साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : धरतीको क्रन्दन

साताकाे पुस्तक : धरतीको क्रन्दन

धरतीको क्रन्दन – बुद्धदेवप्रसाद घिमिरे

कवि बुद्धदेवप्रसाद घिमिरेको कविता सङ्ग्रह हो ‘धरतीको क्रन्दन’ । कवि कविता मार्फत मानव अस्तित्वको पक्षमा, इतिहासको पक्षमा ब्रह्माण्डको पक्षमा वकालत गर्नुहुन्छ ।

”विश्वको विषम व्यवस्था र मात्स्य न्यायले गर्दा चिन्तक, कलाकार भावुक कविहरूको हृदयलाई औधी कुत्कुकुत्याउँछ अनि उनीहरू बोल्छन्, काव्य आदिको माध्यमले आफ्‌नो हृदय खोल्छन् ।” पुस्तकमा डिल्लीराम तिमसिना लेख्नुहुन्छ, ”उदीयमान कवि श्री सारस्वत घिमिरेजीको प्राञ्जल भाषामा दिएको लयात्मक गद्यकविताको प्रवाह ‘धरतीको क्रन्दन’ पनि नेपाली काव्य साहित्यको बगैचामा फुलेको यस्तै एउटा थुँगो हो । यो आफ्नै पाराले फुलेको छ। यो फुटकर कविताहरूको सङ्कलन होइन र कुनै खण्डकाव्य आदि काव्यविधा भित्र पनि पर्दैन, यसैले यो अनौठो छ । धरतीको निवासीले चन्द्रलोकमा पाइला टेक्यो, वहाँको चिनू ल्याउन सक्यो तैपनि धरतीको क्रन्दन छ- ‘उ पुग्न सक्तैन आफ्नो सीमामा’। ‘मान्छेले बनाएको बम पट्‌कन्छ मान्छेको छातीमा ।’ यसैले त धर्तीको क्रन्दन अझ चर्को हुन्छ । प्रस्तुत पुस्तकको विश्लेषण-समीक्षा-चिकित्सा आदि गर्नुको अपेक्षा यस्ता आशालाग्दा कविलाई फकाएर पनि अझ उत्तमोत्तम काव्य ग्रन्थहरू प्रस्तुत गर्ने प्रेरणा सँगालियोस् भन्न उपयुक्त ठान्छु । यही मेरो शुभाभिनन्दन र हार्दिक कामना छ ।”

त्यसैगरी पुस्तकमा बुद्धदेवप्रसाद घिमिरे लेख्नुहुन्छ, ”धरतीको क्रन्दन’ नामक गद्यकविताको प्रवाह वि.सं. २०२४ मा रचिएर २०२८ साउनमा माधव मुद्रणालय, वाराणसीबाट प्रथम पटक प्रकाशित भएको थियो । यसको नामाकरण श्रद्धेय विद्वान् साथी नारायण बहादुर कार्कीले गर्नुभएको हो भने शुभाभिनन्दन श्रद्धेय विद्वान् प्राध्यापक डिल्लीराम तिमसेनाले लेखिदिनुभएको थियो । यी दुवै दोस्रो प्रकाशनमा पनि यथावत छन् । तर श्रद्धेय हृदयान्तरस्थित गुरु प्राचार्य कृष्णप्रसाद वस्तीले पुस्तकको विश्लेषण गरी लेखिदिनुभएको शुभकामना त्यसबेला प्रेसबाट छाप्न छुटेको थियो । प्रथम प्रकाशनमा छुटेको गुरुको शुभकामनाको अभाव पुरा गर्न उहाँकी विदुषी छोरी डा अञ्जना वस्ती भट्टराईले लेखिदिनु भएको शुभकामना समावेश गरी सन्तोष मानेको छु । गुरुपुत्री-वहिनी – सम्धिनी अञ्जना वस्ती भट्टराईलाई धेरै धेरै धन्यवाद ।”

पुस्तकलाई कनकाई प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको छ । ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.