूपमा चित्रण गर्दै भावनात्मक गहिराइ बोकेका सिर्जनाले दर्शक–श्रोताको मन छोएको उल्लेख गर्नुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठान का संस्थापक कुलपति पद्मराज ढकाल, गायक पुरुषोत्तम न्यौपाने, तनहुँ सम्पर्क समाजकी अध्यक्ष भुवन पराजुली काफ्ले, गायक भीम लिम्बू तथा भिडियोका निर्देशक परिवर्तन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
गीतमा नेपाल रानाभाट कै शब्द तथा सङ्गीत रहेको छ भने रचना रिमाल र भीम लिम्बू को स्वर रहेको छ । भिडियोमा रमेश तिमिल्सिना, सरिता दानकुटी र स्वयं नेपाल रानाभाट को अभिनय देख्न सकिन्छ । कार्यक्रमको अध्यक्षता अनुराग अधिकारी ले गर्नुभएको थियो भने सञ्चालन रुपिन्द्र प्रभावी ले गर्नुभएको थियो ।

