साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : भोल्गादेखि गङ्गा

साताकाे पुस्तक : भोल्गादेखि गङ्गा

भोल्गादेखि गङ्गा – राहुल सांकृत्यायन

अनुवादक डा. कुमारप्रसाद कोइरालाले अनुवाद गर्नुभएको पुस्तक हो ‘भोल्गादेखि गङ्गा’ । भोल्गादेखि गङ्गा पुस्तकिभत्र मानव सभ्याता भोल्गा नदीबाट सुरु भएर हजारौँ वर्षको संघर्ष, श्रम र परिवर्तन हुँदै गंगा सभ्यतासम्म कसरी विकास भयो भन्ने कथा छ ।

”मैले ‘भोल्गादेखि गङ्गा’का केही कथा हिन्दीका पत्रिकामा पढिसकेको थिएँ।” पुस्तकमा भदन्त आनन्द कौसल्यायन लेख्नुहुन्छ, ”जति वेला पुस्तक प्रकाशित भयो सम्भवतः त्यसको पहिलो प्रति मलाई नै प्राप्त भएको हो । एकपल्ट फेरि मैलै सम्पूर्ण पुस्तक र कतिपय कथाहरू एकभन्दा धेरै पल्ट पढेको छु । सबै प्रकार र अवस्थाका मानिसलाई पढेर सुनाएको पनि छु। कतिपय कथा कथा कम र इतिहास अधिक हुन् भनेर मैलै आलोचना पनि गरेको छु । साँच्चै केही कथा मलाई ज्ञानको भारीले थिचिएका जस्ता लागे । कथा त हल्काफुल्का हुनुपर्छ । मैले यस्तो सम्मति राहुलजीलाई लेखेर पठाएँ। उनको उत्तर थियो- यदि यी कथालाई रोचक ढङ्गले लेखिएको इतिहास मात्र मानियो भने पनि म सन्तुष्ट हुनेछु । मैले भोल्गादेखि गङ्गाको प्रशंसा गरेको छु र सुनेको पनि छु । तर विश्वसाहित्यसँग परिचित एक जना महाराष्ट्रका विद्वान्‌को ‘कुनै पनि भारतीय भाषामा यस हिन्दी पुस्तक समान कुनै ग्रन्थ छैनन्’ भन्ने राय सुनेर मेरो हिन्दी भक्त मन साँच्चै नाच्यो । तर दुःखको कुरा ! हिजो कुनै सज्जनले २० सेप्टेम्बरको ‘विश्वबन्धु’ को एउटा चिर्कटो पठाए । त्यसमा लेखिएको थियो । ‘नग्नवादी वेदनिन्दक राहुल’ । लेखकको नाम हो- ‘श्री स्वामीजी ।’ तर उनलाई गुप्त रहनुपर्ने के आवश्यकता थियो ?, अं, कसैले आफ्नो नाम स्वामीजी राखेको भए कुरै अर्को हुन्थ्यो । पुस्तक प्रिय वा अप्रिय लाग्नु आआफ्नो रुचिको कुरा मात्र नभएर योग्यताको कुरा पनि हो । कुनै पनि ग्रन्थ सबैले समान रूपमा कहिल्यै मन पराउँदैनन् । भोल्गादेखि गङ्गा यसको अपवाद हुन सक्दैन । श्री स्वामी जीले यस्तो घृणित पुस्तकमा प्रतिबन्ध लगाउने पूरा प्रयास गर्नुपर्छ भनेर जनताका अगाडि इच्छा व्यक्त गरेका छन्। त्यसबारे म केवल के जान्न चाहन्छु भने- त्यस इच्छालाई कार्य रूपमा परिणत गर्ने प्रयत्न गर्दा हामी सम्मानित हुन्छौं कि अपमानित ? मिथ्यामतलाई आफ्नो बुद्धिबलले परास्त गर्ने प्रयास गर्नु आर्य जातिको विशेषता हो भनेर हामीले अहिलेसम्म सुन्दै आएका छौं। ‘वादे वादे जायते तत्त्वबोध’ के आर्य पूर्वजहरूको घोषणा होइन ?”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । तीन सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय पाँच रुपियाँ रहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.