किनाराका गीतहरु – राजकुमार श्रेष्ठ
कवि राजकुमार श्रेष्ठको कविता सङ्ग्रह हो ‘किनाराका गीतहरु’ । कविले पुस्तकमा मानवीय संवेदना, प्रकृति र जीवन पद्घतिलाई लयात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ ।
”सामान्यतया सृजनाको विषयमा सर्जकले केही बोल्नै पर्दैन ।” पुस्तकमा राजकुमार श्रेष्ठ लेख्नुहुन्छ, ” त्यो आफै बोल्छ । अझ सशक्त हुन्छ काव्य । शब्द शब्दमा बारूद पड्काउने क्षमता हुन्छ । आँशू खसाउने लय हुन्छ । कविता आफैंमा ज्यूँदो जीवन हो, सिङ्गो समाज हो, प्रकृति र पाठशाला पनि हो । र, यही धर्म निभाउन खोजेका छन, ‘किनाराका’ समग्र ‘गीतहरु’ ले । कवि प्रत्येक किनाराको अवशेषमा लुकेको छ । अरूण, क्याँवा, चारघरे, तमोर, कालखोला, छामघाट, इन्द्रावती, बागमती, विष्णुमती हुँदै कर्णालीसम्मका किनाराहरु । सन्दर्भलामो हुनसक्छ तर कवि हरेक खोल्सी, खोला, खहरे, बगर र तिनको भेल, भङ्गालो अनि धारहरुसँग परिचित छ । हरेक गीत सँग-सँगै नाचेको छ, भाका र लय मिलाएर, सकी नसकी, जानी नजानी, रहरले, कहिले करले हात हल्लाएको छ, कम्मर मर्काएको छ र अधिकांश गीतहरु सँगसँगै रोएको पनि छ । बाल्यकालमै कवि संगिनी, मारूनी र धान नाचसँग चिरपरिचित थियो । पूर्वका ती मिहिन माटा, गहन हावा, अर्थपूर्ण बादल, रूमानी हिमशिखर, खोला-खाल्सी र पखेरासँग नजीकको नाता थियो । तर आज गाउँ गाउँजस्तो छैन । टाढाबाटै देखिने स्वाँराको डील, बाल्यकालमा दगुरेका पाखा, डिही र कान्लाहरु झाडीभित्र कतै निसासिएर छट्पटाइरहेका छन् । श्वास हिरिक्कै जालाजस्ता पोलियोले थलिएका पुराना घरका भित्ताहरु । मक्किएर खस्दै गरेका चुलीगारा । अलि परबाट हेर्दा आफ्नै लाश नियालेजस्तो । विगतले पटक पटक पोल्छ । आफैँ बाँचेर आएको इतिहासले चिथोर्छ । कवि तिनकै भाका र लयभित्र डुबेको हो, हराएको हो र तिनकै गीतहरूमा विलीन भएको हो । त्यसकै उपज थियो पहिलो कृति ‘रोयल चारघरे’ र तिनै भावहरुले जन्माएको हो ‘किनाराका गीतहरु’ पनि । किनाराहरुलाई जसरी आकार दिन खोजिएको छ, मानवीय संवेदना, प्रकृति र जीवन पद्धतिलाई जसरी लय दिन खोजिएको छ । हो, यही हो यसको भाका, लय त्यही हो र त्यसरी नै बगेका छन् किनाराका गीतहरु ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । ५९ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

