साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : उत्पत्ति : मानवसभ्यताका केहि पक्षको ऐतिहासिक एवम् मानवशास्त्रीय अध्ययन

साताकाे पुस्तक : उत्पत्ति : मानवसभ्यताका केहि पक्षको ऐतिहासिक एवम् मानवशास्त्रीय अध्ययन

उत्पत्ति : मानवसभ्यताका केहि पक्षको ऐतिहासिक एवम् मानवशास्त्रीय अध्ययन – प्रा. प्रेमकुमार खत्री

लेखक, प्रा. प्रेमकुमार खत्रीको अनुसन्धानात्मक पुस्तक हो ‘उत्पत्ति : मानवसभ्यताका केहि पक्षको ऐतिहासिक एवम् मानवशास्त्रीय अध्ययन’ । प्रा. खत्रीले विश्वविद्यालयमा आफ्नो अध्ययनको क्रममा अनुसन्धान गर्नुभएको कुराहरुलाई पुस्तकार दिनुभएको छ ।

प्रा. प्रेमकुमार खत्रीको जन्म अरुण गाउँपालिका, नौलपुर, प्याउली, भोजपुरमा भएको हो । उहाँले आफ्नो एसएलसी परीक्षा श्री रामआदर्श रात्रि हाईस्कुल, भोजपुरबाट २०१८ मा उत्तीर्ण गर्नुभएको हो । आफ्नो उच्च शिक्षा आइएरबीए महेन्द्र कलेज, धरानबाट २०२२ देखि २०२५ सम्म हासिल गर्नुभएको हो । उहाँले स्नातकोत्तर तहको अध्ययन संस्कृति विभाग, त्रिवि कीर्तिपुरबाट २०२९ मा चान्सेलर स्वर्णपदकसहित पूरा गर्नुभएको हो । साथै, उहाँले पीएचडी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट २०३६ देखि २०४२ मा पूरा गर्नुभएको छ । आफ्नो सेवाका क्रममा उहाँ त्रिविमा प्राध्यापन, मानविकी सङ्कायका डीन तथा सिनासमा कार्यकारी निर्देशकजस्ता पदहरू सम्हाली सक्नुभएको छ ।

”प्रस्तुत पुस्तक लेखकलाई त्रिवि र बर्गेन विश्वविद्यालय (नर्वे) बीच सम्पन्न सम्झौता (१९९१) अन्तर्गत बर्गेन विश्वविद्यालयबाट प्राप्त निमन्त्रणामा सन् १९९२ तथा १९९४ मा आगन्तुक प्राध्यापकको हैसियतले बर्गेनमा ३र३ महिना अनुसन्धानरत रही तयार गरेको मस्यौदाको अन्तिम रूप हो ।” पुस्तकमा लेखक प्रा. प्रेमकुमार खत्री लेख्नुहुन्छ, यसको पहिलो संस्करण त्रि.वि. नेपाल र एसियाली अनुसन्धान केन्द्रबाट पहिलो पटक २०५५ सालमा प्रकाशित भएको हो। यस संस्करणमा एक अध्याय थप र अन्य अध्यायका विश्लेषण विवरणलाई अध्यावधिक गरिएको छ । बर्गेन विश्वविद्यालयको मानवशास्त्र विषयका प्राध्यापक तथा त्रि.वि.-बर्गेन विश्वविद्यालयबीच स्थापित अनुसन्धान कार्यक्रमका नर्वेली संयोजक प्रा. गुन्नार हल्यान्डको सक्रियतामा मेरो भ्रमण, बसाइ र अनुसन्धान कार्य सम्पन्न हुन सकेकोमा म उहाँ तथा उहाँमार्फत् बर्गेन विविद्यालयका सम्बन्धित पदाधिकारी एवम् अन्य मित्रहरूप्रति आभार व्यक्त गर्दछु । यस पुस्तकले अति विस्तृत, महत्त्वाकाङ्क्षी भन्न सकिने विषयवस्तु ओगटेको छ । यहाँ छनौट गरिएका मानवसभ्यताका छवटै पक्ष विशाल ज्ञानको भण्डार संरक्षित गरेका अथाह समुद्र हुन्। ती छुट्टै वा तिनका कुनै पक्षमा पनि पृथक् पृथक् ग्रन्थको रचना हुनसक्छ । यो तथ्य एकातिर हुँदैछ भने नेपाली भाषामा यस किसिमका विषयमा पठनीय सामग्रीको अभाव पनि छ । अतः यस ग्रन्थबाट व्यापक क्षेत्र भएका विषयमा कलम चलाई तिनलाई एउटै ग्रन्थाकारमा राख्ने चेष्टा गरिएको छ । यसमा लेखकको मौलिकता प्रदर्शनभन्दा वैज्ञानिक प्रकृतिका विस्तृत विषयलाई सङ्कुचन गरी सकेसम्म सरल भाषामा प्रस्तुत गर्न खोजिएको छ । यसबाहेक लेखकको अन्य दावी हुनसक्दैन ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । चार सय तीन पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ९५ रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.