साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : तरङ्गित

साताकाे पुस्तक : तरङ्गित

तरङ्गित – शान्ता शाक्य

लेखक शान्ता शाक्यको लघुकथा सङ्ग्रह हो ‘तरङ्गित ‘। लेखकले पुस्तकमा समसामयिक, कुरीति, अज्ञानता, हिंसा जस्ता विषय उठाउनुभएको छ ।

”विषयको प्रस्तुति वा संयोजनले मात्र पाठकहरू संतुष्ट हुँदैनन् ।” पुस्तकमा ध्रुव मधिकर्मी लेख्नुहुन्छ, ”त्यसमा पाठकका लागि केही भनिएको सन्देश वा निक्र्यौल अनि विचारको प्रवाह पनि आवश्यक हुन्छ । स्रष्टा शाक्यले जीवनका लागि आवश्यक सोच र चेतना विस्तार होस् भन्ने हेतुले पनि कथाहरूको सिर्जना गरेकी छन् । कर्म लघुकथामा आफ्‌नै खुट्टामा उभिन पर्छ भन्ने सकारात्मक सोचलाई प्रश्रय दिइएको छ । सानोतिनो गल्तीले भयानक परिणाम निम्तिन सक्छ भन्ने चेतना सत्यता कथामा छ । चोटमा समस्याको समाधान आफैले निकाल्नुपर्छ भन्ने बोध गराइएको छ । यसप्रकार प्रत्येकजसो लघुकथाले सामयिक स्थितिबोध गराउनुका साथै पाठकहरूसित चेतनाको संवाद पनि गर्छ । प्रस्तुत संकलनमा स्रष्टा शाक्यले समाजमा प्रायशः देखिने भोगिने घटना, आम मानिसका समस्या, सांस्कृतिक पर्वहरूमा नारीहरूले सस्कृतिलाई भन्दा वस्त्रलाई प्राथमिकता दिने, मानिसभित्रका रहरले पैदा हुने तनाव, अचेल आमाबाबुको पीरचिन्ता छोराछोरीले नबुझ्‌नु र छोराछोरीको व्यस्ततालाई अभिभावकले थाहा पाउन नसक्नु, मानवीय संवेदनामा हास आउनु तथा सकारात्मक चेतनाको विकासका लागि लेखनलाई सक्रिय पार्नु जस्ता विषयलाई पनि सचेततापूर्वक उठाएकी छन् । यसले साहित्यलाई जीवन र समाजसित जोड्न सहज तुल्याएको छ ।”

त्यसैगरी पुस्तकमा शान्ता शाक्य लेख्नुहुन्छ, ”आख्यान विधानको एक सानो छोटो उपविधा भएपनि आफै पूर्ण मानिएको कम समयमा पढेर तरङ्गित गराउने चट्टको चटनी नै लघुकथा हो जस्तो लाग्छ । अन्य विधाको तुलनामा अग्रगतिमा लोकप्रियता हासिल गरेको यस उपविधाको उत्थानमा हरबखत सक्रिय रूपमा मेहनत गरी खटिनु हुने लघुकथाकी अभिभावक लता म्यामलगायत सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरूको श्रेयले गर्दा हो जस्तो लाग्छ । हुनत मैले २०८१ सालमा नै नेपाली भाषामा लघुकथासंग्रह प्रकाशित गर्ने सोच गरेकी थिएँ तर नेपालभाषाको लघुकथाले पहिलो स्थान लियो । व्यस्तताको कारणले गर्दा हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के सी म्यामसँग कुरा राख्दा नेपालभाषामा निकाल्ने हो भने ध्रुव मधिकर्मी सरसँग सम्पर्क गर्नु भन्ने सल्लाह बमोजिम ‘लाय्लामाया क्वय्’ नामक नेपालभाषाको लघुकथा प्रकाशित भयो ।”

पुुस्तकलाई सिर्जना अभियान नेपाल प्रकाशन गरेको छ । ५२ ओटा लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.