पारु – मन खत्री ‘सागर’
लेखक मन खत्री ‘सागर’को उपन्यास हो ‘पारु’ । लेखकले उपन्यासमा ग्रामिण परिवेशको एउटा महिला पात्रको जीवनको माया, प्रेम जिम्मेवारीबिचको द्धन्द्धलाई चित्रण गर्नुभएको छ ।
”पूर्ण रूपमा आफ्नै स्थानीय भाषा र संस्कृति झल्कने गरी तयार पारिएको डा. मन खत्री ‘सागर’ को पारूभित्र मैले मेरो समाजका आमाहरू पाएँ ।” पुस्तकमा देबेन्द्र खत्री लेख्नुहुन्छ, ”विदेशिएका छोराबुहारी, सहरबजारमा हुर्किएका र हुर्कदै गरेका नातिनातिनाहरू र आफ्ना छोराछोरीहरू विदेश गएका छन् भनेर गर्व गर्ने आमाबुबाहरूको वास्तविकता पाएँ । अन्तिम सत्य, जीवनको आनन्द र शान्ति कसरी प्राप्त गर्ने भन्ने कुराको बोध पनि भेटै । त्यसैले पारू एक उपन्यास मात्रै नभएर पूर्ण जीवन हो भन्ने मलाई लागेको छ ।”
त्यसैगरी पुस्तकमा विजय खत्री लेख्नुहुन्छ, ”साहित्यकार डा. मन खत्रीले समाजमा लुकेका, लुकाइएका वास्तविकतालाई स्थानीय लवजसहितका शब्दमार्फत् जीवनको उत्तरचढावका पोया लगाउँदै, बाट्दै पोया लगाउँदै, बाट्दै सिर्जना गर्नु भएको उत्कृट कृति ‘पारू’ हाम्रो समाजको पुरानो तर सफा ऐना हो । जुन आजका पुस्ताका लागि रोचक कहानी र इतिहास प्रेमीका लागि बलियो धरातल हो भने पारूका समकालीनका लागि सत्य रङ्गमञ्च हो ।”
त्यसैगरी पुस्तकमा डिल थापा लेख्नुहुन्छ, ”एउटी महिलाको जीवनमा आधारित भएर तयार पारिएको जीवन कथाभन्दा पनि माया, प्रेम र जिम्मेवारीबिचको द्वन्दात्मक विश्लेषण हो ‘पारू’ । एउटा पुस्ताको समग्र जीवन चक्रको चित्रण हो ‘पारू’ । समाजमा घट्ने परिघटनाहरुको ऐना हो ‘पारू’ । यस अर्थमा ‘पारू’ हाम्रो आफ्नै समाजको सामाजिक दर्पण हो ।”
पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । दुई सय ९३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।

