साहित्यपोस्ट डट कम

साथी भेटिँदाको खुशी

साथी भेटिँदाको खुशी

मेरो स्मृति, आत्मीयता र समयको अन्तराललाई फर्किएर हेदा म आफैँ ती विगत दिनतिर फर्किन्छु । ती दिन र यी दिनलाई तुलना गर्दा बाल्यकाल, साहित्य, कला, संगीत, मित्रता र पुनर्मिलन एउटै स्वरमा गुन्गुनाउँछन् । ती गुनगुनले मलाई मेरो प्यारो खोटाङ, चिसापानी मा.वि.को परिवेश र आफ्नै गाउँघरमा पुर्याउँछन् ।

स्कुल पढ्दाको मेरो साथी बालन्द राई नेपाली सांगीतिक क्षेत्रको एउटा कुशल संगीतकारका रूपमा स्थापित भइसकेको कुराले म गदगद भइरहेको थिएँ । गएको साता नेपाल प्रज्ञा–प्रतिष्ठानमा वरिष्ठ गायिका लोचन भट्टराईसँगको कुराकानीमा मैले सोधेँ, “दिदी बालन्द राईसँग हजुरले गीत रेकर्डिङ गर्दै गर्नुभएको फोटो देखेर मलाई धेरै खुसी लाग्यो ।”

उहाँले सोध्नुभयो, “धन्यवाद, तर किन र ?”

मैले जवाफमा हाँस्दै भनेँ– “बालन्द राई मेरो स्कुल पढ्दाको साथी हो तर ऊसँग भेट नभएको दशकौँ बितिसक्यो ।”

मेरो कुरा सुनेर लोचन भट्टराईले भन्नुभयो, “ए तपाईंहरू स्कुल पढ्दाको बाल्यकालीन साथी पो हुनुहुँदो रहेछ । बालनजीलाई भेट्न सजिलो छ । उहाँले धेरै राम्रो राम्रो संगीत गर्नुहुन्छ ।”

आज साँझ मेरा पुराना मित्रसँग पुल्चोकस्थित उनैको रेकर्डिङ स्टुडियोमा भेटघाट भयो । स्कुलका दिनका कुराकानी भयो । मैले मनमनै सोचेँ– “कसैले संगीतमा आफूलाई स्थापित गर्छ, कसैले शब्दमा आफूलाई बाँच्छ तर मित्रता– त्यो त कुनै रेकर्डिङ स्टुडियोको सीमाभन्दा बाहिरको कुरा रहेछ ।”

आज बुझेँ केही भेटघाटहरू फोटामा कैद हुँदैनन् तर स्मृतिमा स्थायी रूपमा रेकर्ड हुन्छन् । मेरा मित्र बालन्द राई आज एक कुशल संगीतकार हुन् तर मेरा लागि उनी अझै पनि स्कुलकै ती साथी हुन्, जो समयको लामो मौनतापछि फेरि मित्रताको पुरानो धुन बजाउन फर्किएका छन् । साँझको समय अनायासै मुस्कुरायो । हाम्रो मित्रताको पुरानो धुन फेरि गुञ्जियो ।

अन्ततः हाम्रो भेटको साँझ, त्यही समयले मलाई फेरि उही साथीको सामु उभ्यायो । पुराना दिनतिर हामी फर्किएर गयौँ ।

बालन्दः “यत्रो वर्षपछि पनि आवाज चिन्न सकिएछ है !”

मः “आवाज मात्रै होइन, तिमीभित्रको बाल्यकाल पनि अझै बाँचेको रहेछ ।”

हामी दुवै हाँस्यौँ– स्कुलका दिनका कुरा स्वतः आउँथे, आउनु स्वाभाविक पनि हो । कुन शिक्षक कति कडा थिए, कुन घण्टी किन ढिलो बज्थ्यो, कुन सपना कुन मोडमा हरायो सबै कुरा संवाद बने ।

बालन्दः “गाउँ त धेरै फरक भइसकेको रहेछ । कुना–कुनामा गाडी गुड्दा रहेछन् । सुविधायुक्त जीवन बनिसकेछ । तर हामी भने सहरमा सहर जस्तै फैलिन त फैलियौँ तर अस्तव्यस्त । आ–आफ्नै जीवनको दौडमा बिहानदेखि रातिसम्म दौडादौड । आफैँलाई फर्किएर हेर्ने फुर्सद नहुने ।”

मः “हो, गाउँका बाटा अझै हाम्रै पाइला खोजिरहेका होलान् । तर हाम्रा साथीभाइ को कता पुगे, बुढा भए होलान्, आफ्नो गाउँमा आफैँ बिरानो !”

