साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : तीन महादेशका केही तरङ्ग

साताकाे पुस्तक : तीन महादेशका केही तरङ्ग

तीन महादेशका केही तरङ्ग – पशुपति घिमिरे

लेखक पशुपति घिमिरेको नियात्रा सङ्ग्रह हो ‘तीन महादेशका केही तरङ्ग’ । घिमिरेको तीन महादेशका केही तरङ्गले यात्रा माफर्त विश्वलाई बुझ्दै मानव जीवनका समानता र भिन्नतालाई गहिराइबाट उजागर गर्छ ।

”यात्रा एउटा बिन्दुबाट अर्को बिन्दुसम्मको भौतिक विस्थापन मात्र होइन, यो त एउटा मान्छेले आफ्नै अस्तित्वको आयतन नाप्ने प्रक्रिया हो ।” पुस्तकमा कृष्ण धरावासी लेख्नुहुन्छ, ”जब म पशुपति घिमिरेको पाण्डुलिपि ‘तीन महादेशका केही तरङ्गु पढ्न थाल्छु, मलाई महसुस हुन्छ-लेखकले यहाँ केवल देशहरू घुमेका छैनन्, बरु ती देशका माटोमा आफ्ना स्मृतिका बीजहरू छरेका छन् । भनिन्छ, संसार एउटा खुला किताब हो र जसले यात्रा गर्दैन, उसले त्यसको एउटा पाना मात्र पढ्छ । पशुपतिजीले यो किताबका धेरै अध्यायहरू पल्टाउनुभएको छ । एसियाको अध्यात्म, अमेरिकाको भौतिक सम्पन्नता र युरोपको कलात्मक विरासतलाई एउटै सूत्रमा उनेर उहाँले पाठकलाई यस्तो ऐना देखाउनुभएको छ, जहाँ हामी आफ्नोपन र विश्व-नागरिकताको दोसाँधमा उभिएका पाउँछौं । यस कृतिको सबैभन्दा सबल पक्ष भनेको यसको ‘अनौपचारिक भाषाशैली’ हो । लेखकले कतै पनि विद्वता छाँट्ने प्रयत्न गर्नुभएको छैन । उहाँको भाषामा पहाडको छहराको जस्तो कञ्चन प्रवाह छ । जब उहाँ पोर्टो रिकोको जङ्गलको कुरा गर्नुहुन्छ वा अमेरिकाको अत्याधुनिक नासा केन्द्रको वर्णन गर्नुहुन्छ, पाठकलाई लाग्छ, ऊ लेखकको काँधमा चढेर ती ठाउँहरू आफैं नियालिरहेको छ । लेखकले ‘म’ पात्रलाई केन्द्रमा राखेर संस्मरण लेखे पनि, त्यो ‘म’ व्यक्तिवादी छैन । त्यो ‘म’ भित्र त नेपाली मध्यमवर्गीय समाजको कौतूहल, स‌ङ्कोच, गौरव र मानवीय संवेदना लुकेको छ । एउटा सामान्य नेपाली जब विदेशी भूमिमा पुग्छ र त्यहाँको विकास देख्छ, उसको मनमा उब्जने पहिलो प्रश्न हुन्छ- ‘हाम्रो देशमा चाहिँ यस्तो कहिले होला ?’ पशुपतिजीका शब्दहरूमा यो पीडा र प्रश्न निकै मिहिन ढङ्गले व्यक्त भएको छ ।”

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । दुई सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय २५ रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.