साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : प्रकृत्या सह जीवनम्

साताकाे पुस्तक : प्रकृत्या सह जीवनम्

प्रकृत्या सह जीवनम् – प्रा.डा गोपी उप्रेती

कवि प्रा.डा गोपी उप्रेतीको कविता सङ्ग्रह हो ‘प्रकृत्या सह जीवनम्’ । कविले पर्यावरणलाई केन्द्रमा राखेर प्रकृति र जीवनप्रणाली कविता मार्फत प्रस्तुत गर्नुभएको छ ।

‘ज्ञान सर्वछ हाँसेर रोई विज्ञान मर्दछ’ ”बालकृष्ण समले ‘प्रह्लाद’ नाटकमा यस्तो दर्शन प्रस्तुत गरेका थिए।” पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”दशकौंसम्म यही सत्यलाई स्वीकार गर्दै हामीले नेपाली मनलाई विज्ञानविरोधी बन्ने तालिम दिइरह्यौँ। आज प्रा. गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् शीर्षक कवितासङ्ग्रह अध्ययन गरेपछि मलाई लाग्यो- त्यो उक्ति ता ”बडाले जो गर्यो काम हुन्छ त्याे सर्वसम्मत” भनेजस्ताे मात्रै रहेछ। आज धेरै वर्षपछि म बुझ्दैछु- ज्ञानको विपरीतार्थक अस्तित्व विज्ञान होइन, त्यसो ठान्नु अज्ञान मात्र रहेछ किनभने विज्ञान पनि ज्ञान नै होइन र ? गोपीजीका दर्शन र विज्ञानले निर्मित साहित्य ‘कविता’ पढेपछि मेरो पनि अज्ञान खुल्यो। उनले एक कवितामा भनेका छन्- न्युटनले प्रमाणित गरेको गुरुत्वाकर्षणको सिद्धान्तविपरीत प्राचीन ग्रीसेली मिथकीय पात्र सिसिफसले दण्डस्वरूप एउटा भयङ्कर पहाडमाथि ढुन्नो उचाल्दै ठेल्दै माथि पुऱ्याउने फेरि तलै झर्ने कर्मको साक्षी हुनु छ त्यो। विज्ञानको धर्म अर्थात् पृथ्वीको गुरुत्वाकर्षणकोविज्ञान नबुझेर सिसिफसले कत्रो भुक्तमान झेल्नुपर्यो । किनभने अज्ञानतावश ऊ विज्ञानको विरुद्ध निरर्थक परिश्रम गरिरहेको थियो ।”

त्यसैगरी पुस्तकमा डा. ऋषि बस्ताकोटी लेख्नुहुन्छ, कविताको बीउ प्रायः सबै मानिसको हृदयमा हुन्छ तर त्यसको बिजाङ्कुरण कहाँ, कहिले र कसरी हुन्छ त्योचाहिँ मानिसपिच्छे फरक हुने रहेछ, परिस्थितिअनुसार भिन्न रूपमा देखा पर्ने रहेछ। गोपी उप्रेती मूलतः कृषि र प्राकृतिक स्रोतका प्राध्यापक हुन् । दोगो विकासका प्राज्ञिक व्यक्तित्व हुन् । वातावरणीय न्याय र सामाजिक न्यायका अभियन्ता हुन् । वातावरणीय नीतिका विज्ञ हुन् । लोकले उनलाई यसै रूपमा चिन्छ। लेख्न त जीवनमा उनले पहिले पहिले पनि केही कविता लेखे होलान् यद्यपि परिदृश्यमा उनको चिनारी हृदयको कोमलताबाट सिर्जना गर्ने कवि र साहित्यकार भन्दा पनि मूलतः दिमाग लगाएर काम गर्ने प्राज्ञिक र विकासविद्कै रूपमा स्थापित भयो । यति बेला भने मेरो हातमा उनै प्राध्यापक डा. गोपी उप्रेतीको प्रकाशोन्मुख कविताकृति प्रकृत्या सह जीवनम्‌को पाण्डुलिपि आइपुगेको छ। यो कृति पाठकका हातमा पुगेपछि उनको कवि परिचय स्थापित हुने कुरामा म विस्वस्त छु ।”

पुस्तकलाई समीत उप्रेतीले प्रकाशन गर्नुभएको छ । एक सय ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.