गाउँघरका कुरा भए– बाटो, वन, खेत, खोल्सा, हावाले ल्याएको धानको गन्ध । चिसापानीको सुकुल, चिसापानी बजार, हुमपोखरी, राकेहाट लाग्ने कुहिबीर, बराहपाखेरी, जन्तेढुंगा आदि । पामाखाम भन्ज्याङ, कुइबीरका टाकुरामा आरामले बस पुगेका छन् । यी सबै सहरका कुरा पनि मिसिए– स्टुडियो, समयको चाप, संगीतको अनुशासन ।

पुरानो साथी भेटिँदाको खुसी कति कति ! पुरानो साथी भेटिँदाको खुसी नाप्ने कुनै मापदण्ड हुँदैन रहेछ । त्यो खुसी न त शब्दको तौलले तराजुमा राखेर जोख्न सकिन्छ, न त समयको ऐनामा हेर्न । अचानक भेटिँदा मनभित्र जे हुन्छ, त्यो केवल अनुभूति हुन्छ– अत्यन्त निजी, अत्यन्त आत्मीय !

वर्षौँअघि छुट्टिएको अनुहार जब फेरि आँखै अगाडि आइपुग्छ, तब समय एकछिन रोकिन्छ । अनुहारमा रेखा थपिएका हुन्छन्, आँखामा जीवनका थकाइ र सफलताका चम्किला किरणहरू मिसिएका हुन्छन् तर मुस्कान भने उही हुन्छ– स्कुलको डेस्क, बेन्च, ब्ल्याकबोर्ड, छेउमै बसेर बाँडेको, भविष्यको डर नबोकेको मुस्कान । त्यही मुस्कानले भन्छ– हामी टाढा त भयौँ, तर अलग्ग कहिल्यै भएनौँ ।

पुरानो साथी भेटिँदा कुराकानीले शुरुमा बाटो खोज्छ । “कस्तो छौ, के गर्दैछौ, उन्नति–प्रगति के कस्तो छ ?” आदि भन्ने सामान्य प्रश्नबाट शुरु भएर कुरा बिस्तारै जीवनका गहिरा मोडहरूमा पुग्छ । कसैले गाउँ छोडेको कथा सुनाउँछ, कसैले सहरले थकाएको मन । कोही सपनाको पछाडि दौडेर थाकेको हुन्छ, कोही सपनासँगै सम्झौता गरेर शान्त । कोही प्रगतिको शिखरमा पुगेको खुसी, कोही घोर निराशाले हार मानिरहेको अनुभूति !

यद्यपि यी सबै कथाबीच एउटा साझा धागो हुन्छ– साथीत्वपन । पुरानो साथी भेटिँदाको खुसीमा छिनभर भए पनि मन बाल्यकालतिर फर्किन्छ । ती दुःखका दिनहरू, संघर्ष र कठिनाइलाई पुनः सम्झिँदा पनि एकप्रकारको बेग्लै आनन्द महसुस हुन्छ ।

त्यो खुसीमा कुनै औपचारिकता हुँदैन । न त विगतका गुनासा हुन्छन्, न त वर्तमानका प्रतिस्पर्धा । मात्रै सम्झनाहरू आउँछन्– कक्षाकोठाका हाँसो, क्लासमेटका नाम, शिक्षकको डर, खेलमैदानका हार–जित र भविष्यका हावामा उडाइएका कल्पनाहरू । ती सम्झनाहरू अहिलेको गम्भीर जीवनमाथि केही समयका लागि बाल्यकालको उज्यालो छाया बिछ्याइदिन्छन् । तिनलाई यो व्यस्त जीवनमा फर्किएर हेर्नु वा सम्झनु भनेको आफ्नो सुन्दर धरातलप्रतिको हार्दिक प्रेम पनि हो ।

पुरानो साथी भेटिँदा आफू फेरि आफूजस्तै लाग्दो रहेछ । समाजले चढाइदिएको भूमिकाको आवरण हटेर भित्रको त्यो सरल ‘म’ बाहिर निस्किन्छ, जसलाई न सफलताको भार चाहिन्छ, न असफलताको बहाना । त्यही ‘म’ साथीसँग बसेर खुलेर हाँस्न सक्छ, मौन बस्न पनि असहज हुँदैन । जतिसुकै आफूभित्र पीडा तथा तनावका हैरानीहरू विद्यमान रहेका भए तापनि !

सायद त्यसैले पुरानो साथी भेटिँदाको खुसी यति आत्मीय र यति गहिरो हुन्छ । त्यो खुसी भेटको होइन, आफूलाई आफूले भेटेको खुसी पनि हो । जीवनले जति टाढा पुर्याए पनि, समयले जति परिवर्तन गराए पनि, मित्रताको मूल स्वर कहिल्यै बेसुरको हुँदैन रहेछ भन्ने विश्वासको खुसी हो त्यो ।

हो, पुरानो साथी भेटिँदाको खुसी कति–कति ! त्यो खुसी त्यतिबेला थाहा हुन्छ, जब बिदा हुँदै गर्दा मनभित्र कुनै खालीपन होइन, बरु फेरि भेट्ने आशाले भरिएको न्यानोपन बाँकी रहन्छ ।

हिउँदको चिसो सिरेटोले न्यानोपनलाई बिस्तारै भगाउँदै तापक्रम झारिरहेको बेला, मेरो यस्तै पुरानो मित्रता भने अनायासै नयाँ अध्यायमा नवीकरणको संघारमा प्रवेश गरेको खुसी पोखिरहेको थियो । बाहिर मौसम कठोर बन्दै थियो तर भित्र स्मृतिहरूको आगो बलिरहेको थियो । समयले हामीलाई छुट्टाछुट्टै दिशामा हिँडाइदिए पनि भेटको यो क्षणले दशकौँको दूरीलाई एकैछिनमा मेटाइदियो । तर चिसो मौसमजस्तै समय पनि कठोर नै रहेछ– घडीका सुइहरूले बिदाको संकेत गर्न थालेपछि एकाध घण्टाको भेट र भलाकुसारी पनि छिनमै बितेको कुनै अत्तोपत्तो नै भएन ।

बिदाको त्यो घडीसम्म आइपुग्दा, हामी पुराना साथीबीचका कुराकानी केवल सम्झनामा सीमित रहेनन् । विगतका संघर्षमय यात्रा खुले– कसरी पढाइ कर्मले जीवनलाई अनुशासन सिकायो, कसरी जीवनयापनका कठिन मोडहरूले धैर्य र सहनशीलता जन्मायो । घरपरिवारका कथा आए, आफन्तका सुख–दुःख मिसिए, साथीभाइको आरोह–अवरोह सुनियो, गुरुवर्गका अमूल्य सिकाइहरू कृतज्ञतासहित स्मरण गरिए । ती सबै सन्दर्भहरूमा हामीले अनुभव साट्यौँ, विचार विमर्श गर्यौं र बुझ्यौँ– समयले रूप बदल्छ, परिस्थिति फेरिन्छ तर मित्रताले आफूलाई सधैँ पुनःसंरचना गरिरहन्छ । पुराना यादहरूले समयलाई बौराइरहन्छ ।

बिदा लिँदा हात छुट्टिए तर मन छुट्टिएन । हिउँदको चिसो सिरेटोले शरीरलाई कँपायो होला तर त्यो साँझ मित्रताको न्यानोपनले मनलाई लामो समयसम्म तताइरहने विश्वास भने हामी दुवैसँगै लिएर फर्कियौँ ।

उनको संगीत स्टुडियोबाट त्यतिबेला कुनै स्पष्ट सांगीतिक ध्वनि–तरङ्गको गुञ्जन त आइरहेको थिएन तर मेरा कानभित्र भने सुमधुर सांगीतिक स्वरको स्पर्श निरन्तर भइरह्यो । त्यो स्वर कुनै रेकर्ड गरिएको धुन थिएन, त्यो त स्मृतिले बजाएको संगीत थियो– बाल्यकाल, संघर्ष र अधुरा सपनाहरूको । मौन स्टुडियोभित्र बसेर पनि म भित्रभित्रै स्पन्दित भइरहेँ, मानौँ शब्द र स्वर दुवै एकअर्कासँग पुरानो चिनजान नवीकरण गरिरहेका थिए ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.